नेपालमा मष्तिस्क मृत्यु पश्चात गरिने अंग प्रत्यारोपण किन सफल भइरहेको छैन ?
काठमाडौं । अहिले धेरै सुनिने प्रश्न भनेको त्रि. वि. शिक्षण अस्पतालले सफल मिर्गौला प्रत्यारोपण सुरु गरेको १६ वर्षसम्म पनि मष्तिस्क मृत्युपछिको मृगौला प्रत्यारोपण किन सुरु नगरेको होला भन्ने। युरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सकको नाताले सर्वसाधारण र सरोकारवालाहरुलाई केही सन्देश दिन मन लाग्यो।
सबैभन्दा पहिले म के भन्न चाहान्छु भने मष्तिस्क मृत्यु भएका व्यक्तिको मुटु चलिरहेको हुनुपर्छ र मिर्गौलामा रगत प्रवाह भई रहनु पर्छ। दुर्घटना (एक्सिडेन्ट)मा मृत्यु भएका अथवा मिर्गौलामा रक्तसंचार नभएका व्यक्तिबाट अंग निकालेर प्रत्यारोपण गर्न मिल्दैन। मष्तिस्क मृत्यु भएको व्यक्तिले छोएको, पोलेको, दुखेको, तातो-चिसो केही पनि थाहा पाउँदैन। उ आफै हलचल गर्न सक्दैन, श्वास-पश्वास हुँदैन तर उस्को मुटु चलिरहेको हुन्छ। उसको श्वास-प्रश्वास भेन्टिलेटरले र मुटु औषधिले चलाई रहेको हुन्छ। यस्तो अवस्थामा दुई जना विशेषज्ञ चिकित्सकबाट मष्तिस्क मृत्यु भएको प्रमाणित गर्नुपर्छ।
अहिलेसम्म संसारमा मष्तिस्क मृत्यु पश्चात फर्किएर निको भएको बिरामीको रेकर्ड छैन। दोस्रो कुरा दाताबाट निकालिएको अंग नेपाल राष्ट्रको सम्पत्ति हो। त्यसैले जसलाई पायो त्यसलाई दिन मिल्दैन। यसको लागी नेपाल भरिका सबै बिरामीहरु जसलाई प्रत्यारोपणको आवस्यकता छ उनीहरू सबैलाई प्रतिक्षा लिष्टमा राख्नु पर्दछ। यसमा कुनैपनि पक्षपात हुनुहुुँदैन।
आजकलको समयमा सफ्टवेयरहरु पाईन्छ र त्यसैको माध्यमबाट ग्रहणकर्ता छुट्याइन्छ। जसले गर्दा मष्तिस्क मृत्यु पछि निकालिएका अंगहरु प्रतिक्षामा रहेका सबैभन्दा धेरै म्याचिङ्ग भएको बिरामीलाई दिनु पर्छ। यसको लागी एउटा छुट्टै मानव अंग प्रत्यारोपण समन्वय समिति हुनुपर्छ। यो एउटा राष्ट्रिय समिति हो र यो कुनै पनि एउटा अस्पताल वा संस्थाको हुुँदैन। यसले मष्तिस्क मृत्युपछि निकालिएका अंगहरुको बिना कुनै भेदभाव र पारदर्शी तरिकाले बितरण गर्नुपर्छ।
अब कुरा आउँछ आजसम्म मष्तिस्क मृत्यु पश्चात गरिएका अंग प्रत्यारोपणहरु किन एउटा अस्पतालमा मात्र गरिए? अरु अस्पतालहरु सक्षम नभएर हो कि ती अस्पतालहरुमा प्रत्यारोपण गर्नु पर्ने बिरामीहरु नभएर हो? यी दुबै कुराहरु होईन। मानव अंग प्रत्यारोपण नियमावलीमा के लेखिएको छ भने “मष्तिस्क मृत्यु भएका व्यक्तिबाट निकालिने कुनै पनि अंग मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले समन्वय गर्ने” भन्ने छ। यही वाक्य नै अहिलेसम्म मष्तिस्क मृत्यु पश्चात गरिने अंग प्रत्यारोपणको सबैभन्दा ठूलो बाधक हो। तसर्थ मानव अंग प्रत्यारोपण समन्वय समिति नेपाल सरकारको मातहतमा एउटा छुट्टै समिति बन्न जरुरी छ।
अब आउँछ दोस्रो कुरा, मष्तिस्क मृत्यु भएका बिरामीहरु त्यस्ता अस्पतालमा मात्र हुन्छन जहाँ राम्रा आईसीयू सेवाहरु सञ्चालित छन्। जस्तै त्रि. वि. शिक्षण अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, न्युरो सेन्टर आदि। यदि यस्ता अस्पतालहरुमा प्रत्यारोपणको लागि अंगहरु प्राप्त भयो भने र समन्वय समितीले ग्रहण कर्ता छुट्यायो भने पनि विभिन्न जाँचबुझ गर्न २४ देखि ४८ घण्टा लाग्दछ। त्यो समयसम्मको अंग दाताको उपचार खर्च र चेकजाँच गरेको कसले व्यहोर्नु पर्ने हो? ति अंग निकाल्न जाने स्वास्थ्यकर्मीको खर्च कसरी मिलाउने हो? निकालिएका अंगहरु कुन अस्पतालमा कसरी पठाउने हो जस्ता यावत् कुराहरु मानव अंग प्रत्यारोपण समन्वय समितिले व्यवस्था मिलाउनु पर्छ। अनि मात्र नेपालमा मष्तिस्क मृत्युपछिका अंग प्रत्यारोपण सफलताका साथ अघि बढ्न सक्दछ।
सुरू-सुरूको अवस्थामा जुन अस्पतालमा मष्तिस्क मृत्यु भएका व्यक्तिको अंग पाईन्छ त्यसै अस्पतालमा प्रत्यारोपणको व्यवस्था मिलाउन सके ब्रेक-थ्रु त हुने थियो । अनि बिस्तारै राष्ट्रिय पद्धतिमा यसलाई समायोजन गर्न सकिने थियो। अन्त्यमा “निष्पक्ष मानव अंग प्रत्यारोपण समन्वय समिति, आवश्यक खर्चको जोहो तथा स्वास्थ्यकर्मिको व्यवस्था”मिलाउन सकेमा त्यति गाह्रो कुरा होइन ।
➡️लेखक चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डीन (शैक्षिक तथा अनुगमन) तथा त्रि. वि. शिक्षण अस्पताल, महाराजगञ्जका युरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक हुन् ।
क्याटेगोरी : मेडिकल शिक्षा, विचारट्याग : #प्रा.डा. प्रेमराज ज्ञवाली, #सहायक डीन (शैक्षिक तथा अनुगमन)
तपाईको प्रतिक्रिया दिनुहोस