सिंहदरबारभित्रै फ्रेस मिल्कलगायत डिडिसीको प्रोडक्टमा घोटाला !


काठमाडौं । पछिल्लो समय मुख्यसचिव डा. बैकुण्ठ अर्याल र घोटाला पर्यायवाची जस्तो बनेको छ । टेरामक्सदेखि सिंहदरबारभित्र खुलेको दुग्ध विकास संस्थान (डिडिसी)को उत्पादन (प्रोडक्ट)सम्ममा त्यो कुरा लागू हुन्छ । मुख्यसचिव अर्यालको बाहुबलीबाट उद्‌घाटन भएको सिंहदरबारस्थित डिसिसीको बिक्री केन्द्र त्यसको गतिलो उदाहरण हो । उनी पनि त्यसका लाभग्राही हुन् ।

सिंहदरबार कुलिन वर्गको पहुँचमा रहेको ठाउँ हो भन्ने आरोप लाग्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै भाषा सापटी लिँदा त्यहाँ सुकिलामुकिलाहरू पुग्ने गर्छन् । आम सर्वसाधारणका लागि सहज पहुँच छैन । डिडिसीको व्यवहारले पनि त्यसलाई मलजल गरेको पाइन्छ । फ्रेस मिल्कलगायत डिडिसीका प्रोडक्ट सिंहदरबारभित्र र आम सर्वसाधारणको पहुँचमा रहेका सिंहदरबार बाहिर फरकफरक मूल्यमा बिक्री हुँदै आएको छ । सहुलियत बिक्री केन्द्रका नाममा डिडिसीले सिंहदरबारभित्र दुग्धजन्य पदार्थ सस्तोमा बेचेर घोपलाबाजी गरेको  हो ।

सिंहदरबारभित्र डिडिसीका प्रोडक्टहरू परल मूल्यभन्दा धेरै सस्तोमा बिक्री हुँदै आएको पाइन्छ । राजनीतिज्ञ, कर्मचारी र बिचौलियाको बर्चस्व रहेको सिंहदरबारभित्र डिडिसीको प्रोडक्ट व्यापक नीतिगत घोटाला भएको देखिन्छ  । डिडिसीको लैनचौरस्थित बिक्री केन्द्रमा डिडिसीको फ्रेस मिल्कको मूल्य ७० रुपैयाँ पर्छ । यो डिडिसीले खुलाएको आधिकारिक मूल्य हो । तर, त्यहीँ डिडिसीको फ्रेस मिल्क सिंहदरबारभित्र ६० रुपैयाँमा बिक्रीवितरण भइरहेको छ । डिडिसीका कर्मचारीले भने ६९ रुपैयाँको बिल दिएर उपभोक्ताबाट प्रति बोत्तल १ रुपैयाँ ठग्ने गरेको पाइन्छ ।

बाहिर मार्केटमा डिडिसिको प्याकेटको मही ३५ रुपैयाँ पर्छ सिंहदरबारभित्र उक्त मही प्रति प्याकेट ३० रुपैयाँमा बिक्रीवितरण भइरहेको छ । दुध, दही, मही, घिउलगायत डिडिसीका हरेक प्रोडक्ट सिंहदरबारको बिक्री केन्द्रबाट भारी छुटमा बेच्ने गरिन्छ । सहुलियतका नाममा यो तहको घोटालामा कुनै निकायले पनि चासो दिएको छैन । नीति निर्माणको तहमा रहेका व्यक्तिहरुले खाने सिंहदरबारस्थित डिडिसीको बिक्री केन्द्रमा सर्वसाधारणलाई भन्दा धेरै सस्तोमा डिडिसीको प्रोडक्ट बेचिन्छ । यो पनि नीतिगत भ्रष्टाचार नै हो भन्दा फरक पर्दैन ।

आम सर्वसाधारणको पहुँचमा हुने बाहिर बजारमा भन्दा सिंहदरबारभित्र के कारणले भारी छुटमा डिडिसीको प्रोडक्ट बेचेको हो त्यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजी गर्न जरूरी छ । डिडिसी र मुख्यसचिवको रबैयाले नीतिगत तहमा बसेकाहरुले जे गर्दा पनि हुन्छ भन्ने सन्देश प्रवाह भएको छ ।

मुख्यसचिव कै पहलमा सिंहदरबारभित्र डिडिसीको बिक्री केन्द्र राखिएकाले राष्ट्रिय सतर्कता केन्द्रलगायतले त्यसमा सोधखोज गर्न सक्ने देखिँदैन । सुशासनको खडेरी लागेको मुलुकमा डिडिसी त्यसको प्रतिबिम्ब भएर आएको छ । त्यसमाथि मुख्यसचिव जोडिएर आएपछि सिंहदरबारभित्र डिडिसीले दैनिक १५/२० हजार घाटाको व्यापार गरिरहेको छ । यसको लेखाजोखा हुनैपर्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डिडिसी फ्रेस मिल्क, #मुख्यसचिव डा. बैकुण्ठ अर्याल, #सिंहदरबार सहुलियत बिक्री केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ