नक्कली लाइसेन्स प्रकरणमा टोकराजका विश्वासपात्र केशव अर्याल सिआईबीको फन्दामा


काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका प्रशासन महाशाखा प्रमुख (अधिकृतस्तर नवौं) केशव अर्याललाई समातेको छ । यातायात व्यवस्था कार्यालय, बुटवलको प्रमुख हुँदा अर्याल नक्कली लाइसेन्स जारी प्रकरणमा संलग्न भएका आधारमा सिआईबीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

सिआईबीले नक्कली लाइसेन्स प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु गर्ने वित्तिकै स्याङ्जा चापाकोटका अर्याल समातिएका हुन् । तत्कालीन यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेका नातेदार लक्ष्मण पाण्डेसँग उपसचिव अर्यालको शंकास्पद कारोबार भएको तथ्य सार्वजनिक भएको थियो । पाण्डे उक्त यातायात कार्यालयको कम्प्युटर अपरेटर हुँदा अर्याल कार्यालय प्रमुख थिए । नक्कली लाइसेन्स प्रकरण सार्वजनिक भएसँगै त्यसलाई तुहाउन पाण्डे ‘ब्रिफकेस’ बोकेर विभिन्न निकाय र शक्ति केन्द्र धाइरहेका थिए । तर, सिआईबीले यातायात व्यवस्था विभागका तत्कालीन कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल र हरिश भट्टलगायतलाई समातेसँगै पाण्डे फरार भएका छन् ।

नक्कली लाइसेन्स उपसचिव अर्यालसँगै यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत पदमराज आचार्य र लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत सुवास पौडेल पनि सिआईबीको फन्दामा परेका छन् । यातायात कै कर्मचारी दिलीपकुमार साह र राजेश लम्साललाई पनि सिआईबीले नियन्त्रणमा लिएको छ ।

गाडीले हानेर मान्छे मार्ने शशांक बस्याललाई नक्कली लाइसेन्स दिएको ‘केस’मा सिआईबीले यातायात व्यवस्था विभागका तत्कालीन कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल, कम्प्युटर अधिकृत हरिश भट्ट, यातायात व्यवस्था कार्यालय, बुटवलमा करारमा कार्यरत सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डे, र दाङका सहायक कम्प्युटर अपरेटर अकरामुद्दिन मुसलवान बिचौलिया अरुण कार्की र लाइसेन्स लिने बस्यालका बाबु-छोराविरुद्ध मुद्दा चलाइसकेको छ ।

त्यस्तै ‘फास्ट प्रिन्ट’का नाममा पैसा लिएर नक्कली कागजात हाली किर्ते गरेको अभियोगमा सिआईबीले यातायात व्यवस्था विभागका करारका तत्कालीन कम्प्युटर अधिकृत हरिश भट्ट, सहायक कम्प्यूटर अपरेटर केशव पाण्डे, दीपा न्यौपाने, बिर्जुकुमार चौधरीसहित ७ जनालाई जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । दुबै मुद्दाका प्रतिवादीहरु धरौटीमा रिहा भइसकेका छन् ।

यातायात हुँदा नक्कली लाइसेन्स धन्दा चलाउने कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल पनि अर्थ मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डे निकट हुन् । हालै सिआईबीको फन्दामा परेका उपसचिव केशव अर्याल र फरार लक्ष्मण पाण्डे उनले अति विश्वास गर्ने कर्मचारीमा पर्छन् । फरार रहेका लक्ष्मण पाण्डे र मुद्दा खेपिरहेका नारायणप्रसाद पाण्डे, केशव पाण्डे र दीपा न्यौपाने त टोकराजका नातेदार नै हुन् । थप पोल खुल्ने डरले लक्ष्मणलाई त्यहिँ गिरोहले भगाएको आरोप लाग्दै आएको छ ।

नक्कली लाइसेन्स जारी हुँदा यातायात व्यवस्था विभागको सूचना प्रविधि निर्देशकको जिम्मेवारीमा रहेका श्रीचन्द्र शाह अर्थ मन्त्रालयमा टोकराज कै महाशाखा अन्तर्गत कार्यरत छन् । हालै अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखबाट उनी हटेर नारायणप्रसाद सापकोटा आएका हुन् ।

नक्कली लाइसेन्ससँग जोडिएका अर्का सूचना प्रविधि उपसचिव राजकुमार महर्जनले त टोकराजलाई साथी कै रुपमा चिलाउने गरेका छन् । त्यसैले नक्कली लाइसेन्सको लहरो तान्दा पहरो खस्ने निश्चित छ । नक्कली लाइसेन्स जस्तो अपराध कर्ममा लाग्नेहरू अहिले सिआईबीको अपरेशनमा परेका छन् । नक्कली लाइसेन्स प्रकरणमा यस अगाडि अधिकृतस्तरमा पुगेर रोकिएको सिआईबीको अपरेशन यो पटक उपसचिवस्तरमा उक्लिएको हो । सिआईबीको यो पटकको अपरेशन कहाँसम्म पुग्ने हो हेर्न बाँकी छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #इन्जिनियर हरिश भट्ट, #उपसचिव केशव अर्याल, #केशव पाण्डे, #डा. टोकराज पाण्डे, #नक्कली लाइसेन्स, #नारायणप्रसाद पाण्डे, #सिआईबी, #सुरजप्रकाश अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ