विवादले घेरिएका सचिव मैनालीले स्वास्थ्यमा साख जोगाउलान् ?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव हरिप्रसाद मैनाली हाजिर भएका छन् । डेढ वर्ष बढी महालेखा नियन्त्रक कार्यालय, काठमाडौंमा जमेर बसेका उनी सरुवा भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका हुन् । मधेश प्रदेशको प्रमुख सचिवबाट महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, उपराष्ट्रपति कार्यालय हुँदै महालेखा नियन्त्रक कार्यालय पुगेका मैनाली मधुसुदन बुर्लाकोटीलाई विस्थापित गरेर स्वास्थ्य मन्त्रालयको सचिवमा स्थापित भएका छन् ।

उपराष्ट्रपति कार्यालयबाटै स्वास्थ्यमा आएका प्रशासन तर्फका सचिव बुर्लाकोटीको स्वास्थ्यमन्त्री प्रदीप यादवसँग कुरा नमिलेपछि प्राकृतिक स्रोत तथा वित्त आयोग सरुवा भएको छ । स्वास्थ्य मन्त्रालयभित्र कै सरुवाको विषयलाई लिएर खटपट भएपछि बुर्लाकोटी ‘रिङ आउट’ भएका हुन् । तर, महालेखा नियन्त्रकको भूमिकामा सचिव मैनालीको सरुवा ‘रेकर्ड’ खासै राम्रो देखिँदैन ।

अर्थ मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार मैनालीले लेखापाल, लेखा अधिकृत र लेखा उपसचिव सरुवा गर्दा विभेद गरेको भनेर मन्त्रालयमा व्यापक गुनासो आउने गरेको थियो । अर्थ मन्त्रालयका उच्च अधिकारीले सरुवा बेथितिको गुनासो सम्बन्ध गर्न पटकपटक आग्रह गर्दा पनि उनले अटेर गर्ने र पेलेरै अघि बढ्ने गरेको सुनाउँछन् ।  मैनालीले ‘चलखेलमा आधारित सरुवा प्रणाली’लाई प्रश्रय दिने गरेको अर्थ मन्त्रालयका उच्च अधिकारीहरुको टिप्पणी छ । सचिव मैनालीलाई सरुवाको अधिकार दिँदा स्वास्थ्यमन्त्रीले ध्यान दिनुपर्ने अर्थका अधिकारीहरु बताउँछन् । ‘त्यसै त स्वास्थ्यको सरुवा विवादित हुँदै आएको छ । त्यसमाथि हरि मैनाली पुगेका छन् । स्वास्थ्यको सरुवा प्रणाली झन् भद्रगोल हुने देखिन्छ ।’, ती अधिकारीले टिप्पणी गरे ।

मधेश प्रदेशको प्रमुख सचिव साइकल खरिद काण्डमा जोडिएका सचिव मैनालीको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट पनि ‘ग्रेसफुल एक्जिट’ हुन पाएन । महालेखा नियन्त्रक हुँदा पनि सरुवा विवाद र विभेदमा मुछिए । स्वास्थ्य मन्त्रालयका कस्तो काम गर्छन् हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #महालेखा नियन्त्रक कार्यालय, #स्वास्थ्य सचिव हरिप्रसाद मैनाली, #हरिप्रसाद मैनाली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ