सम्पत्ति शुद्धीकरणपछि राजस्व अनुसन्धान विभागका डिजी असुली धन्दा विवादमा


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक (डिजी)ले व्यापारीलाई धम्क्याएर पैसा असुली गरेको काण्ड सेलाउन नपाउँदै त्यो ‘रोग’ राजस्व अनुसन्धान विभागतिर सरेको चर्चा सुरु भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक हुँदा पुष्पराज शाहीले चलाएको धन्दा अहिले राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढातिर सरेको चर्चा सुरु भएको हो । महानिर्देशक बुढाले चलाउने मोबाइल नम्बरबाट भटाभट व्यापारीलाई फोन गरेर असुली धन्दा चलाउन थालेपछि उक्त काण्ड भुसको आगो जस्तै फैलिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई स्पष्टीकरण नै सोधेको हो ।

केही समय अगाडि व्यापरीसँग घुस ‘बार्गेनिङ’ गरेको प्रमाण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पुगेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीको तत्काल सरुवा भएको थियो । ‘सेटिङ डन’ शाही अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जगेडामा थन्किएका छन् । शाहीलाई तानेर त्यहाँ कमलप्रसाद भट्टराईलाई पठाएको धेरै भएको छैन ।शाहीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । सम्पत्तिका तत्कालीन महानिर्देशक शाहीको काण्ड र कर्तुत सेलाउन नपाउँदै राजस्वका महानिर्देशक बुढाको काण्ड सतहमा आएको हो ।

पर्यटन विभागको महानिर्देशकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै राजस्व अनुसन्धान विभाग पुगेका बुढाले बिचौलियामार्फत असुली धन्दा सुरु गरेको आरोप लागेको छ । त्यो विषयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत निगरानी बढाएको पाइन्छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक बुढा भने एकाएक सम्पर्कबिहीन बनेका छन् ।

‘केस’ मिलाउने भन्दै बिचौलिया परिचालन गरेर व्यापारी धक्याउन थालेका बुढा माओवादी सत्ताका तरमारा सहसचिव हुन् । पर्यटन विभागका महानिर्देशक हुँदा विराटनगरको एक होटलमा उनी मातहतका उपसचिव र बिचौलियाबीच बुढाको नाम लिएर घुस ‘बार्गेनिङ’ भइरहेको थियो । उक्त कुरा बुढाका शुभचिन्तकले जानकारी गराउँदा उल्टै बिचौलियाको जानकारी गराउने व्यक्तिको नम्बर दिएर त्यहाँबाट भाग्नु पर्ने अवस्था आएको खुल्न आएको थियो । पर्यटनबाट राजस्व अनुसन्धान पुगेका सहसचिव बुढाले त्यहाँ पनि त्यहिँ धन्दालाई निरन्तरता दिएको पाइन्छ ।

सुरक्षण मुद्रण केन्द्रले अनियमित तरिकाले मदिराको अन्तःशुल्क स्टिकर छपाइ गर्दा अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उनै बुढा थिए । उक्त मदिराको अन्त:शुल्क काण्डमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालदेखि आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेशकुमार शाक्य हुँदै केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसम्म भ्रष्टाचार मुद्दामा डामिए । तर, बजेट निकासा गर्ने बुढा भने उक्त अन्तःशुल्क घोटाला काण्डमा जोगिए ।

सुनिल पौडेल नेतृत्वको राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गरेको ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा अर्थ मन्त्रालयका तत्कालीन बजेट महाशाखा प्रमुख मधुकुमार मरासिनीमाथि भ्रष्टाचार मुद्दा दायर भएको थियो । उक्त नजिरलाई आधार मान्ने हो भने अन्तःशुल्क स्टिकर घोटालामा बुढाविरुद्ध पनि विशेेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुनुपर्ने हो । तर, मधुको नजिरविपरीत अख्तियारले उनलाई उन्मुक्ति दिएको पाइन्छ । अख्तियार समेत बसिसकेका बुढा अन्त:शुल्कको भ्रष्टाचार मुद्दाबाट जोगिएका छन् । राजस्वमा असुली धन्दा निरन्तरता चल्नुले उनको मनोबल झन् बढेको देखिन्छ ।

अर्थ मन्त्रालयको बजेट महाशाखामा मनपरी बजेट निकासा गरेपछि त्यहाँबाट उनी भन्सार विभागको महानिर्देशक बनेका थिए । भन्सारमा संसार भ्याएपछि पर्यटन विभाग हुँदै बुढा राजस्व अनुसन्धान विभागको कमाण्ड सम्हाल्न पुगेका हुन् । नवराज ढुंगानालाई विस्थापित गरेर राजस्व अनुसन्धान पुगेका बुढाको असुली धन्दाले अहिले निकै ‘मार्केट’ तताएको छ ।

गृह मन्त्रालय हुँदा प्रशासन र शान्ति सुरक्षा महाशाखा बसिसकेका बुढा माओवादी सत्ताका तरमारा सहसचिवमा चिनिन्छन् । उनी कास्की, मकवानपुर जस्ता जिल्लाको प्रमुख जिल्ला अधिकारी समेत भइसकेका व्यक्ति हुन् । पर्यटन विभागका हुँदा असुली धन्दाको गाइगुई हल्ला मात्र सुनिएका बुढाको राजस्व अनुसन्धान विभागमा पुग्दा उनको असुली धन्दाको असली अनुहार नै उदांगो भएको छ । उनले ‘सालोमार्फत धन्दा चलाउँदा ‘गन्धा’ भएको प्रधानमन्त्री कार्यालय कै उच्च अधिकारीहरूले टिप्पणी गर्न थालेका छन् । उक्त धन्दाले प्रतिनिधि सभामा समेत प्रवेश पाएकाले प्रधानमन्त्री दाहालले के एक्सन लिन्छन् हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #पर्यटन विभाग, #पुष्पराज शाही, #राजस्व अनुसन्धान विभाग, #राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बुढा, #सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ