स्वास्थ्यमन्त्री प्रदिप यादवको पार्टी सरकारबाट बाहिरियो, मन्त्रीहरूले राजीनामा दिने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप यादवको पार्टी सरकारबाट बाहिरिएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको हो । उक्त निर्णयसँगै जसपा सरकारबाट बाहिर भएको छ ।

जसपाले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समर्थन फिर्ताको जानकारी पठाएको छ । जसपाले आजैका मितिदेखि लागू हुने गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समर्थन फिर्ता लिएको हो ।

पार्टीले निर्णय गरेसँगै स्वास्थ्यमन्त्री यादवसहितका मन्त्रीहरु सरकारबाट फिर्ता हुने भएका छन् । जसपाबाट यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री रहेका छन् । उनीहरूको आजै राजीनामा दिने तयारी गरेका छन् । उक्त विषय स्वास्थ्यमन्त्री यादवले प्रधानमन्त्री दाहाललाई भेटेर जानकारी गराइसकेका छन् ।

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको कुरा सभामुखलाई समेत जानकारी गराएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट एमालेका मन्त्रीहरू पनि  राजीनामा दिएर बाहिरिसकेका छन् । रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी भएका एमालेका मन्त्रीहरूले पार्टीको निर्देशन अनुसार बुधवार नै राजीनामा दिएका हुन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भने तत्काल सरकारबाट नहट्ने भएको छ । राजीनामा दिन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू प्रधानमन्त्री दाहालले सहयोग गर्नु पऱ्यो भनेपछि राजीनामा नदिई फर्किएका छन् । यसैबीच प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिन भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ