धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ मकाजुसँग अस्ट्रियाको पिआर रहेको आशंका


काठमाडौं । धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ मकाजु श्रेष्ठसँग अस्ट्रियाको पिआर रहेको आशंका गरिएको छ । डा. मकाजु र उनको श्रीमती दुबैजना अस्ट्रियाको नागरिक रहेको आशंका गरिएको हो ।

अस्ट्रियाको भियना विश्वविद्यालयबाट विशेषज्ञ चिकित्सक बनेका मकाजु भियनास्थित अस्पतालमा समेत लामो समय काम गरेका थिए । मकाजुले अस्ट्रियन नागरिक एहेफ्राउ एन्ड्रियासँग बिबाह गरेका हुन् । त्यसैबेलादेखि उनीसँग अस्ट्रियाको पिआर रहेको दाबी गरिएको छ ।

काठमाडौं विश्वविद्यालय उपकुलपति (भिसी) समेत भइसकेका धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. मकाजुसँग अस्ट्रियाको पिआर रहेको विषय अहिले सतहमा आएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र जस्ता निकायमा उजुरी परेको हो । अख्तियारले पिआरधारीलाई सरकारी/सार्वजनिक पदमा नियुक्ति नगर्न नेपाल सरकारलाई निर्देशन दिएलगत्तै डा. मकाजुविरुद्ध समेत उजुरी परेको हो ।

अस्ट्रियाको र नेपालको दोहोर नागरिक रहेको विषयमा धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ मकाजु श्रेष्ठसँग स्वास्थ्य लाइभले बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । यो विषयमा कुरा गर्न स्वास्थ्य लाइभले पटकपटक फोन सम्पर्क गर्दा उनले नउठाएका हुन् ।

डा. मकाजुको अस्ट्रियन श्रीमती र एक छोरी रहेका छन् । इमानदारिता र पारदर्शिताको कुरा गर्ने डा. मकाजु पिआरको केसमा भने इमानदार र पारदर्शी नरहेको बुझिन्छ । उनी दुई देशको नागरिक बनेकाे आरोप छ । त्यो आरोपमा उनले इमानदारीपूर्वक यथार्थ कुरा सार्वजनिक गर्न आवश्यक देखिन्छ । अस्ट्रियाको पिआरको पारदर्शिताता डा. मकाजुले देखाउनै पर्छ । यो विषय अख्तियार जस्ता निकायमा प्रवेश गरिसकेका चाँडै थप कुरा बाहिर आउला । डा. मकाजुसँग अस्ट्रियाको पिआर भए/नभएको विषयमा सम्बन्धित निकायले निर्क्योल गर्ला । तर, अहिले उनीमाथि सार्वजनिक प्रश्न उठेकाले जवाफ भने दिनुपर्छ ।

अमेरिकाको पिआर लिएको फेला पारेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गऱ्यो । उक्त मुद्दामा उनी विशेष अदालतबाट समेत दोषी ठहर भइसकेका छन् । अख्तियारले विकललाई भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै पिआरधारीलाई सरकारी/सार्वजनिक पदमा नियुक्ति नगर्न सरकारलाई कडा निर्देशन दिएको छ । त्यसका लागि कानुन बनाउन समेत अख्तियारले भनेको छ ।

अमेरिकाको पिआर लिएको तथ्य सार्वजनिक भएपछि समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले समेत राजीनामा दिएर टाप ठोकेकी छिन् । आफ्नै सासु उमा रेग्मी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भएका बेला मोनिका समाज कल्याण परिषद्को उपाध्यक्षमा नियुक्त भएकी थिइन् । उनीसँग अमेरिकाको पिआर रहेको विषयमा अख्तियारमा उजुरी परेपछि राजीनामा दिएर हिँडेकी हुन् ।

नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक प्रकाशबहादुर शाहीसँग पनि अस्ट्रेलियाको पिआर रहेको पाइएको थियो । उक्त विषय अख्तियारमा पुगेपछि कार्यकारी निर्देशक शाही पनि राजीनामा दिएर सुइँकुच्चा ठोकेका छन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठसँग पनि दोहोरो नागरिकता रहेको र दुरुपयोग गरेको विषयमा उजुरी परेको छ । त्यस्तै रक्षा सचिव किरणराज शर्मा पनि अमेरिकन पिआरधारी रहेको तथ्य सार्वजनिक भएको छ । यद्यपि उनले आफूले अमेरिकाको पिआर त्यागिसकेको दाबी गरेका छन् ।

श्रीमतीलाई डिभी परेर ३/४ वर्ष अमेरिका पलायन भएका र पिआर बनाएका शर्मा अहिले पनि रक्षा जस्तो संवेदनशील मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका छन् । नेपालको राज्य संयन्त्र कमजोर हुनुको फाइदा उनले उठाएका छन् । नेपालको राज्य संयन्त्र संवेदनशील हुन्थ्यो भने एक पटक अमेरिकाको पिआर लिइसकेका शर्मालाई रक्षासचिव जस्तो संवेदनशील जिम्मेवारी दिइँदैन थियो ।

नेपाल सरकारका अन्य केही सचिव, उपसचिवसँग पनि विभिन्न मुलुकको पिआर रहेको आशंका गरिएको छ । त्यो विषयमा अख्तियार लगायतका विभिन्न निकायले छानबिन गरिरहेको पाइन्छ । सांसद र मन्त्री नै विदेशी पिआरधारी हुन बिडम्बनाको कुरा हो ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #अमेरिकी पिआर, #अष्ट्रेलिया पिआरधारी, #अस्ट्रियन पिआरधारी, #एहेफ्राउ एन्ड्रिया, #किरणराज शर्मा रक्षा सचिव, #डा. रामकण्ठ माकाजु, #प्रकाशबहादुर शाही, #मोनिका अधिकारी भट्टराई, #विकल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ