प्रसुतिको व्यवस्थापन देखेर स्वास्थ्यमन्त्रीमा चमकता, चियाको “चुस्की” मा सुधारका योजना 


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवको मुहारले लामो समय पछि चमकता पाएको छ । स्वास्थ्य सेवा विभाग अनुगमनमा जाँदा गाडीको सिसा समेत नखोली रिसाएर फर्केका थिए । त्यस्तै कान्ति बाल अस्पतालको अनुगमनमा जाँदा पनि निन्याउरो मुहार बनाएर फर्केका थिए । तर, आइतबारको उनको अनुगमनले केही आशा पलाएको भान भएको छ । 

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीको अनुगमनले निस्किएका मन्त्री यादवको अनुहारमा चमकता ल्याएको छ । डा श्री प्रसाद अधिकारीको नेतृत्वमा प्रसुती गृहले सीमित स्रोत साधनको बाबजुद पनि उल्लेख्य काम गरेको छ । देशको एक मात्रै परोपकार प्रसुती अस्पतालमा देशभरबाट प्रसुती सेवा लिन महिलाहरू आउँने गरेका छन् ।

दिनमा ६० देखि ७० जना सम्म प्रसुती हुने यस अस्पतालको सेवामा सोचेको भन्दा बढी सुधार मन्त्रीले देखेका थिए । मन्त्रीले अस्पतालको फोहोर व्यवस्थापन राम्रो भएको बताएका छन् । तर, उनले इमर्जेन्सी सेवामा भने केही सुधार हुन आवश्यक ठानेका छन् । सेवाग्राहीको चाप अनुसार इमर्जेन्सीको ठाउँ साँघुरो भएको भन्दै यसको व्यवस्थापन गर्न जरुरी भएको बताए । अन्य अस्पतालमा चिया समेत खान नमान्ने मन्त्री यादव प्रसुती गृहमा २ घण्टा समय बिताए । चियाको चुस्कीसँगै उनले अस्पताल सुधारका योजनाहरू पनि सुने र सुनाए । 

मन्त्री यादवले एनआईसीयूमा शय्या थप गर्नु पर्ने पनि बताए । प्रसुती गृहबाट कुनै पनि बच्चा एनआईसीयू नपाएर अन्यत्र रिफर हुने अवस्था नआओस् भन्ने मन्त्री यादवको भनाइछ । हाल ४० शय्याबाट प्रसुती अस्पतालले एनआईसीयूको सेवा दिइरहेको छ । साथै कुपण्डोलमा बनेको नयाँ भवनबाट समेत चाडै सेवा सुरु गर्न निर्देशन दिएका छन् । त्यस भवनबाट सेवा सुरु गर्न साढे चार करोड रुपैयाँको बजेट आवश्यक परेको छ । निर्देशक डा अधिकारीका अनुसार अर्थ मन्त्रालयबाट बजेट प्राप्त हुनासाथ सेवा सुरु हुने छ । साउनको पहिलो हप्ताबाट सेवा सुरुहुने धेरै आशावादी रहेका छन् । 

मन्त्री यादवले प्रसुती गृहले दिदै आएको स्याटलाइट क्लिनकको सेवामा बिस्तार गर्नुपर्ने बताएका छन् । सामान्य सेवा स्याटलाइट क्लिनिकबाट दिने र जटिल अवस्थामा मात्रै परोपकार प्रसुती अस्पताल आउँने वातावरण बनाउँन अनुरोध गरे । स्याटलाइट क्लिनिकको योजना पेश गर्न पनि निर्देशन दिएका छन् । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ