स्वास्थ्यमन्त्रीले रोग नियन्त्रण महाशाखामा महिला पठाएर ऐतिहासिक काम गर्लान् ?


काठमाडौं ।  “हुक्के” गफ भन्दा काम गरेर देखाउन चाहने प्रदीप यादव यति बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा आएका छन् । उनी मन्त्रीको चाकडी गरेर खुशी बनाउँन चाहने कर्मचारी भन्दा रुखो बोलेर काम गर्नेहरू बढी रुचाउँछन् । 

स्वास्थ्यको इतिहासमा अहिले सम्म कुनै मन्त्री सफल भएका छैनन् । त्यसैले पनि अब, युवा मन्त्रीका रुपमा स्वास्थ्यमा आएका प्रदीपलाई असफल हुने छुट छैन । तर, उनको नाममा विभाग र मन्त्रालयका शाखा महाशाखा धाउने र कर्मचारी धम्क्याउने बिचौलियाको खेलले यादवले पनि कतै बाटो बिराउने हुन की भन्ने प्रश्नहरू बजारमा उठ्न थालेका छन् । 

स्वास्थ्य मन्त्री यादवको पहिलो सरुवा सही निसानामा लागेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र प्रसाद मरासिनीले विगत देखिनै सरुवा माग्दै आएका थिए । तर, हुन सकेको थिएन । यता भ्रष्टाचारले “ओतप्रोत” भएका एचआइभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जय ठाकुरको वीर अस्पताल सरुवाले मन्त्रीको एक तहको उचाइ बढेको छ । तर, अहिले सम्म नियुक्ति नभएका यी महत्वपूर्ण महाशाखा र केन्द्रमा कस्तो व्यक्ति ल्याउँछन् भन्नेमा उनको परीक्षा हुने छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सबै जसो शाखा महाशाखामा पुरुषहरूको वर्चस्व रहेको छ । सङ्कटको समयमा काम गरेर अन्तराष्ट्रिय जगतले सम्मान गरेका महिला कर्मचारीहरू भएपनि विगतका मन्त्रीले पत्याएका छैनन् । त्यसैले अहिलेका मन्त्री प्रदीप यादवको सोच र चाहनालाई “होस्टेमा हैसे” गर्ने महिला स्वास्थ्यकर्मीलाई नेतृत्वमा ल्याएर काम गर्नु उचित हुने देखिन्छ । यस्ता निर्णयले मन्त्रीलाई कमजोर हैन थप बलियो बनाउने छ । 

स्वास्थ्यमा देखिएको ब्यापक निराशालाई आशामा बदल्ने अवसर मन्त्रीलाई छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्व खाली छ । त्यस महाशाखाको नेतृत्व डा सरमेज प्रसाद राजेन्द्र पछि अहिले सम्म महिलाले गरेको छैन । यस पटक यादवले महिला पठाए इतिहास रचिने छ । जीवनभर उनलाई भित्तामा टासिएको नामले सम्झिने छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी पूर्व निर्देशक डा. रुना झा युएन वुमनबाट सम्मानित भएकी कर्मचारी हुन् ।  विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोभिड १९ को  लडाइँमा दिनरात खटिएका विश्वका ५ महिलाको सुचीमा डा. झा पनि पर्न सफल भएकी थिइन् । अन्तराष्ट्रिय जगतले पत्याएका र सम्मान दिएका कर्मचारीलाई नेतृत्वमा ल्याएर मन्त्री यादवले पनि आफूलाई सम्मानित बनाउँन सक्छन् । 

मन्त्री यादवले आफ्नो जस्तै जोस जागर भएका कर्मचारीलाई जिम्मेवारीमा ल्याउने र कतिपयलाई निरन्तरता दिएर स्वास्थ्यमा राम्रो नतिजा दिन सक्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा चुमन लाल दास, नीति योजना प्रमुख डा कृष्ण पौडेल, गुणस्तर महाशाखा प्रमुख डा मदन उपाध्याय, स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्रा, व्यवस्थापन महाशाखा प्रमुख डा श्रवण थापालाई साथमा लिएर मन्त्री यादवले स्वास्थ्यमा धेरै काम गर्न सक्छन् । युवा भएकाले मन्त्री यादव आफ्नो कारण युवामाझ थप निराशा जगाउने पक्षमा छैनन् । तर, उनले कस्तो टिम खडा गर्छन् भन्नेमा भर पर्ने छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ