काठमाडौं महानगरपालिकाबाट ऐंजेरू हटाउँदै बालेन


काठमाडौं । काठमाडौं महानगरपालिकाबाट मेयर बालेन शाह ऐंजेरू हटाउन थालेका छन् । बागमती प्रदेश सरकारको कानुन अनुसार पनि बालेनलाई महानगरबाट ऐंजेरू फ्याल्न सजिलो भएको छ ।

बाँसलाई जोगाउन ऐंजेरूलाई हटाए जस्तै महानगर जोगाउन त्यहाँभित्र पलाएका ऐंजेरूहरुलाई बालेनले भटाभट फ्याल्न थालेका छन् । शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ति गर्दा होस् या नगर शिक्षा समितिको निर्णय बेगर नै ‘प्लस टू’ सञ्चालनको अनुमति दिँदा होस् त्यस्ता गलत काम परेर महानगरको थिति समाप्त पार्न खोज्ने ऐंजेरूमाथि बालेनले एक्सन लिएका छन् ।

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ति गर्दा किर्ते गरेको भेटिएपछि बालेनले तत्कालीन स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेललाई निलम्बन गरेर छानबिन समिति गठन गरेका थिए । उक्त समितिले दोषी ठहर गरेपछि बालेनले पौडेललाई सेवाबाट बर्खास्त गरे । शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्तिको किर्ते काण्डमा मुछिएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी भने अहिले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको शरणमा पुगेका छन् ।

नगर शिक्षा समितिको निर्णय बेगर नै ‘प्लस टू’ सञ्चालनको अनुमति दिने शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई पनि बालेनले तत्काल एक्सन लिए ।  काठमाडौं महानगरपालिका वडा नम्बर १० मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा विज्ञान संकायतर्फ ‘प्लस टू’ सञ्चालनको अनुमति दिँदा नगर शिक्षा समितिको निर्णयबेगर पत्र दिएको फेला परेपछि मेयर बालेनले उनीमाथि एक्सन लिएका हुन् । बालेनले निलम्बन गरेका शिक्षा विभाग प्रमुख कोइराला अहिल शिक्षा निर्देशक भएर हेटौडा उपमहानगरपालिका पुगेका छन् ।

काठमाडौं महानगरपालिकाभित्र बसेर अनावश्यक चलखेल र खुरापाती गर्ने निर्देशक (अधिकृतस्तर दशौं) महेशकुमार काफ्लेलाई पनि हालै हेटौंडा उपमहानगरपालिकामा सरुवा गरिएको छ ।काठमाडौं महानगरपालिकाका जरो गाडेर बसेका निर्देशक काफ्लेलाई बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहयोगमा हेटौंडा सरुवा गरिएको हो । स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा २८ बमोजिम प्रमुख सचिवस्तरको निर्णयबाट निर्देशक काफ्ले काठमाडौंबाट हेटौंडा पुगेका हुन् ।

काठमाडौं महानगरपालिकाभित्र ऐंजेरू र ‘क्रोनिक’ बनेर बसेका कर्मचारीहरु भटाभट हेटौंडा उपमहानगरपालिका पुग्न थालेका छन् । यसअघि काठमाडौं महानगरपालिकाका समाजिक विकास विभाग प्रमुख गोपाल पोखरेल पनि हेटौंडा नैं सरुवा भएर गएका छन् । विवादित कर्मचारीहरू काठमाडौंबाट हेटौंडा पुग्न थालेपछि कतिपयले भने काठमाडौंको फोहोर हेटौंडामा ‘डम्प’ हुन थालेको टिप्पणी गरेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #महेशकुमार काफ्ले निर्देशक काठमाडौं महानगरपालिका, #रामप्रसाद पौडेल, #शिक्षा विभाग प्रमुख सीताराम कोइराला, #सीताराम कोइराला, #हेटौंडा उपमहानगरपालिका

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ