भीमकान्त भण्डारीका ‘एस-म्यान’ अनिल झालाई नेपाल टेलिकमको एमडी बनाउने खेल


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रिक्त नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्ति प्रक्रिया अघि बढाएको छ । नेपाल टेलिकमका तत्कालीन एमडी सुनिल पौडेल विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपनि नयाँ एमडी नियुक्तिको तयारी भएको हो ।

नेपाल टेलिकमको एमडीका लागि १७ जनाले आवेदन दिएकोमा १६ जना अन्तर्वार्ताका लागि योग्य भएका छन् । उनीहरूको २० गते शुक्रबारदेखि व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यक्रम तय भएको छ । नेपाल टेलिकमको एमडी बन्नका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका एमडी अनिलकुमार झा, निमित्त एमडी संगीता पहाडी, नेपाल टेलिकमका पूर्वएमडी बुद्धिप्रसाद आचार्यलगायत प्रतिस्पर्धामा देखिन्छन् ।

सरकार फेरिने प्रक्रिया सुरू भएपछि सञ्चार मन्त्रालयले नेपाल टेलिकमको एमडी नियुक्ति प्रक्रिया अघि बढाएको हो । त्यसका लागि २० गतेदेखि २२ गतेसम्म तीन दिनका लागि व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समय छुट्याएको छ ।

नेपाल टेलिकमको एमडीका लागि प्रमुख दाबेदार अनिलकुमार झाको पहिलो दिन नै व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका एमडी समेत रहेका झालाई नेपाल टेलिकमको एमडी बनाउन तीब्र लबिइङ र चलखेल रहेको बुझिन्छ ।

नेपाल टेलिकमको एमडीका मुख्य दाबेदार झा विध ल्याबका मालिक भीमकान्त भण्डारी र नवीन तुलाधरका खास मान्छे हुन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सुन तस्करीको अर्को चरणको छानबिन थालेपछि भीमकान्त नेपाल बाहिर बस्दै आएका छन् । तर, अनिललाई नेपाल टेलिकमको एमडी बनाउन उनका ‘बिजनेस पार्टनर’ नवीन सक्रिय रहेको पाइन्छ ।

केन्द्रका एमडी झा र ललितपुरको नेपाः हिमा ट्रेड लिंक प्रालिका मालिक समेत रहेका नवीनको सेटिङमा  जनक शिक्षामा कक्षा ११ र १२ को पुस्तक छपाइका लागि ७० ग्रामको कागज ल्याउन ठेक्का सम्झौता भएको थियो ।  ललितपुरको नेपाः हिमा ट्रेड लिंक प्रालिसँग गत भदौ २७ गते एक हजार मेट्रिकटन कागज ३० दिनभित्र र थप पाँच मेट्रिकटन गरी कूल एक हजार पाँच मेट्रिकटन कागज आउँदो माघ ४ गतेसम्म ल्याइसक्नुपर्ने सम्झौता गरेको थियो। तर, भीमकन्त-नवीन जोडिएको कम्पनीले गुणस्तरहीन कागज आपूर्ति गरेको तथ्य खुलेको थियो । त्यो बेला ४ ट्रक कागज त शिक्षा मन्त्रालयले प्रहरी लगाएरै नियन्त्रणमा लिएको थियो ।

भीमकान्त-नवीनको डिजाइनमा जुनसुकै हदसम्म पनि जान सक्ने उनै अनिललाई नेपाल टेलिकमको एमडी बनाउन नेपाल टेलिकमको अध्यक्ष समेत रहेका सञ्चार सचिव रामकृष्ण सुवेदी पनि लागेको आरोप लागेको छ । शिक्षा सचिव समेत रहिसकेका सुवेदी अनिलको पक्षमा रहेको नेपाल टेलिकम कै अधिकारीहरु बताउँछन् । त्यसैले कार्यविधि नै परिवर्तन गरेर अनिलको अनुकूल बनाइएको छ । जसरी पहिला सुनिल अनुकूल बनाइएको थियो । त्यसैले अनिल नै नेपाल टेलिकमको एमडी बन्ने उच्च सम्भावना देखिन्छ ।

अझ रोचक कुरा त छनौट समितिमा विज्ञ सदस्यका रूपमा पूर्वसञ्चार सचिव हरिप्रसाद बस्याललाई राखिएको छ । उनी बिलिङ ‘सिस्टम’लगायतका घोटालामा जोडिएका व्यक्ति हुन् । नेपाल टेलिकममा हालीमुहाली गरिसकेका बस्याललाई समितिमा राख्नु रहस्यमय मात्रै छैन स्वार्थ बाझिने विषय पनि बनेको छ ।

नवीनका लागि विकल पौडेल, सुनिल पौडेल र अनिलकुमार झा उस्तै सम्बन्ध स्थापित भएका व्यक्ति हुन् । विकल र सुनिललाई बोकेझै उनले अनिललाई पनि नेपाल टेलिकमको एमडी बनाउन मरिहत्ते गरेको पाइन्छ । माफियाले बनाएका एमडी सुनिलको हालत निकट भविष्यमै अनिलको नहोला भन्न सकिन्न । तर, नेपाल टेलिकमको एमडी नियुक्तिको खेल भने सहज देखिन्न ।

 

क्याटेगोरी : समाचार
ट्याग : #अनिलकुमार झा, #नवीन तुलाधर, #नेपाल टेलिकम एमडी, #भीमकान्त भण्डारी, #सुनिल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ