अख्तियार धाइरहेका मुख्यसचिवसहितका व्यक्तिहरूको पूर्वमन्त्री कार्की निवासमा जमघट


काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्याल ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा सचिवको भूमिकामा थिए । टेरामक्सदेखि बिलिङ सिस्टम खरिद अनियमिततामा जोडिएका जोडी हुन् ज्ञानेन्द्र-बैकुण्ठ । तत्कालीन सञ्चारमन्त्री कार्कीको ललितपुरको भैंसेपाटीस्थित घरमा टेरामक्सदेखि बिलिङ सिस्टमसम्म घोटालामा जोडिएका भीआईपीहरु मंगलबार साँझ जमघट भएको छ ।अख्तियार धाइरहेका मुख्यसचिव डा. अर्यालसहितका व्यक्तिहरूको पूर्वमन्त्री कार्की निवासमा जमघट भएको हो ।

पूर्वमन्त्री कार्कीकी आमाको जन्मदिन पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन दायरामा रहेका व्यक्तिहरूको जमघट भएको हो । उक्त जमघटमा मुख्यसचिव डा. अर्याल, पूर्वरक्षा सचिव रेश्मिराज पाण्डे, लोकसेवा आयोगका पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईं, पूर्वप्रहरी महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र धीरजप्रताप सिंहलगायत दर्जन बढी भीआईपी सहभागी थिए ।

पूर्वमन्त्री कार्कीले आमाको ‘वर्थ डे’को उपलक्ष्यमा आफन्तलाई बोलाएको दाबी गरेका छन् । तर, उपस्थित व्यक्तिहरु हेर्दा उनको परिवारसँग ‘गोरू बेचेको’ साइनो पनि देखिँदैन । बरु अख्तियारको छानबिन दायरामा रहेकाहरुको संगठित ‘मुलाकात’ जस्तो देखिन्छ ।

मुख्यसचिव डा. अर्याल टेरामक्सदेखि बिलिङ सिस्टम खरिद अनियमिततामा कार्कीसँगै अख्तियार धाइरहेका व्यक्ति हुन् । पूर्वप्रहरी महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र धीरजप्रताप सिंहको पनि अख्तियारमा आधा दर्जन उजुरी छन् ।

पूर्वरक्षा सचिव पाण्डेले ज्ञानेन्द्रका भाइ लोकेन्द्रलाई रक्षामा हुँदा करोडौंका ठेक्का मिलाइदिएका व्यक्ति हुन् । महेन्द्र कोशी प्रदेशको लोकसेवा आयोगको अध्यक्ष हुन् दौडिरहेका छन् । अख्तियारको छानबिन दायरामा रहेका यिनीहरुको कार्की निवासमा जमघट भएको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ