आईटी माफिया विकललाई माथ खुवाउने अख्तियारका इन्जिनियर सुरजप्रकाश अर्याल


काठमाडौं । आईटी माफिया विकल पौडेल डिल्लीबजार कारागार पुगेका  छन् । ४ महिना बढीदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका उनलाई बुधबार विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारू, तेजनारायण राई र मुरारीबाबु श्रेष्ठको इजलासले थुनामा पठाउने आदेश दिएको हो । विकलका ‘पार्टनर’ सुनिल पौडेल अहिले डिल्लीबजार कारागारमै छन् । विकल र सुनिलको डिल्लीबजार कारागारबाट फेरि सहयात्रा सुरु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा लामो समय रहेर चूडामणि शर्माको ‘रेकर्ड ब्रेक’ गरेका विकल अख्तियारले हालेका ४ वटा भ्रष्टाचारका मुद्दामध्ये २ वटामा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् । २ वटा भ्रष्टाचारका मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेका छन् । अकुत सम्पत्ति आर्जनको ‘केस’मा विकललाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको हो ।

२ वटा मुद्दामा भ्रष्टाचारी ठहर भएका विकललाई अहिलेसम्म आईटीमा ‘मास्टर माइन्ड’ मानिदै आएको थियो । तर, उनलाई पनि माथ खुवाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल निस्किएको चर्चा हुन थालेको छ । विकलले ओम्नी र म्याक्सलाई संरक्षण गर्दै आएका छन् । सुरजले पनि निर्वाचन आयोगमा हुँदा ओम्नी र अध्यागमन विभागमा कार्यरत रहँदा म्याक्सलाई ठेक्का दिलाउन सफल भएको पाइन्छ ।

गाडीले हानेर मान्छे मार्ने शशांक बस्याललाई नक्कली लाइसेन्स दिलाएर थुनामुक्त गराउने अख्तियारका इन्जिनियर सुरज अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को हिरासतमुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटीमा छाड्न आदेश दिएपछि सिआईबीको हिरासतमुक्त भएर उनी हतारहतार अख्तियारमा हाजिर हुन पुगेका हुन् ।

 

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गत जेठ ९ गते मंगलबार सुरज, हरिश भट्ट र नारायणप्रसाद पाण्डेलाई धरौटीमा छाड्न आदेश दिएको थियो । भट्टलाई सिआईबीमै बुझाइयो भने अर्याल १० गते बुद्ध जयन्ती (बिदा)को दिन नै हाजिर हुन अख्तियार पुगेकाे अख्तियारका अधिकारीहरू सुनाउँछन् । सिआईबीले उक्त मुद्दामा भ्रष्टाचार समेत भएको निष्कर्ष निकाल्दै भ्रष्टाचारमा अनुसन्धान गर्न अख्तियारलाई पत्रचार गर्ने निर्णय गरेको छ । तर, उनी हतारहतार हाजिर हुन अख्तियार नै पुगेका हुन् ।  विकललाई जस्तै सुरजलाई पनि अख्तियारले हिरासतमा लिएर अनुसन्धान गर्न आवश्यक रहेको सिआईबीका अधिकारीहरू औंल्याउँछन् ।

सिआईबीको हिरासतमा रहँदा सुरजले ‘बाहिर निस्केपछि तिनीहरूलाई सिध्याउँछु’, मात्र भन्थे । उनमा बदलाको भाव देखिएको सिआईबीका अधिकारीहरू बताउँछन् । ‘विकल आईटीका मास्टर माइन्ड होलान् तर सुरज त क्रिमिनल माइन्डेड रहेछन्’, सिआईबीका एक अधिकारीले भने । यसले पनि सुरजले विकललाई माथ खुवाउने अनुमान लगाउन सकिन्छ ।

विकलले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विज्ञ सल्लाहकार भएर आफू संलग्न ठेक्का मिलाउने काम गरेका थिए । तर, अख्तियार प्रमुखमा प्रेमकुमार राई आएपछि उनको बदमासीको एकपछि अर्को गर्दै फर्दाफास भयो । जेलमै बास बस्नु पऱ्यो । त्यहीँ सिको गर्दै आफू जोडिएका ‘केस’ मिलाउन सुरज अख्तियार पुगेको देखिन्छ । तर, उनको बदमासी सिआईबीका अगाडि धेरै दिन टिक्न सकेन । अन्ततः ढिलोचाँडो सुरज पनि अख्तियारको छानबिनमा पर्ने निश्चित छ ।

सिआईबीको अनुसन्धानमा सुरजले Select All, Select Lumbini, All जस्ता नक्कली यूजरहरु सवारीचालक अनुमतिपत्र प्रणालीमा निर्माण गरि नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) विक्रीवितरण गरेको तथ्य समेत खुल्न आएको छ । उनको संलग्नतामा मात्रै झन्डै २ हजार  नक्कली लाइसेन्स जारी भएको सिआईबीका अनुसन्धान अधिकारीहरू दाबी गर्छन् ।  उक्त अवधिमा सुरजको बैंक खातामा समेत स्रोत नखुलेको ठूलो रकम फेला परेको सिआईबीका एक अधिकारी बताउँछन् । उक्त रकमको स्रोत खुलाउन आग्रह गर्दा उनले ‘थाहा छैन’ भन्ने जवाफ दिएको ती अधिकारीको भनाइ छ ।

गाडीले हानेर मान्छे मार्ने शशांक बस्याललाई गाडीको नक्कली लाइसेन्स दिने सुरजको यो सानो ‘केस’ मात्र रहेको सिआईबीका अधिकारीहरु टिप्पणी गर्छन् । थप अनुसन्धान गर्दा अच्चमित हुने गरी उनले काम गरेको सिआईबीका अधिकारीहरु सुनाउँछन् । नक्कली लाइसेन्सको जरो केलाउन लागिपरेको सिआईबीको कुरा सुन्दा सुरज विकलभन्दा खतरनाक रहेछन् भन्ने आभाष हुन्छ ।

२०७७ चैतदेखि २०८० असोजसम्म यातायात व्यवस्था विभागको जिम्मेवारीमा रहेका सुरजले यातायातको प्रणालीमा चरम दुरुपयोग गरेर व्यक्तिगत फाइदा लिएको देखिन्छ । उनको अध्यागमन विभागबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सरुवा भएपनि त्यहाँ नगई सेटिङ मिलाएर सुरज यातायात व्यवस्था विभाग पुगेको पाइन्छ । अध्यागमनमा आउनु भन्दा उनी निर्वाचन आयोगमा रहेका थिए ।

निर्वाचन आयोगमा ओम्नीले झन्डै २५ करोडमा सेकेन्ड ह्यान्ड प्रिन्टर भिडाउँदा सुरज सूचना प्रविधि शाखामा कार्यरत थिए । त्यहाँबाट अध्यागमन विभाग आएका उनले म्याक्सका अकबर हुसेनसँग मिलेर अध्यागमन प्रणालीको झन्डै ५ करोडको ‘टेन्डर फिक्सिङ’ गरेका थिए । त्यहाँबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग नगई यातायात व्यवस्था विभाग पुगेर सुरजले नक्कली लाइसेन्स धन्दा सुरू गरेको देखिन्छ । त्यो कुरा सिआईबीले हालेको किर्ते मुद्दाबाट पनि पुष्टि हुन्छ । सुरक्षण मुद्रण केन्द्रमा म्याक्सका अकबर हुसेनसँग साँठगाँठ गर्दा विकललाई भ्रष्टाचार मुद्दा लागेको छ । अध्यागमनको खरिदमा अकबरसँग साँठगाँठ गर्ने सुरजमाथि भने अख्तियारले अहिलेसम्म अनुसन्धान नैं गरेको छैन ।

अख्तियारमा पुगेका कम्प्युटर इन्जिनियर सुरजले यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, रुपन्देहीमा एक वर्ष अघिसम्म करारको कम्प्युटर अपरेटरको पदमा काम गर्ने लक्ष्मण पाण्डे नाम गरेको बिचौलियाको आडमा नक्कली लाइसेन्स धन्दा चलाएको सिआईबीको अनुसन्धानले देखाएको छ । उक्त धन्दाको अनुसन्धान प्रभावित बनाउन उनलाई गिरोहले अख्तियार पुऱ्याएको चर्चा सुनिन्छ । 

बिचौलिया पाण्डेलाई प्रयोग गरेर सुरज स्वयंले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालबिरुद्ध हालेको उजुरी उपर पनि छानबिन गर्ने गरी अख्तियार पुगेको देखिन्छ । मान्छे मार्नेलाई लाइसेन्स दिएको अभियोगमा अनुसन्धान गर्न सिआईबीले गत बैशाख १५ गते सिआईबीले सुरजलाई हिरासतमा लिएर अनुसन्धान थालेपछि बिचौलिया पाण्डे फरार भएका छन् । उनले नै सुरजलाई अख्तियार लान आर्थिक व्यवस्थापन गरेको चर्चा छ । सुरज, हरिश र लक्ष्मणको मोबाइल लोकेसन हेर्दा त्यो कुराको अनुमान लगाउन सकिने सिआईबीका अधिकारीहरु बताउँछन् । 

यातायात व्यवस्था विभागले नक्कली लाइसेन्सको छानबिन थालेपछि गिरोहले आईटीका उपसचिव अनुप न्यौपानेलाई यातायात व्यवस्था विभाग सरुवा गर्न खोजेको थियो । उनको सरुवामा पैसाको चलखेल भएको सूचना जनमत पार्टीका अध्यक्ष सिके राउतसमक्ष पुगेपछि तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीको सचिवालयका मान्छेहरु झस्किएका थिए । निर्वाचन आयोगमा सुरजसँगै काम गरेका अनुपलाई यातायात व्यवस्था विभाग लाने र नक्कली लाइसेन्सको छानबिन रोक्ने गिरोहको प्रयास असफल भयो । त्यसपछि उक्त गिरोहले सुरजलाई नै अख्तियार पुऱ्याएको चर्चा छ ।

यातायातबाट सञ्चार पुगेका सुरजलाई सञ्चारका प्राविधिक उपसचिव राजकुमार महर्जनले मागेरै आफ्नो शाखामा राखेका थिए । उनी पनि यातायात व्यवस्था विभागमा २०७० साउनदेखि २०७५ भदौसम्म बसेर आएका हुन् । इम्बोस्ड नम्बर प्लेटको मूल्याङ्कन र नक्कली लाइसेन्समा समेत नाम जोडिएका राजकुमार सुरजको संरक्षक जस्तै भएर प्रस्तुत हुने गरेका छन् । अख्तियारले नक्कली लाइसेन्स र इम्बोस्डको छानबिन गरिरहँदा सुरज त्यहाँ पुग्नु आफैंमा रहस्यको विषय हो । यो विषयमा अख्तियारको पनि ध्यानाकर्षण हुन जरूरी छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #इन्जिनियर हरिश भट्ट, #इम्बोस्ड नम्बर प्लेट, #नक्कली लाइसेन्स, #राजकुमार महर्जन, #लक्ष्मण पाण्डे, #सुरज प्रकाश अर्याल, #सुरजप्रकाश अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ