४ वटा भ्रष्टाचारको मुद्दा खेपेका भ्रष्टाचारी उपसचिव विश्वराज मरासिनी


काठमाडौं । ललितपुरदेखि सिम्रौनगढसम्म प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार मुद्दा खेपेका उपसचिव हुन विश्वराज मरासिनी । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका मालदार स्थानीय तह चलाएका उनीविरुद्ध सोमबार भ्रष्टाचारको चौथो मुद्दा दायर भएको छ ।

अख्तियारले ललितपुरको गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा लेले र नल्लुको नदी तथा खानीजन्य वस्तुका ढुंगा, गिट्टीलगायत उत्खननका लागि सरकारी दररेट कम गरी ठेक्का दिई भ्रष्टाचार गरेको अभियोगमा मेयर गजेन्द्रबहादुर महर्जन, उपमेयर मुना अधिकारी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासिनीसहितलाई मुद्दा दायर गरेको हो । मरासिनीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, कृष्णप्रसाद जैसी र प्रवीन कोइराला समेत भ्रष्टाचारमा डामिएका छन् । मरासिनीलाई विस्थापित गरेर जैसी गोदावरी पुगेका थिए ।

सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा ३ वटा भ्रष्टाचारको मुद्दा खेपेका मरासिनीले गोदावरीमा समेत फेला परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ अर्ब ५ करोड बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । मरासिनी बाराको सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा माछापोखरी निर्माणको ठेक्का भ्रष्टाचारी ठहर भएका छन् । टेकनारायण कुवँर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले मरासिनीलाई ६ मैना कैद र ४ लाख ६१ हजार २ सय ५० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । मरासिनी भ्रष्टाचारी ठहर भएको ६ महिना नपुग्दै अर्को भ्रष्टाचारको मुद्दा दायर भएको हो । सिम्रौनगढमा २ लाख रुपैयाँको सफ्टवेयर खरिद गरेर बदनियतपूर्वक प्रयोग नगरेको भनेर उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको थियो । यद्यपि उक्त मुद्दामा उनले सफाइ पाइसकेका छन् । सिम्रौनगढ-८ कचोर्वास्थित जनता माविको भवन निर्माणबापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले मरासिनीविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । ललितपुरको गोदावरीमा हुँदा मरासिनीविरुद्ध हालेको यो चौथो मुद्दा हो ।

धादिङको बुढानिलकण्ठ नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, भक्तपुरको थिमी नगरपालिका, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र बाराको सिम्रौनगढ नगरपालिकासम्म चलाएर उनी अछामको प्रमुख जिल्ला अधिकारी भएर गएका थिए । सिम्रौनगढमै हुँदा ३ वटा भ्रष्टाचारको मुद्दा खेपेका भ्रष्टाचारी मरासिनीको भागमा चौथो मुद्दा आइपरेको छ । अझ्, काठमाडौं, भक्तपुर र काभ्रेसम्म पुग्दा दोब्बर हुने सम्भावना रहेको अख्तियार कै अधिकारीहरु बताउँछन् । स्थानीय तह हल्लाएर बसेका मरासिनी अन्ततः आफै हल्लिएका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## भ्रष्टाचार, #उपसचिव विश्वराज मरासिनी, #गोदावरी नगरपालिका, #बुढानिलकण्ठ नगरपालिका, #मेयर गजेन्द्रबहादुर महर्जन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ