माओवादी सत्ताका १२ भाइ तरमारा सहसचिवहरू


समाचार टिप्पणी

काठमाडौं । शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी अपवादबाहेक सत्ताको चास्नीमा रमाइरहेको छ । माओवादी जनयुद्धका नाममा नेताहरूले जति सत्ता लाभ लिएका छन् त्योभन्दा बढी सत्ताको चास्नीमा उक्त पार्टीको फेरो समातेका कर्मचारीहरू डुबेका छन् ।

पछिल्लो समय माओवादी निकट सीमित कर्मचारीले सत्ताबाट असीमित फाइदा लिइरहेको देखिन्छ । माओवादी निकट भएर सत्ताको फाइदा उठाइरहेका सहसचिवहरूको विषयमा स्वास्थ्य लाइभले खोजी गर्ने प्रयास गरेको छ । उनीहरुले माओवादी सत्ताबाट कसरी लाभ लिइरहेका छन् भन्ने विषयलाई उजागर गर्न खोजिएको हो ।

सर्वोच्च अदालतले एक फैसला मार्फत सधैंभरी लाभ लिइरहनेलाई तरमारा वर्ग भनेको छ । माओवादी सत्तामा पनि त्यस्ता तरमारा सहसचिवहरु देखा परेका छन् ।

 

यी हुन् माओवादी सत्ताका तरमारा सहसचिवहरू

 

१, चक्रबहादुर बुढा :

चक्रबहादुर बुढा माओवादी सत्ताबाट सबैभन्दा बढी फाइदा लिने सहसचिवमा पर्छन् । गृह र अर्थ जस्ता मन्त्रालयमा एकछत्र राज गरिसकेका बुढा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका छन् ।

भिनाजु भनेर सम्बोधन गर्ने बिचौलिया उपेन्द्र शाही मार्फत व्यापारीसँग घुस डिलिङ गरेको भनेर विवादमा परेका बुढालाई प्रधानमन्त्री निकट उच्च व्यक्तिहरूकै संरक्षण रहेको बताइन्छ । बुढाले पर्यटन विभागको महानिर्देशक हुँदा पनि बिचौलिया मार्फत होटल र क्यासिनोबाट बिचौलिया मार्फत राम्रै समृद्धि हासिल गरेको आरोप लाग्ने गरेको छ । पर्यटन विभागमा जानु अगाडि उनी मालदार ठाउँ मानिने भन्सार विभागको महानिर्देशक थिए । बुढा अर्थ मन्त्रालयको आकर्षक मानिने बजेट तथा कार्यक्रम महाशाखा प्रमुख र प्रशासन महाशाखा प्रमुख भइसकेका व्यक्ति हुन् ।

माओवादीले गृह मन्त्रालय लिँदा गृहको शान्ति सुरक्षा र प्रशासन महाशाखा प्रमुख भएर पनि सहसचिव बुढाले काम गरिसकेका छन् । मकवानपुर र कास्कीको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका बुढाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बनाउँदा मुआब्जा वितरणमा राम्रै चलखेल गरेको चर्चा सुनिन्छ । सहसचिव बुढा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख समेत भएका व्यक्ति हुन् ।

२०७१ फागुनमा सहसचिव भएका बुढा माओवादी सत्ताका प्रमुख तरमारा व्यक्ति हुन् । उनलाई अहिले पुष्पराज शाही भाग-२ पनि भनिन थालेको छ ।

२, नवराज ढुंगाना :

भारतको कोलकातास्थित महावाणिज्यदूत भएर जाने तयारीमा रहेका माओवादी सत्ताका तरमारा सहसचिव नवराज ढुंगानालाई अहिले नराम्रो धक्का लागेको छ । राजस्व अनुसन्धान विभाग चक्रबहादुर बुढालाई जिम्मा लगाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै परराष्ट्र मन्त्रालय पुगेका सहसचिव ढुंगाना पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेसँगै अलमलमा परेका छन् ।

नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेर सरकारको नेतृत्वबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘आउट’ हुने भएपछि माओवादी सत्ताका तरमारा सहसचिव ढुंगानाको कोलकात्तामा महावाणिज्यदूत भएर जाने सपना चकनाचुर हुने अवस्था आएको हो ।

महालेखा नियन्त्रक कार्यालय, वीरगञ्ज भन्सार कार्यालय प्रमुख हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी सचिव भइसकेका ढुंगाना राजस्व अनुसन्धान विभाग हुँदै पुन: प्रधानमन्त्री कार्यालयमा फन्को हानेका थिए । उक्त फन्कोको रन्को सेलाउन नपाउँदै उनी परराष्ट्र मन्त्रालय पुगे । कोलकत्तामा महावाणिज्यदूत भएर जानका लागि नारायणप्रसाद भट्ट र उनका उत्तराधिकारी अर्जुन भण्डारी समेत लागेपछि नवराजको कुनै राजले काम गरेन । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रामेछापको प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई परराष्ट्रमा भित्र्याउन खोज्दा नवराजहरू महावाणिज्यदूत बन्नबाट बञ्चित हुनुपर्ने अवस्था आएको छ ।

तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको निजी सचिव भएर काम गरेका नवराज पनि माओवादी सत्ताका तरमारा सहसचिवमा चिनिन्छन् ।

३, रुद्रप्रसाद पण्डित :

जम्मा २/३ वर्ष जागिर भएका सहसचिव रुद्रप्रसाद पण्डित अहिले पर्यटन विभागको महानिर्देशक छन् । चक्रबहादुर बुढा राजस्व अनुसन्धानको महानिर्देशक बनेर गएपछि पण्डित उनको पदचाप पछ्याउँदै पर्यटन विभागको महानिर्देशक बन्न पुगेका हुन् । नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनाएका पण्डितलाई बालकुमारी घटनामा मान्छे मरेपछि कारबाहीस्वरूप ललितपुरको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालय तानिएको थियो । माओवादी सत्ताका तरमारा सहसचिव भएकाले तत्कालीन प्रमुख जिल्ला अधिकारी पण्डितलाई उक्त घटनामा कुनै कारबाही नगरी उल्टै गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनाइयो ।

गृह मन्त्रालयको नेतृत्वबाट नारायणकाजी हटेर रवि लामिछाने आएपछि पण्डित पर्यटन विभागको महानिर्देशक भएर गएका हुन् । पण्डित ललितपुरको प्रमुख जिल्ला अधिकारी हुनु अगाडि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक, सहकारी विभागको रजिष्ट्रार जस्ता महत्त्वपूर्ण जिम्मेवारीमा थिए । माओवादी सत्तामा मालदार अड्डाको नेतृत्व गर्ने सहसचिवको अग्र पङ्तीमा पण्डित पनि पर्छन् ।

४, पुष्पराज शाही :

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक हुँदा उदण्ड मच्चाएका माओवादी सत्ताका तरमारा सहसचिव पुष्पराज शाही अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्किएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट चिनको ग्वाङझाउस्थित महावाणिज्यदूत ताकेका शाही उत्ति गर्दा खतिमा परेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक हुँदा कर्मचारीलाई ह्यारेस गरेर व्यापारीसँग बार्गेनिङ गर्ने शाही डन सहसचिवमा चिनिन्छन् । कर्मचारी वृत्तमा ‘बन मान्छे’ उपमाले चिनिने शाहीले सम्म्पत्तिमा हुँदा त्यस्तै व्यहोरा देखाएको आरोप छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय हुँदै सम्पत्ति पुगेका सहसचिव शाहीले साह्रै आपत्ति खेलाएका थिए । अध्यागमनमा पनि उनको उस्तै ताल रहेको भुक्तभोगी कर्मचारीहरु सुनाउँछन् । मातृका यादव उद्योग मन्त्रालय हुँदा उद्योगको महत्त्वपूर्ण महाशाखामा शाहीको हालीमुहाली थियो । असम्बन्धित कार्यक्रममा पनि उनी विदेश उड्न मरिहत्ते गर्थे । तर, सहसचिव शाहीलाई त्योबेला अमेरिकाले त्यो बेला भिसा नै नदिएको कुरा अझै चर्चामा छ ।

उपसचिव हुँदा माओवादी निकट भएर दोलखा, जाजरकोट लगायतका जिल्लाको सिडिओ भएर लाभ लिएर शाही सहसचिव भएपछि मालदार र महत्त्वपूर्ण अड्डाको हाकिम हुन सफल भए । तर, अहिले उनको दिन दशा नराम्रोसँग बिग्रिएको छ ।

५, ईश्वराज पौडेल :

कोलकत्ताको महावाणिज्यदूत रहेका सहसचिव ईश्वरराज पौडेल यहीँ साउनमा कार्यकाल सकिएर घर फर्किँदैछन् । माओवादी निकट भएर सहसचिव पौडेलले काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत, अध्यागमन विभागको महानिर्देशक हुँदै कोलकत्ताको महावाणिज्यदूत समेत पड्काउन सफल भए ।

पुरानाे गृह मन्त्रालयको सिसा हाल्नेदेखि अध्यागमन प्रणाली सुधारका नाममा राम्रै लाभ लिनेमा पौडेलको नाम आउँछ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले अध्यागमन विभागको महानिर्देशक बनाएका सहसचिव पौडेल त्यहाँबाट कोलकत्ता जान सफल भएका थिए । त्यसैले उनलाई माओवादी सत्ताका तरमारा सहसचिवका रुपमा चिन्ने गरिन्छ ।

६, कमलप्रसाद भट्टराई :

प्रशिक्षण दिएर माओवादी बनाइएको भनेर चर्चित कमलप्रसाद भट्टराई माओवादी सत्ताका अर्का तरमारा सहसचिव हुन् । विवादित पुष्पराज शाहीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट हटाएपछि भट्टराई उक्त विभागको कमाण्ड सम्हाल्न पुगेका छन् ।

सामान्य प्रशासनमा हुँदा माओवादी निकट कर्मचारी भएर भाइलाई बैदेशिक  रोजगार विभाग (बैरो)मा सरुवा गरेको थाहा पाएपछि सहसचिव भट्टराईलाई माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले कारबाही स्वरुप राष्ट्रपति कार्यालयमा सरुवा गरिदिएको थियो । त्यहाँबाट गोरखाको प्रमुख जिल्ला अधिकारी भएर गएका भट्टराईले प्रचण्डको परिवारसँग सेटिङ मिलाएर हङकङको महावाणिज्यदूत पड्काए ।

भन्सार विभागको महानिर्देशक, पर्यटन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख रहिसकेका भट्टराई चाकडीमा माहिर मानिन्छन्। तात्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी बिदाई हुँदा सहसचिव भट्टराईले उनलाई तपाईं प्रधानमन्त्री हुनुपर्ने मान्छे हो भनेर चाकडी गरेपछि मोदीले नचाहिँदो कुरा गर्नु हुन्छ भनेर हप्काएका थिए । तत्कालीन सामान्य प्रशासन सचिव विनोदप्रकाश सिंह बिदामा रहेका बेला भट्टराईले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत जथाभावी सरुवा गरेको थाहा पाएपछि सचिव सिंहले कारबाही गर्ने चेतावनी दिएका थिए । त्यसपछि ‘ब्याक’ भएका सहसचिव भट्टराई मालदार अड्डाको नेतृत्वमा पुगेका छन् ।

७, तारानाथ अधिकारी :

कास्कीको एलडिओ र सिडिओ दुबै महत्त्वपूर्ण ठाउँको नेतृत्व गर्न पाउने तारानाथ अधिकारी पनि माओवादी सत्ताका तरमारा सहसचिवमा चिनिन थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नातेदार समेत रहेका सहसचिव अधिकारी अहिले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आर्थिक मामिला हेर्ने कुटनीतिज्ञ (इकोनोमिक मिनिस्टर)को रूपमा कार्यरत छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पर्यटन विभागको महानिर्देशक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हुँदै दिल्ली दूतावासमा इकोनोमिक मिनिस्टर बन्न पुगेका अधिकारी माओवादी सत्ताबाट लाभ लिने सहसचिवमा पर्छन् । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्दा अधिकारी उनको निजी सचिवालयमा समेत बसेका व्यक्ति हुन् ।

८, रामप्रसाद आचार्य :

हाल अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव रामप्रसाद आचार्य माओवादी सत्ताका अर्का तरमारा सहसचिव हुन् । उनी माओवादी निकट कर्मचारी भएर काठमाडौंको प्रमुख जिल्ला अधिकारीदेखि, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकसम्म पड्काउन सफल व्यक्ति हुन् ।

अर्थमन्त्री वर्षमान पुनले बजेट लेख्ने टिममा राखेका सहसचिव आचार्यलाई प्रशासन महाशाखा प्रमुख बनाएका छन् । उनले आन्तरिक राजस्व विभागको महानिर्देशक ताकिरहेको अवस्थामा माओवादी नै सत्ताबाट आउट हुने भएको छ ।

९, झलकराम अधिकारी :

माओवादी सत्ताबाट फाइदा उठाउने अर्का तरमारा सहसचिव हुन् झलकराम अधिकारी । अध्यागमन विभागको महानिर्देशक हुँदा सुन तस्करका नाइके दाबा छिरिङसँगको सम्बन्धका कारण उनी निकै विवादमा आए । रवि लामिछानेले झलकरामको सुन तस्कारीमा ‘क्लु’ भेटाएको दाबी गरेपनि गृहमन्त्री भएपछि उनले कुनै कारबाही गर्न सकेनन् ।

झलकराम राजस्व अनुसन्धान विभागको महानिर्देशक समेत भइसकेका व्यक्ति हुन् । उनी ठूला करदाता कार्यालयका प्रमुख समेत भए । झलकराम अहिले प्रदेशतिर गएर जागिर जोगाउन लागिपरेका छन् । माओवादी सत्ताका तरमारा सहसचिव झलकरामको हालत अहिले हराम देखिएको छ ।

१०, अर्जुन भण्डारी:

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी सचिव अर्जुन भण्डारी माओवादी सत्ताका तरमारा नयाँ सहसचिव हुन् । उनी अहिले कोलकत्ता वा न्युयोर्कको महावाणिज्यदूत भएर जाने कसरतमा छन् । तर, प्रचण्ड नेतृत्वको सरकार ढलेपछि उनको पनि सपना चकनाचुर भएको छ ।

उपसचिव हुँदा तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलको निजी सचिव भएका भण्डारी चक्रपाणि खनाल, जनार्दन शर्मालगायतको निजी सचिव र सचिवालयमा बसेर काम गरिसकेका व्यक्ति हुन् ।

प्रधानमन्त्री दाहालको निजी सचिवमा बसेर माओवादी सत्ताका तरमारा कुन सहसचिवलाई कहाँ सेटिङ गर्ने भन्नेमा भण्डारीको मुख्य भूमिका हुने चर्चा छ । पहिला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाही र अहिले राजस्व अनुसन्धान विभागको महानिर्देशक चक्रबहादुर बुढालाई संरक्षण गर्ने सहसचिव अर्थात् प्रधानमन्त्री दाहालका निजी सचिव भण्डारी नै रहेको आरोप छ ।

नवराज ढुंगाना राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर गएपछि भण्डारी प्रधानमन्त्री दाहालको निजी सचिव बनेर आएका थिए । कलकत्ता जानेमा पनि ढुंगाना र भण्डारीबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।

११, ढुण्डीप्रसाद निरौला:

परिवार अमेरिका पठाएर नेपालमा एक्लै बस्दै आएका ढुण्डीप्रसाद निरौला माओवादी सत्ताका तरमारा सहसचिवमा चिनिन थालेका छन् । उपसचिवले हैर्दै आएको नाथममा पुगेका उनी वर्षमान पुन अर्थमन्त्री बनेसँगै भन्सार विभागको महानिर्देशक बनेर गएका छन् ।

ललितपुरको प्रमुख जिल्ला अधिकारी, मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख समेत भइसकेका निरौला पनि माओवादी सत्ताबाट लाभ लिनेमा पर्छन् । एक वर्ष पनि जागिर अवधि बाँकी नहुँदा उनले भन्सारमा संसार खडा गर्न भ्याएका छन् ।

१२, नारायणप्रसाद भट्ट :

कहिले माओवादी त कहिले कांग्रेस भएर उदाउने नारायणप्रसाद भट्ट अर्का तरमारा सहसचिव हुन् । आफ्नो फाइदाका लागि जे पनि गर्न तयार हुने सहसचिव भट्ट ग्वाङझाउ वा कलकत्ताको महावाणिज्यदूत बन्न पराराष्ट्र पुगेका छन् । उस्तै परे उनी बेइजिङस्थित दूतवासमा जान पनि तयार रहेको बुझिन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रशासन महाशाखा हेर्ने सहसचिव भट्ट निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्यालका विश्वास पात्र हुन् । उनलाई कोलकत्ताको महावाणिज्यदूत बनाउन अर्यालको निकै जोडबल थियो । अर्यालकै इशारामा सहसचिव भट्टले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक पुष्पराज शाहीलाई प्रयोग गरेर पत्रकारलाई अनावश्यक दुःख दिन लगाउने गरेको आरोप लाग्दै आएको छ ।

चितवन र गोरखाको प्रमुख जिल्ला अधिकारी भइसकेका भट्ट माओवादी सत्ताबाट निकै लाभ लिने सहसचिवमा पर्छन् ।

माओवादी सत्ताबाट लाभ लिने तरमारा सहसचिवहरुमा अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नरेन्द्र राना, आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, कारागार विभागका महानिर्देशक जयनारायण आचार्य, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराई, आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख गोगनबहादुर हमाल,  बाग्लुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीलगायत रहेका छन् ।  त्यस्तै भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका रितेशकुमार शाक्य, रुद्रसिंह तामाङ, वीरेन्द्रदेव भारती पनि माओवादी सत्तामा तरमारा सहसचिवका रुपमा चिनिन्छन् ।

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #अर्जुन भण्डारी, #ईश्वराज पौडेल, #कमलप्रसाद भट्टराई सहसचिव, #चक्रबहादुर बुढा, #झलकराम अधिकारी सहसचिव, #ढुण्डीप्रसाद निरौला, #तारानाथ अधिकारी सहसचिव, #नवराज ढुंगाना सहसचिव, #नारायणप्रसाद भट्ट, #पुष्पराज शाही, #रुद्रप्रसाद पण्डित सहसचिव, #शिवलाल तिवारी सहसचिव, #सहसचिव रामप्रसाद आचार्य, #सहसचिव रितेशकुमार शाक्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ