स्वास्थ्यमन्त्री ब्लूमवर्ग जनस्वास्थ्य पुरस्कारबाट हेल्थआवाज सम्मानित


काठमाडौं । स्वास्थ्यमन्त्री ब्लूमवर्ग जनस्वास्थ्य पुरस्कारबाट हेल्थआवाज मिडिया सम्मानित भएको छ । सूर्तिजन्य पदार्थ विरुद्ध सबै भन्दा धेरै र प्रभावकारी ढंगबाट सुचना प्रवाह गरेको भन्दै सरकारले हेल्थआवाज मिडियालाई सम्मान गरेको हो । पुरस्कारको राशि ५० हजार रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको एक समारोहमाझ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले हेल्थ नेपाल मिडियाका भिषा काफ्लेलाई उक्त पुरस्कारबाट सम्मानित गरेकी हुन् । पछिल्लो एक वर्षमा मात्रै हेल्थ नेपाल मिडिया प्रा.लि.ले एक दर्जन सचेतनामूलक कार्यक्रममार्फत एक हजार बढी युवाहरुमाझ धुम्रपान र मद्यपान विरुद्ध सचेतना कार्यक्रम संचालन गरेको जनाएको छ ।

वि.सं. २०७५ सालमा स्थापना भएको हेल्थ नेपाल मिडिया प्रा.लि. आफ्नो स्थापनाकालदेखि नै सूर्तिजन्य पदार्थको प्रयोग, यसका शारीरिक र सामाजिक असरका विषयमा निरन्तर पैरवी गर्दै आएको छ ।

व्यक्तिगततर्फ भने स्वास्थ्य पत्रकार तथा नेपालहेल्थप्रेसका प्रधान सम्पादक अतुल मिश्र, स्वास्थ्य खबरका कार्यकारी सम्पादक डिबी खड्का, नेपाल टेलिभिजनकी निता सापकोटा ब्लूमवर्ग जनस्वास्थ्य पुरस्कारबाट सम्मानित भएका छन् ।

त्यसैगरी, कानुन कार्यन्वयतर्फ लूमवर्ग जनस्वास्थ्य पुरस्कारबाट भने गण्डकी प्रदेशका स्वास्थ्य सचिव विनोदविन्दु शर्मा र कीटजन्य रोग अनुसन्धान केन्द्र हेटौडाका निर्देशक सुनिलराज शर्मा सम्मानित भएका छन् । सबैको पुरस्कार राशि ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

सन् २०१५ मा सूर्तिजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीसहितको चित्र राख्ने प्रतिवद्धतापनि नेपाले १ करोड रुपैयाँको ब्लूमवर्ग फिलान्थ्रोपिक एवार्ड पाएको थियो । उक्त एवार्डबाट प्रापत रकमबाट स्वास्थ्य मन्त्रालयले छुट्टै अक्षय कोष स्थापना गरेको थियो । सोही अक्षय कोषबाट प्राप्त हुने रकमले स्वास्थ्य कर कोषको सचिवालयले सूर्तिजन्य पदार्थविरुद्ध काम गरिरहेका व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।

सरकारले सूर्तिजन्य पदार्थबाट उठेको करको केही हिस्सा मात्रै स्वास्थ्य मन्त्रालयलाई दिने गरेको छ । यस वर्ष ५० करोडको हाराहारीमा रकम भएपनि सरकारले खर्च गर्न सकेन । अधिकारीहरुले पुरस्कारको राशि ज्यादै कम भएको औल्याएका छन् । सूर्तीजन्य पदार्थको प्रयोग र यसमा लाग्ने कर बृद्धिमा निरन्तर कलम चलाउँने पत्रकारहरुलाई कम्तिमा पनि ३ देखि ५ लाखको पुरस्कार राशि हुनु पर्ने अधिकारीहरु बताउँछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ