विकलको शक्तिमा मात्तिएर विज्ञताको दुरुपयोग गर्दा भ्रष्टाचारमा डामिएका खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठ


काठमाडौं । जहाँ विकल पौडेल त्यहाँ शक्तिप्रसाद श्रेष्ठ । आईटी माफिया विकल पौडेलको शक्तिमा आईटीका ठेक्कामा सार्वजनिक खरिद विज्ञ शक्तिले आफ्नो विज्ञताको दुरुपयोग गर्दै आएका थिए । विकल पौडेल नेतृत्वको सुरक्षण मुद्रण केन्द्रको अन्त:शुल्क स्टिकर ठेक्का घोटालाले पनि त्यो कुरा पुष्टि गर्छ ।

आजभन्दा १६ वर्ष अगाडि लेखाको उपसचिवबाट अवकाश पाएपछि शक्ति खरिद विज्ञका रूपमा कहलिए । कतिसम्म भने शक्तिलाई खरिद परामर्शदाता नियुक्त गरेपछि उक्त खरिद र बोलपत्र कागजातमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतले समेत आँखा चिम्लिदिन्छ भन्ने मान्यता र चर्चा थियो । त्यसैलाई भरपुर उपयोग गर्दै विकलले खरिद विज्ञ शक्तिलाई आफू अनुकूल प्रयोग गर्दै आए । विकलको शक्तिको आडमा शक्तिले आफ्नो विज्ञताको चरम दुरुपयोग गरे । सार्वजनिक खरिद कानुनको भावना होइन कि विकलको चाहना अनुसारको राय र बोलपत्र कागजात तयार गर्न शक्तिले आफ्नो विज्ञतालाई नै तिलाञ्जली दिँदै आएको आरोप लाग्ने गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतमा हालै दायर गरेको अन्तःशुल्क स्टिकर घोटाला सम्बन्धी भ्रष्टाचार मुद्दामा शक्तिलाई पनि प्रतिवादी बनाइएको छ । हाल काठमाडौं महानगरपालिका वडा नम्बर ९ सिनामंगल बस्दै आएका ७४ वर्षीय शक्तिलाई सुरक्षण मुद्रण केन्द्रको तत्कालीन खरिद परामर्शदाता ( सेवा करार)का हैसियतमा उक्त भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएको देखिन्छ । मुख्यसचिव डा. बैकुण्ठ अर्याल, विकल पौडेल, अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेशकुमार शाक्य, शक्तिसहितका ११ जना व्यक्ति र प्रिन्ट सेल कम्पनीलाई प्रतिवादी कायम गरी अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियार र अदालतको आँखामा छारो हाल्दै आएका शक्ति अनन्तः फन्दामा परेका छन् ।

शक्तिविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको ‘स्टान्डर्ड विडिङ डकुमेन्ट’मा सारभूत रूपमा फरक पर्नेगरी अन्तःशुल्क स्टिकर छपाइ तथा आपूर्तिका लागि त्रुटीपूर्ण बोलपत्र कागजात तयार पारेको अख्तियारको आरोप छ । अझ रोचक त अन्तःशुल्क स्टिकर ठेक्काको बोलपत्र मूल्याङ्कन समितिमा रहेर मूल्याङ्कन प्रक्रियामा समेत उनी सहभागी भएका पाइन्छ ।

पूर्व सचिवहरु सुरेश प्रधान, रमेश शर्मा कै हाराहारीमा सार्वजनिक खरिद विज्ञका रुपमा परिचित पूर्व उपसचिव शक्तिले विकलको स्वार्थ अनुसार काम गरेको प्रस्टै देखिन्छ । विकल पौडेलको पिछलग्गु भएर इम्बोस्ड नम्बर प्लेट, राहदानी, राष्ट्रिय सूचना प्रविधि केन्द्र, आन्तरिक राजस्व विभाग, अख्तियार, अदालत, सुरक्षण मुद्रण केन्द्र, सञ्चार मन्त्रालय जस्ता दर्जनौं निकायमा आईटीका ठेक्कामा शक्तिले खरिद परामर्शदाता भएर काम गरेका छन् । विकलले जुनसुकै ठेक्कामा परामर्शदाताका रूपमा डोटेली शक्तिलाई अघि सार्दै र प्रयोग गर्दै आएका छन् । रासायनिक मल खरिदको बोलपत्र कागजात तयार पार्ने जिम्मेवारी पनि उनै शक्तिले पाए ।

मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालयसँग पनि आवद्ध रहेका शक्तिले आईटी माफिया विकलको मतियार बनेर आफ्नो विज्ञता दुरुपयोग गर्दा भ्रष्टाचारमा डामिएका छन् । विकलसँग मिलेर आईटीका ठेक्कामा अस्वभाविक रुपमा दशौं गुना बढी लागत अनुमान तयार पार्ने मतियार हुन् शक्ति । त्यसैले विकल र शक्ति जोडिएका अन्य खरिदमा पनि अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातक र भारतको रोयलखण्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका शक्ति यो क्षेत्रमा २० वर्ष बढी देखि कार्यरत छन् । विश्व बैंकको तर्फबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा खरिद विज्ञको रुपमा पनि उनले काम गरेका थिए । एसियाली विकास बैंक, जाइका, युएस एड, डिएफआईडीले नेपालमा लगानी गरेका आयोजनामा समेत खरिद विज्ञका रुपमा काम गरिसकेका शक्तिले आफ्नो सम्पूर्ण विज्ञता विकलको स्वार्थमा समर्पण गरेको पाइन्छ । उनले आफ्नो विज्ञता कै धज्जी उडाएर आईटी माफिया विकलको मतियार बनेको देखिन्छ । भ्रष्टाचारको आहालमा चुलुम्म डुबेपछि आफ्नो विज्ञताको कतिसम्म दुरुपयोग गर्छन् भन्ने कुरा शक्तिलाई हेरे पुग्छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #अन्तःशुल्क स्टिकर भ्रष्टाचार, #विकल पौडेल, #सार्वजनिक खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ