सामान्यका मन्त्री र सचिव घुमघाममै व्यस्त, निमित्तलाई छाड्दा स्थानीय तह बने अस्तव्यस्त


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र सचिव मुकुन्दप्रसाद निरौला मन्त्रालयभन्दा बढी बाहिर हुने गरेका छन् । सचिव निरौला त अधिकांश समय विदेश र देशका विभिन्न ठाउँमा घुम्नमै मस्त रमाइरहेका छन् ।

सचिव निरौला एकहप्ता थाइल्याण्ड घुमेर आएपछि हप्तामा मुस्किलले दुई दिन मन्त्रालय पुग्न थालेका छन् । संघीय मामिला महाशाखा हेर्ने सहसचिव सुमन दाहाललाई लिएर उनी तिर्थाटन गरिरहेका छन् । अहिले सचिव निरौला, सहसचिव दाहाल र मन्त्रालय कै सहसचिव डा. नारायण रेग्मीसहितको टोली सुदूरपश्चिम भ्रमणमा व्यस्त छन् । पूर्व र धादिङलगायतका जिल्ला भ्रमण सकेर मन्त्रालयमा झुलुक्क अनुहार देखाएका सचिव निरौला र सहसचिव दाहाललगायतको टोली फेरि सुदूरपश्चिमतिर लागेको छ ।

मन्त्री, सचिव र सहसचिवको घुमाई हेर्दा यो सामान्य प्रशासन मन्त्रालय हो कि पर्यटन मन्त्रालय हो छुट्याउनै मुस्किल परेको छ । सामान्यको टोली घुम्नमै व्यस्त हुँदा स्थानीय तहहरु भने अस्तव्यस्त अवस्थामा पुगेका छन् । प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि भरतपुर महानगरपालिका निमित्तको भरमा चलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेनु दाहालले नेतृत्व गरेको भरतपुर महानगरपालिकामै सामान्य प्रशासन मन्त्रालयले दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेको छैन । अरू ठाउँको त हाल बहाल देखिन्छ ।

धरान, इटहरी, जनकपुरधाम, धनगढीजस्ता उपमहानगरपालिका पनि निमित्त कै भरमा चलिरहेको पाइन्छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका जनकपुरधाम उपमहानगरपालिका पुगेका टेकराज पन्थी त्यहाँबाट भागेर हिँडेपछि उक्त उपमहानगरपालिका पनि निमित्तको भरमा चलेको छ । पन्थी बुटवल उपमहानगरपालिकाबाट गोकर्णेश्वर पुगेका थिए । त्यहाँबाट जनकपुर गएका उनी हाजिर गरेर हिँडेपछि फर्किएका छैनन् । हर्क साम्पाङ नेतृत्वको धरान उपमहानगरपालिका र गोपी हमाल नेतृत्वको धनगढी उपमहानगरपालिकाको हालत पनि उस्तै छ । ११ वटा उपमहानगरपालिकामध्ये ९ वटा त अहिले निमित्त कै भरमा छाडिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ‘रेकर्ड’ले देखाउँछ ।

सयभन्दा बढी नगरपालिका र झन्डै डेढ सय गाउँपालिकामा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेको छैन । मन्त्री र सचिव नै मन्त्रालयमा नबस्ने भएपछि रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सकिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । सामन्य सचिव घुमघाममै व्यस्त हुँदा आर्थिक वर्षको अन्त्यमा स्थानीय तहहरू अस्तव्यस्त बनेका छन् । कर्मचारी व्यवस्थापनको पाटो भद्रगोल अवस्थामा छ । तर, उनीहरुलाई घुम्न पाए पुगेको देखिन्छ ।

विनोदप्रकाश सिंहले ट्रयाकमा ल्याउन खोजेको संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालय मुकुन्द आएपछि उस्तै बनेको छ । बागमतीको प्रमुख सचिव हुँदा यातायातका बिचौलियाहरुसँग राम्रो साँठगाँठ बनाएका उनको ध्यान यातायात कै सरुवामा केन्द्रित रहेको मन्त्रालयभित्रै चर्चा छ । सामान्य प्रशासन मन्त्रालयको बेथितिको विषयमा बुझ्न खोज्दा सचिव निरौला सम्पर्कमा आउन चाहँदैनन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, #मुकुन्दप्रसाद निरौला सचिव, #वीरेन्द्रदेव भारती सहसचिव, #स्थानीय तह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ