विवादास्पद सहसचिवहरूको अखडा बन्दै रविको गृह मन्त्रालय, सुशासनको हुर्मत लिइयो


काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सुशासनको कुरा गरेर थाक्दैनन् । उनको कुरा सुन्दा लाग्न मुलुकमा साँच्चिकै सुशासन कायम भइसक्यो । तर, गृह मन्त्रालयमा भित्र्याइएका सहसचिवको अनुहार हेर्दा उनको भनाइ र गराईबीच तादात्म्यता मिल्दैन ।

रविले नेतृत्व गरेको गृह मन्त्रालयमा हालै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन सचिव लालबहादुर कबारीलाई भित्र्याइएको छ । रवि पहिलोपटक गृहमन्त्री हुँदा कवारीलाई सिराहाको सिडिओबाट झिकेर गोरखा पठाइएको थियो । तर, सिराहामा जग्गासम्बन्धीको विषयमा बिचौलियामार्फत ५० लाख घुस ‘बार्गेनिङ’ गरेको काण्ड आएपछि उनी गोरखा नपुग्दै तानिए । कबारी कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत रहँदा २० लाख घुस काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका व्यक्ति हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला गोरखाको सिडिओ हुन नपाएका विवादित कबारीलाई फेरि गृह मन्त्रालय भित्र्याएपछि गृहका कर्मचारी नै रविको शुशासनको खुट्टी राम्रैसँग देखियो भन्न थालेका छन् ।

काठमाडौं महानगरपालिकामा कर्मचारी भर्तिमा ‘किर्ते’ गरेपछि प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मेयर बालेन शाहले लखेटेका थिए । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उनीमाथि किर्तेमा मुद्दा चलाउन बालेनले आग्रह गरेका थिए । तर, कर्मचारी प्रशासनका चतुर खेलाडी बसन्त रातारात मधेशी आयोगमा सरुवा मिलाएर सुइँकुच्चा ठोके । तीनै बसन्तलाई रविले गृह मन्त्रालयमा ‘फूलमाला’ लगाएर स्वागत गरे । सुशासनको दुहाइ दिने रविले त्यति मात्र गरेरन् उनलाई राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा लगेर पुरस्कृत नै गरे ।

यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा इम्बोस्ड नम्बर प्लेट र नक्कली लाइसेन्स जारी प्रकरणमा नाम जोडिएका नारायणप्रसाद भट्टराई र गोगनबहादुर हमाल रवि नेतृत्वको गृह मन्त्रालयको सुरक्षा तथा समन्वय र आन्तरिक व्यवस्थापन जस्ता महत्त्वपूर्ण महाशाखाको जिम्मेवारीमा छन् । कर छुट मामिलामा विवादित सहसचिव झक्कप्रसाद आचार्य गृहको प्रशासन महाशाखा प्रमुख छन् ।

रवि नेतृत्वको गृह मन्त्रालयमा भित्रिएका सहसचिवको सूची हेर्दा विवादित घेराको दायरा फराकिलो हुँदै गएको देखिन्छ । विवादित सहसचिवलाई छानीछानी गृहमा किन भित्र्याइँदैछ  भन्ने गम्भीर प्रश्न खडा भएको छ । ‘कुराले चिउरा भिज्दैन’ भने जस्तै काण्डैकाण्डमा मुछिएका सहसचिवलाई गृह भित्र्याएर त्यो घेराभित्र सीमित हुँदा रविको सुशासन पनि फगत गफ मात्र भएको छ । आशा गरेका नेता रवि आफू पनि विवादमा फसेका र विवादितलाई वरिपरि राखेर बसेकाले जनतामाझ उनीमाथिको आशा निराशा बदलिएको पाइन्छ ।पछिल्लो समय रविले विवादित सहसचिवहरुलाई च्यापेर सुशासन हुर्मत लिने काम गरेको टिप्पणी हुन थालेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #गृहमन्त्री रवि लामिछाने, #गोगनबहादुर हमाल, #झक्कप्रसाद आचार्य सहसचिव, #नारायणप्रसाद भट्टराई, #लालबहादुर कबारी, #सहसचिव बसन्त अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ