भाडामा लगाउने डिल्लीबजारका २ विद्यालयको सटरमा महानगरको ताला


काठमाडौं । व्यवसायिक प्रयोजनमा भाडामा लगाउने डिल्लीबजारका २ विद्यालयको सटरमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ डल्लीबजारस्थित विजय स्मारक र पदमकन्या माध्यमिक विद्यालयले भाडामा लगाएका सटरमा महानगरले ताला लगाएको हो ।

त्यस्तै बागबजारमा रहेको सहिद शुक्र माध्यमिक विद्यालय र रामशाहपथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा लगाएको सटरमा पनि महानगरले ताला लगाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको सचिवालय, शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यवसायिक प्रयोजनमा आएका सटर तथा टहराहरुमा ताला लगाएको हो । ती सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा ताला लगाएको महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको शिक्षा विभागका अनुसार ४ वटा माध्यमिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाउने काम भएको छ । डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयको ८ वटा र पदमकन्या माध्यमिक विद्यालयले भाडामा लगाएका १४ वटा सटरमा महानगरले ताला ठोकेको हो । रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारसस्थित सहिद शुक्र माध्यमिक विद्यालयले भाडामा दिएका २२ वटा सटरमा पनि महानगरको ताला झुन्डिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ