गाँजा खेतीबारे छलफल गर्न आरजुले बोलाइन् रविदेखि वर्षमानसम्म, स्वास्थ्यमन्त्रीलाई भाउ दिनन्


काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजा खेतीबारे छलफल गर्न चार जना मन्त्री आधा दर्जन बढी सचिवहरूलाई शुक्रबार बिहान ११ बजे बोलाएको छ । समितिकी सभापति आरजु राणा देउवाको निर्देशनमा गाँजा खेतीबार  छलफल गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षामान पुन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र कृषिमन्त्री ज्वालाकुमारी साहलाई बोलाइएको हो ।

औषधीय प्रयोगका लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउन उद्देश्यले राखिएको छलफलमा समिति सभापति आरजु राणा देउवाले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई भने खासै भाउ दिएको पाइएन । कृषि समितिको सभाहलमा हुने छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भने सचिवलाई मात्र बोलाइएको छ । उक्त छलफलमा गृह, अर्थ, शिक्षा, कृषि जस्तै स्वास्थ्यमन्त्रीको उपस्थिति पनि उत्तिकै महत्त्वपूर्ण थियो । शिक्षाभन्दा स्वास्थ्यमन्त्रीलाई प्राथमिकतामा राख्नु पर्थ्यो । तर, स्वास्थ्यबाट मन्त्रीलाई भाउ नदिई सचिवलाई मात्र बोलाइएको हो ।

गृह, अर्थ, शिक्षा र कृषिबाट मन्त्री र सचिवलाई बोलाउँदा स्वास्थ्य, कानुन र उद्योगबाट भने सचिव मात्र आमन्त्रण गरिएको हो  । विज्ञ सरोकारवाला समेतलाई राखेर गाँजा खेतीबारे छलफल गर्न लागेको समितिले जनाएको छ । गाँजा खेतीबारे छलफल गर्दा उक्त आरजु नेतृत्वको उक्त कृषि समितिले स्वास्थ्यमन्त्रीलाई उपेक्षा गरेको देखिन्छ ।

औषधीय प्रयोगका लागि गाँजाको व्यवसायिक उत्पादन तथा वैधानिकता दिनुपर्छ भनेर भीम उपाध्यायले निरन्तर अभियान चलाउँदै आएका छन् । उक्त विषयमा प्रतिनिधि सभाको कृषि समितिले पनि चासो देखाएर गाँजा खेतीबारे मन्त्री र सचिवहरूसँग छलफल गर्न लागेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ