न्याम्सको टोली बोकेर एकाबिहानै स्वास्थ्यमन्त्री यादव दुवाकोटको टुप्पोमा पुगे

स्थानीयकाे आक्रोश: विस्तारित अस्पतालकाे झिटिझ्याम्टा बाेकेर जानाेस्, जनताको जग्गा फिर्ता गर्नाेस्


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को टोली बोकेर स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव एकाबिहानै दुवाकाेटको टुप्पोमा पुगेका छन् ।

न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेत, रेक्टर डा. लोचन कार्की, रजिष्ट्रार ज्ञानेन्द्र बिक्रम शाह, वीर अस्पतालका निर्देशक डा. सन्तोष पाैडेल, नर्सिङ प्रमुख संगिता श्रेष्ठसहित आधा दर्जन बढी पदाधिकारी लिएर उनी दुवाकाेट जग्गाको टुप्पोमा पुगेका हुन् ।

स्वास्थ्यमन्त्री मध्ये पहिलाेपटक दुवाकाेटस्थित विस्तारित अस्पतालकाे जग्गाको टुप्पोमा पुगेका यादवले अब आफूले अस्पताल निर्माणको काम अगाडि बढाउने उद्‌घोष गरे । ‘२/३ दिन भित्रमा काम सुरु गर्नुहाेस् । ७ दिनभित्र नागरिकले काम हुन थाल्याे भन्ने भान हुनुपर्छ । कि आजै चाबी लगाएर जाउँ कि सेवा सुरु गराैं ।’, स्वास्थ्यमन्त्री यादवले भने ।

आफूले काम अगाडि बढाउने दाबी गर्दै उनले देशभरकाे जनताको चाप वीर अस्पतालमा भएकाले एमबीबीएस पढाउन पनि उक्त जग्गामा सुविधासम्पन्न भवन बनाउनु पर्ने बताए । वीर अस्पतालले यसै वर्षबाट दुवाकाेटमा एमबिबिएस कार्यक्रम सञ्चालन गर्दैछ ।

मन्त्री यादवले अघि थपे, ‘राज्यको कमजोरीले जनतामा निराशा भयाे । एमबीबीएस चलाउन वीरमा जग्गाकाे कमि छ । देशभरकाे जनताको चाँप वीर हाे । चाडै भवन निर्माण हाेस् र एमबीबीएस चलाेस् । म अरु मन्त्रीकाे लिस्टमा पर्न चाहदिन । अरु मन्त्री डाँडामा पुगे पुगेनन् म पुगे ।’,

विगतमा  विस्तारित अस्पताल बनाउन छुट्याएको पहिलो वर्षको ४० कराेड, दाेश्राे वर्षको २० कराेड फ्रिज भइसकेको समेत उनले सुनाए । अहिले ५ कराेड रुपैयाँ विनियोजन भएको भन्दै स्वास्थ्यमन्त्री यादवले अर्बको याेजनामा ५ कराेड बजेट हात्तीको मुखमा जिरा भएको टिप्पणी गरे ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्रा डा भुपेन्द्र कुमार बस्नेतले प्रि फ्याब भवन बनाएर भएपनि दुवाकाेटमा एमबिबिएस कार्यक्रम यसैबर्षबाट चलाउने बताए । उनले ठेकेदारलाई तुरुन्त काम अगाडि बढाउन निर्देशन दिए ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पाैडेलले ५७० राेपनी कसरी जाेगाउने भन्नेमा चिन्ता रहेको बताए । उनले विस्तारित अस्पताल तत्काल बन्नु पर्नेमा जोड दिए । ‘डा. गणेश गुरुङ र हालका उपकुलपति डा. भुपेन्द्र बस्नेतकाे याे गुरु याेजना हाे । वीर अस्पतालले लाेड धान्न नसकेपछि विस्तारित अस्पतालका लागि दुवाकाेटमा संचालन गर्न लागेको थियाे । अहिले जनरल र विशिस्टिकृत सेवा एकै ठाउँमा दिएको छ । ‘, निर्देशन पौडेलले भने, अब मुख्य याेजनामा छाैं । एमबीबीएस यसै वर्षबाट चलाउने भन्नेमा छाैं  । एमबीबीएसदेखि मास्टर लेभलकाे अध्ययन दुवाकाेटमा हुन्छ ।’,

स्थानीयहरूले भने आक्रोश पोख्दै विस्तारित अस्पतालकाे झिटिझ्याम्टा बाेकेर जान र जनताको जग्गा फिर्ता गर्न माग गरे । उनीहरूले अहिलेसम्म अस्पताल नबनेकामा आक्रोश पोखेका हुन् ।

दुवाकोटका स्थानीय माधवप्रसाद न्यौपानेले ५७० राेपनी जग्गा हस्तान्तरण गरेका सुनाउँदै रकम किन कार्यान्वयन भएन भनेर जानकारी मागे । विस्तारित अस्पतालको सेवा हेल्थ पाेष्टभन्दा पनि गए गुज्रिएको भन्दै उनले हात काट्छ मेडिकल जानु पर्ने अवस्था रहेको बताए । ‘सामान्य सेवा दिए पाे आशा जाग्छ । हेल्थ पाेष्टको सेवाभन्दा पनि गए गुज्रिएको छ ।’, न्यौपानेले भने ।

समाजसेवी कुमारी तामाङ धेरै मन्त्री, निर्देशक, भिसि आए पनि काम हुन नसकेको गुनासो पोखे ।  ‘टेन्ट अब पुरानाे भयाे, स्थान लजायाे । लाजमर्दाे बिस्कुन जरुरी छैन’, उनले भनिन ु्झिटिझ्याम्टा बाेकेर जानुस् । जनताको जग्गा फिर्ता गर्नुस् ।’,

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ