सांसद लिएर चितवनका सरकारी अस्पताल निरीक्षणमा पुगे स्वास्थ्यमन्त्री यादव
जनशक्ति थप्नेदेखि उपकरण खरिदका लागि बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले चितवनका सरकारी अस्पतालको निरीक्षण गरेका छन् । शुक्रबार चितवन पुगेका मन्त्री यादवले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, केन्द्रीय अस्पतालको रुपमा भरतपुर अस्पतालको सेवा प्रवाहको अनुगमन गरेका हुन् ।
चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हरि ढकाललाई साथमा लिएर स्वास्थ्यमन्त्री यादव ती अस्पतालको निरीक्षणमा पुगेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री यादवले दुबै अस्पतालमा उपचार गराइरहेका बिरामी, कुरुवासहित अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी, अन्य स्वास्थ्यकर्मी र अस्पताल सञ्चालक समितिका पदाधिकारीहरूसँग छलफल गरेका छन् । ‘छलफलका क्रममा अस्पताललाई सेवा प्रवाहका क्रममा आइरहेको विभिन्न समस्याका बारेमा बुझेँ । अस्पतालमा उपकरण, जनशक्ति र बजेट अभावमा कारण पनि समस्या आइरहेको पाएँ । त्यस्तै फार्मेसीमा पनि पर्याप्त औषधि उपलब्ध नरहेको देखियो,’ उनले भने ।
मन्त्री यादवले नेपालसहित भारतसमेतबाट आउने क्यान्सर रोगीहरूको उपचारको केन्द्रका रूपमा स्थापित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई पूर्ण रूपले सबल बनाउनका निमित्त आवश्यक जनशक्ति थप्नेदेखि उपकरण खरिदका लागि बजेटको व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको बताए । त्यस्तै औषधि अभावको समस्यालाई तत्कालै समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएको उनले जानकारी दिए ।
भरतपुर अस्पतालमा नर्सिङ कक्षामा अध्ययनरत विद्यार्थीहरूले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएको भन्दै मन्त्री यादवले सीमित स्रोतका बाबजुद पनि अस्पतालले दिइरहेको सेवा प्रशंसनीय रहेको बताए । ‘यस अस्पतालको सेवा प्रवाहका क्रममा जनशक्ति र जग्गा अभावमा कारण आएका चुनौतीहरूलाई सम्बोधन गर्न म कटिबद्ध छु,’ उनले भने । अस्पताललाई यसै वर्षदेखि एमबीबीए, एमडीएमएसलगायत कक्षा सञ्चालन गर्न र तत्कालै हुनसक्ने कामहरूको थालनी गर्न मन्त्रालयका सचिव लगायतका कर्मचारीहरूलाई निर्देशन दिएको उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस