अर्थ मन्त्रालयमा ५ सहसचिवको व्यवस्थापन: प्रशासनमा आचार्य, बजेटमा राना


काठमाडौं । अर्थ मन्त्रालयमा ५ सहसचिव यताउता भएका छन् । अर्थ मन्त्रालयको बजेट महाशाखामा नरेन्द्रकुमार राना आएका छन् । प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी रामप्रसाद आचार्यले पाएका हुन् । डा. टोकराज पाण्डेलाई फ्यालेर केही हप्ता अगाडि प्रशासन महाशाखा पुगेका नारायण सापकोटा भने महालेखा नियन्त्रक कार्यालय पुगेका छन् ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेशकुमार शाक्यलाई भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि उक्त महाशाखाको जिम्मेवारी रानालाई दिइएको हो । राना भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट बजेट बनाउनका लागि अर्थ मन्त्रालय ल्याइएका व्यक्ति हुन् । अर्थमन्त्री वर्षमान पुनका विश्वास पात्र रानाले अर्थको बजेट जस्तो महत्त्वपूर्ण महाशाखा पाएका छन् ।

राष्ट्रिय निजामती किताबखानाबाट हालै अर्थ मन्त्रालय पुगेकी सुशिला अर्याललाई महालेखा नियन्त्रक कार्यालय पुऱ्याइएको हो । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अर्थ मन्त्रालय भित्रिएका रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ । भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डेलाई भ्रष्टाचार मुद्दा लागेसँगै रिक्त स्थानमा महतोलाई व्यवस्थापन गरिएको हो ।

मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित अन्तःशुल्क स्टिकरको ठेक्कामा अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेशकुमार शाक्य र भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डेलाई भ्रष्टाचार मुद्दा दायर गरेपछि अर्थको बरण्डामा रहेका सहसचिवहरु व्यवस्थापन गर्न सहज भएको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #नरेन्द्रकुमार राना, #नारायणप्रसाद सापकोटा, #सहसचिव नरेन्द्रकुमार राना, #सहसचिव रामकुमार महतो, #सहसचिव रामप्रसाद आचार्य, #सहसचिव रितेशकुमार शाक्य, #सहसचिव सुशिला अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ