डब्ल्यूएचओसँगको सेटिङमा आईटी माफिया थक्रालको स्वास्थ्यमा आतंक, तथ्यांक अधिकृत र डब्ल्यूएचओ स्वास्थ्य लाइभकाे निगरानीमा


काठमाडौं । सिंगापुरे कम्पनी थक्राल वान विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग मिलेर स्वास्थ्यमा आतंक मच्चाउन आएको छ ।अर्थ मन्त्रालय अन्तर्गतका महालेखा परीक्षक कार्यालय, आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्र बैंकको सर्भरमा एकाधिकार जमाएको थक्राल अहिले स्वास्थ्यमा छिरेको हो ।

विवादित र नेपाली कर्मचारीलाई घुसिया बनाउने सिंगापुरे कम्पनी थक्राल स्वास्थ्यमा छिरेसँगै सबै आईटी सिस्टम कब्जा गर्न लागेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट कोरोना महामारीको समयमा करिब १ करोड रुपैयाँ खर्च गरेर एचएमआईएस अन्तर्गत पर्ने आईएमयु (युमोनाइजेसज मनिटर सर्भर) जडान गरेकाे थियाे ।

अहिले म्याद सकिएको छ । सेटिङमा राखिएको उक्त सर्भर थप गर्न नचाहने एचएमआईएस प्रमुख परिवर्तन गरि आफू अनुकुल ल्याएर थप गर्न माफियाहरु सक्रिय भएको पाइएको छ ।  माफियालाई केही पूर्व तथ्यांक उपसचिव र हाल बहालवाला तथ्यांक उपसचिवहरुको साँठगाँठ चलिरहेको सूचना स्वास्थ्य लाइभले पाएको छ ।

कोभिडमा डब्ल्यूएचओसँग सेटिङ गरेर निजी आइटी कम्पनी थक्रालले करिब १ करोड रुपैयाँ लगाएर आइएमयु सर्भर राखेको थियो । डब्लुएचओको रकमबाट राखिएको उक्त सर्भर दुई वर्षमा नवीकरण गर्नुपर्ने भएको छ । अहिले सर्भरको म्याद सकिएकाले थप गर्न चलखेल सुरु भएको छ ।

विभाग स्रोतले बताए अनुसार आईटी माफियाहरु डब्ल्यूएचओ, युएसएआइडी, स्वास्थ्य मन्त्रालयमा दौडधुप गरिरहेका छन् । थक्रालका नेपाल प्रमुख कृष्ण गिरी, विशाल पौडेललगायतको गिरोह उक्त खेलमा सक्रिय रहेको पाइन्छ ।

माफियाले झविन्द्र पाण्डेलाई एचएमआइएस प्रमुख बनाएर आफ्नो दुनो सोझ्याउने हिसाबले स्वास्थ्यमा ल्याएको बुझिएको छ ।  तर, उनीहरुको उक्त अभियान असफल भएको छ । स्वास्थ्यका तथ्यांक अधिकृतहरुमाथि स्वास्थ्य लाइभले निगरानी बढाएको छ । थक्राल वान नामको आइटी कम्पनीले डब्ल्यूएचओसँग सेटिङ गरेर  राखेको उक्त सर्भर दुई वर्षका लागि मात्रै भएको अहिले जानकारीमा आएको छ ।

विगतका एचएमआइएस प्रमुखहरुले गरेको बदमासी समेत हामीले खोतल्न थालेका छौं । करोड खर्च गरेर म्याद सकिन लागेको सर्भर सरकारलाई भिराएको थक्राल अहिले आफ्नै सर्भर राख्नु पर्ने भन्दै दौडमा छ । अरुले सर्भर प्रयोग गर्दा बिग्रने भन्दै ‘ब्ल्याकमेल’ गरेर थक्राल आफैले पाउनु पर्ने पक्षमा देखिएको छ ।

एचएमआइएस प्रमुख कपिल तिमिल्सिनाले थक्रालको प्रस्ताव अस्वीकार गरेका छन् । उनले दुई वर्षको राख्दा राज्यलाई घाटा भएको भन्दै कम्तिमा पनि ५ वर्ष माथिको म्याद हुने सर्भर राख्नु पर्ने बताएका छन् । उनको प्रस्तावलाई माफियाले मानेका छैनन् ।

माफियाहरु कपिललाई हटाएर अर्को व्यक्ति प्रमुख बनाउने र आफू अनुकूल काम गर्ने भन्दै केही दिन मौन बस्ने सहमति गरेको सुनिएको छ । केही दिनपछि हामी माफियाको योजनामा सरुवा भएर आएका व्यक्ति र माफियासँग मिलेर एचएमआइएसको तथ्यांक बेच्न उद्धत स्वास्थ्यका शाखा र केन्द्रहरुमा काम गरिरहेका तथ्यांक अधिकृतहरुका बारेमा पनि लेख्ने छौं । राज्यको सिस्टम र सरकारी कर्मचारीलाई ‘डोमिनेट’ गर्ने दातृ निकायको पाता कसरी कस्नु पर्छ त्यसमा स्वास्थ्य लाइभ लागेको छ ।

स्वास्थ्यमा छिरेको अर्को आईटी माफिया थक्राल

थक्राल वान मल्टिनेशनल कम्पनी हो । नेपालमा सर्भर, नेटवर्किङलगायतका थक्रालको ठूलो सेटिङ छ । अर्थ मन्त्रालय, मातहत र अर्थसँग जोडिएका निकायहरुमा थक्रालको एकछत्र राज छ भन्दा फरक पर्दैन । थक्रालले धेरै सरकारी कर्मचारी पालेको छ भन्ने आरोप लाग्दै आएको छ । डब्ल्यूएचओसँग सेटिङ मिलाएर स्वास्थ्यको डाटा सिस्टम कब्जा गर्न पुग्नु त्यसैको कडी हो ।

थक्राल वानका नेपाल प्रमुख कृष्ण गिरी र उपप्रमुख विशाल पौडेल हुन् । सेटिङ मिलाउन माथिल्लो तहमा गिरी सक्रिय हुन्छन् भने पौडेल फिल्डमा गएर डिल गर्छन् । उनी विभिन्न सरकारी/सार्वजनिक कार्यालय पुगेर सम्बन्धित कर्मचारी भेट्ने गर्छन् ।

थक्राल ओम्नी, डब्ल्यूडिएन, म्याक्स, नेक्स्टजेन जस्तै अर्को आईटी क्षेत्रको माफिया कम्पनी हो । ओम्नी, डब्ल्यूडिएन, म्याक्स, नेक्स्टजेनलाई जस्तै थक्राललाई पनि विकल पौडेल, सुनिल पौडेल र त्यो सर्कलले आईटीका ठेक्का दिँदै आएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका ठेक्कामा पनि थक्रालको राम्रै उपस्थिति रहेको पाइन्छ ।  पहिला मर्केन्टाइलमा काम गरेका गिरी अहिले थक्रालमा छिरेर ठूलो माफियागिरी चलाउन थालेका छन् ।

पहिला थक्राल सीधै सरकारी कार्यालयमा जोडिदैन थियो । उसको एजेन्टको रुपमा म्याक्स इन्टरनेसनलका अकबर हुसेन (भ्रष्टाचार मुद्दामा डामिएका) जाने गर्थे । नेपालमा थक्रालको आपूर्तिकर्ताको रूपमा उनैले काम गर्ने गर्थे । अकबरले थक्रालसँग काम गर्न छाडेपछि थक्रालले एस्ट्राल कम्प्युटर्स नेपाल प्रालि खडा गरेर काम गरिरहेको छ ।

थक्रालको नेपालस्थित कार्यालय ज्ञानेश्वर सानोगौचरनमा रहेको चार्टर टावरको तेस्रो तलामा छ भने एस्ट्रालको त्यो भन्दा ठिक एक तला मुनी रहेको छ । उक्त थक्राल कम्पनी लुट्न र डाटा ‘म्यानुपलेट’ गर्न स्वास्थ्यमा छिरेको छ । थक्रालसँग अस्वस्थ सेटिङ मिलाउने स्वास्थ्यका कर्मचारीहरुकाे सम्पत्ति छानबिन गर्न आवश्यक देखिएको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #एचएमआइएस, #एस्ट्राल कम्प्युटर्स नेपाल प्रालि, #डब्ल्यूएचओ, #थक्राल वान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ