डा. बैकुण्ठ र विकलसँग सेटिङ गर्दा उछिट्टिएका साठ्ठीसाले लेखा अधिकृत रितेशकुमार शाक्य, जाे मिर्गौला बिरामी पनि हुन्


काठमाडौं । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेशकुमार शाक्य ‘किड्नी प्यासेन्ट’ हुन्। उनको एउटा किड्नीले खासै राम्रोसँग काम गर्दैन। बोनसको जिन्दगी जिइरहेका रितेश नराम्रोसँग अख्तियारको फन्दामा परेका छन्।

रितेशलाई आपत्त आइपर्नुको कारण तत्कालीन सञ्चार सचिव एवं  सुरक्षण मुद्रण विकास समितिका अध्यक्ष (हाल मुख्यसचिव) डा. बैकुण्ठ अर्याल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँगको सेटिङ हो। उनी आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा मिलेमतोमा अन्त:शुल्क स्टिकर छपाइको जिम्मा भ्रष्टाचारकाे आराेप लागेका विकल पौडेल नेतृत्वकाे सुरक्षण मुद्रण केन्द्रलाई दिएको आरोप छ।

अहिले अन्त:शुल्क स्टिकर छपाइमा आन्तरिक राजस्व विभाग तात्कालीन महानिर्देशक रितेशमाथि अख्तियारले यस्तो ‘चार्ज’ लगाएको छ ।

🛑स्टिकर छपाइ गर्नेसम्बन्धी सुरक्षण मुद्रण केन्द्रको क्षमता र सम्भाव्यता अध्ययन नै नगरेको,

🛑आफ्नो निकायका कर्मचारीको संलग्नता विना कानुनी अधिकार बाहिर रही सुरक्षण मुद्रण केन्द्रबाट तयार भएको अन्तःशुल्क स्टिकरको डिजाइन, स्पेसिफिकेशन र विशेषता उपयुक्त तथा सुरक्षण संवेदनशीलताको दृष्टिकोणबाट मान्य छ वा छैन भन्ने अध्ययन नै नगरेको,

🛑सामान खरिदसम्बन्धी कारबाहीको जिम्मेवारीमा रहेका तत्कालीन उपमहानिर्देशक कार्यालयमा हाजिर हुँदाहुँदै निजलाई कुनै जानकारी नै नदिइ/संलग्न नै नगराएको,

🛑आन्तरिक राजस्व विभागले जनक शिक्षा सामग्री केन्द्रबाट अन्तःशुल्क टिकट छपाइ गराउँदा सम्झौता गर्ने लगायत अपनाइएका अन्य प्रक्रियाको बारेमा जानकारी हुँदाहुँदै र सुरक्षण मुद्रण केन्द्रलाई कार्यादेश दिँदा सो कुनै पनि प्रक्रिया अवलम्बन नगरी सोझै कार्यादेश दिने निर्णय गरेको,

🛑सार्वजनिक संस्था सुरक्षण मुद्रण केन्द्रको सम्पत्ति हानिनोक्सानी गराउने उद्देश्यले बदनियत चिताइ मिलेमतोमा भ्रष्टाचार गरेको,

अख्तियारको अभियोगपत्र सरसर्ती हेर्दा रितेशले गम्भीर लापरबाही विधि र प्रक्रिया मिचेर मिलेमतोमा हचुवाको भरमा अन्त:शुल्क स्टिकर छपाइको जिम्मा सोझै सुरक्षण मुद्रण केन्द्रलाई सुम्पेको देखिन्छ । तत्कालीन सञ्चार सचिव बैकुण्ठ र विकलसँग सेटिङ गर्दा रितेश भ्रष्टाचारमा परेका छन् ।  तुलानात्मक रूपमा ठिकै कर्मचारीमा गनिने सहसचिव रितेश अन्तत: भ्रष्टाचार मुद्दामा डामिएका छन् ।

मोरङको विराटनगरका रितेश पुतलीसडकस्थित शंकरदेव क्याम्पसका पुर्व विद्यार्थी  हुन्। स्वास्थ लाइभले विगतमा लेखेकाे साठ्ठीसाले चर्चित लेखा अधिकृतमा उनी पनि पर्छन्। एनसेललाई कर तिराउन र एनसेल किनबेचको विषयमा टंकमणि शर्मा नेतृत्वको छानबिन समितिमा बसेर उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। तुलानात्मक रूपमा ठिकै कर्मचारी मानिने सहसचिव रितेश बैकुण्ठ र विकल जस्ता मुलुक सिध्याउने धमिराहरुको पिछलग्नु बन्दा अन्तत: भ्रष्टाचार मुद्दामा डामिएका छन्।

किड्नी झिकेपछि आफै विरत्तिएका रितेश पछिल्लो समय देशका लागि गर्ने हो भन्न थालेका थिए । सायदै उनमा परिवर्तन आएको हुनुपर्छ । तर, बैकुण्ठ र विकल जस्ता मुलुक सिध्याउने धमिराहरुसँग मिलेर यहीँ कलियुगमा गरेको बदमासीको प्रतिफल रितेशले पनि अहिल्यै पाएको हुन सक्छ । उनलाई भ्रष्टाचारको दाग लागेको छ ।

साठ्ठीसालमा लेखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका रितेश लेखाको उपसचिव हुँदै प्रशासनको सहसचिवमा नाम निकाल्न सफल व्यक्ति हुन् । लेखाको उपसचिव हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल)सम्म‌ भ्याएका उनीमाथि सहसचिव भएपछि नव-माओवादी बनेर अर्थमा‌ रजगज गरेको आरोप लाग्ने गरेको छ । विना मगर खानेपानीमन्त्री हुँदा रितेश भित्रिया बनेर काम गरेका थिए । त्यसपछि महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने रितेशले मौका पाए ।

अख्तियारमा हुँदा रमेश सिंह जस्ता नामुद कर्मचारीको अकुत सम्पत्तिमा अनुसन्धान गर्ने जिम्मा पाएका रितेश अहिले आफै अख्तियारको फन्दामा परेका छन् । आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा अन्तःशुल्क स्टिकर छपाइमा विकल ग्याङसँग मिलेमतो गरेपछि उनीमाथि भ्रष्टाचार अभियोगको नराम्रो दाग लागेको हो ।

साठ्ठीसाले लेखा अधिकृतबाट प्रशासनको सहसचिव बन्नेमा रितेश र कास्कीका प्रमुख जिल्ला अधिकारीबाट बिदा भएर हालै अमेरिका अध्ययनका लागि गएका बासुदेव घिमिरे हुन् । साठ्ठीसाले लेखा अधिकृत भनेर परिचित अर्थ मन्त्रालयका ज्ञानेन्द्रराज ओझा, महालेखा नियन्त्रक कार्यालयकाे कर्मचारी प्रशासन शाखाका उपसचिव निरज केसी, प्रकाश पुडासैनी, मुनकुमार केसी, सडक विभागको कमाण्ड सम्हाल्न पुगेका रविन कोईरालाहरुले जस्तो रितेशले उक्त सेवालाई बदनाम गराएका थिएनन् ।

मधुकुमार मरासिनीसँग मिलेर रोमाकान्त काफ्लेलाई त्यहाँबाट अवधि नपुगी फ्यालेर अर्थ मन्त्रालय पुगेका ज्ञानेन्द्रराजलाई ‘कम्पनी’ दिने रितेशको कमजोरी रहेको अर्थ मन्त्रालय कै कमचारीहरु औंल्याउँछन् । निरज, प्रकाश, रविनलगायतलाई चलाउने ज्ञानेश्वरस्थित शिक्षाको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा बसेर अर्थ छिरेका लेखाका उपसचिव ज्ञानेन्द्रका कारण बदनाम बनेका रितेशले अख्तियारले भ्रष्टाचार मुद्दा लगाएपछि अर्को बदनामी कमाएका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)मा भएका अनियमितता एकपछि अर्को गरेर बाहिरिन थालेको छ ।

त्यस्तै परे सचिव हुने सम्भावना बोकेका ३३ साले रितेशलाई विकल पौडेलको हावाले उडाइदिएको छ । बैकुण्ठ र विकलसँग सेटिङ गर्दा साठ्ठीसाले लेखा अधिकृत रितेश शाक्य अर्थको शक्तिशाली बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको भूमिकामा हुँदा नराम्रोसँग उछिट्टिएका हुन् । उनी अहिले भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन् ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #अन्तःशुल्क स्टिकर भ्रष्टाचार, #बजेट तथा कार्यक्रम महाशाखा प्रमुख, #मुख्यसचिव डा. बैकुण्ठ अर्याल, #विकत पौडेल, #सहसचिव रितेशकुमार शाक्य, #साठ्ठीसाले लेखा अधिकृत, #सुरक्षण मुद्रण केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ