“युनोप्स”सँग भएको स्वास्थ्य सामग्री खरिद सम्झौतामा अख्तियारले थाल्यो छानबिन

समाचार लेख्दा निदाएका सचिवलाई अख्तियारले ब्युँझायो, समितिमा रहेका कर्मचारीको मूल्याङ्कन प्रतिवेदन पछि 


काठमाडौं  करोडौं रकम भ्रष्ट्राचार गर्ने गरी “युनोप्स”सँग भएको खरिद सम्झौतामा अख्तियारले छानबिन अगाडि बढाएको छ । कोरोना महामारीको समय देखाएर सरकारी निकायबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिद नगरेर सरकारी अधिकारीले बिनाप्रतिस्पर्धा सिधै “युनोप्स” लाई दिएका थिए । 

तत्कालीन व्यवस्थापन महाशाखाका प्रमुख डा. भिमसिंह तिङ्करी, डा. रमेश खरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले हस्ताक्षर गरेर “युनोप्स”लाई सिधै उक्त रकम सुम्पिएका थिए । “युनोप्स”सँग गरिएको सम्झौताको विषयमा स्वास्थ्य लाइभले चरणबद्ध रुपमा समाचार र आवश्यक डकुमेन्टहरू सार्वजनिक गरेको छ । 

युएन एजेन्सीका नाममा सरकारी अधिकारीहरूसँग मिलेर गरिएका भ्रष्ट्राचारको विषयमा समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्झौता गर्ने सरकारी अधिकारीमाथि छानबिन अगाडि बढाएको छ । अख्तियारले सुरु गरेको यो ऐतिहासिक अवसरले सम्झौता गर्ने महानिर्देशकलगायत उनको टिम कानुनी कारबाहीको भागिदार बन्नैपर्ने छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्वास्थ्यको खरिदमा बढी चासो दिएको छ । आइटी माफियाहरूलाई ठेगान लगाएको अख्तियार एक ‘लट’ स्वास्थ्यका माफियामा केन्द्रित हुने देखिएको छ । अख्तियार स्रोतले बताए अनुसार स्वास्थ्यका आठ वटा खरिदमा अध्ययन भइरहेको छ । तर, त्यो भन्दा “युनोप्स”सँग मिलेर गरिएको खरिदमा ठूलो बदमासी देखेपछि यसलाई पनि उच्च प्राथमिकतामा राखेर काम अगाडि बढेको हो । 

१८ मे २०२१ मा अमेरिकी डलर ४५ लाख १७ हजार ३७८ को आर्थिक सम्झौता गरेको थियो । सम्झौता अनुसार उक्त रकमको नेपालका सात प्रदेशका तोकिएको अस्पतालमा अक्सिजन प्लान्ट खरिद, डेलिभरी, स्थापना, सञ्चालन र मर्मत गर्ने । अक्सिजन कन्सन्ट्रेटर खरिद र सात वटा जेनेरेटर खरिद गर्ने थियो ।  

उता सम्झौता गरेर रकम दिएको विभाग आफैले च.न १५४५ मिति २०७९ फागुन ३० गते नेपाल विद्युत प्राधिकरणसँग ८०० के.भि.ए को ट्रान्सफरमरको प्राविधिक स्पेसिफिकेसन  तथा लागत अनुमान तयार गर्न पत्राचार गरेको छ । स्वास्थ्य सेवा विभागको पत्रलाई आधार मानेर विद्युत प्राधिकरणले लागत अनुमान र मु.अ.क. सहित रु ३७ लाख ३७ हजार ७२१ को लागत अनुमान तयार गरि उपलब्ध गराएको  थियो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखाको मिति २०७९ फागुन १७ गते चलानी नम्बर १३०८ को पत्रबाट सामाजिक विकास मन्त्रालय , प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतलाई नेपाल विद्युत प्राधिकरणले बोलपत्रमार्फत खरिद गर्दै आएको प्रतिस्पर्धी दररेट भन्दा बढी लागत नपर्ने गरि मन्त्रालय र “युनोप्स”बिच भएको सम्झौता अनुसार खरिद तथा जडान गर्न ०७९ फागुन १४ गते सचिव स्तरिय निर्णयअनुसार पत्राचार गरिएको थियो । 

यस विषयमा स्वास्थ्य लाइभ र महालेखाले समेत प्रश्न उठाइरहेको छ । ऋण लिएको रकममध्ये ४५ लाख डलर भन्दा बढी स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले बिना प्रतिस्पर्धा सिधै “युनोप्स”लाई खर्च गर्न दिएका थिए । 

कसैसँग प्रतिस्पर्धा समेत नगराई सम्झौता गरेको रकममा युनोप्सले नेपालको लोकल बजारमा पाइने उपकरणलाई अत्यन्तै महङ्गोमा खरिद गरेको र ओभरहेड कष्ट पनि ५ करोडमाथि लिएको छ । यो युएन एजेन्सीमा लगेर घुमाउरो पारामा गरिएको ठुलो भ्रष्टाचार हो । युएन एजेन्सिमाथी तत्काल छानविन गर्न नपाए पनि “युनोप्स”मा लगेर नीतिगत भ्रष्टाचारमा सघाएका सरकारका उच्च अधिकारीहरूलाई अख्तियारले कारबाहीको दायरामा ल्याउनुको बिकल्प छैन । 

अख्तियारले कारबाही अगाडि बढाए पछि स्वास्थ्य मन्त्रालयले अन्तराष्ट्रिय समन्वय महाशाखाका प्रमुख डा. चुमन लाल, स्वास्थ्य सेवा विभागका उप सचिव भवनाथ खतिवडा र डा. समिर कुमार अधिकारी रहेको एक कमिटी गठन गरेको छ । उक्त कमिटिले खरिद प्रक्रियाबारे अनुसन्धान सुरु गरेको छ । अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखलाई संयोजक बनाउँदा स्वार्थ बाझिने विज्ञहरुको बुझाई रहेको छ । तर, स्वास्थ्य लाइभले तीनजना कर्मचारीलाई नजिकबाट नियालिरहेको छ । उनिहरुले घटनाक्रम बाहिर गएर तथ्यलाई मोडेर प्रतिवेदन बनाएको अवस्थामा तीनै जनाको विगत हेरिने छ । 

यस घटनाका पत्रहरु अख्तियारले अनुसन्धान थालेपछि शक्तिकेन्द्रको आड खोज्न थालेका छन् । स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा दिपेन्द्र रमण सिंहले कोरोनाको समय भएकाले केही कमजोरी भएको भन्दै घुमाउरो पारामा गल्ती स्वीकार गरेका छन् । 

“युनोप्स”का माफिया कोमल कार्कीले भने कसले हस्ताक्षर गर्र्यो आफूलाई जानकारी नभएको प्रतिक्रिया स्वास्थ्य लाइभलाई दिएका छन् । जुन सम्झौतामा युएन एजेन्सीमा नामुद माफियाका रुपमा परिचित कार्कीले समेत हस्ताक्षर गरेका छन् । तर, उनले आफुले नगरेको कसले गर्यो भनेर सरकारी अधिकारीलाई सोध्न टेलिफाने मार्फत सुझाएका छन् । उनको यो भनाईले हामीलाई थप अनुसन्धान तर्फ मोडिन बाध्य बनाएको छ । 

कोरोनाको समयमा खरिद गरेको बाहना बनाएका अधिकारीले तथ्य र प्रमाणसँग अनविज्ञता रहेको देखिन्छ । कोरोनाको समयमा सामग्री ल्याउने भनेर सम्झौता गरेपछि दोब्बर समय अवधिमा समेत कार्य सम्पन्न भएको छैन । अझै ११ करोड खर्च गर्न बाँकी रहेको छ । सरकारलाई अझै दिएको छैन । यसको मतलब सम्झौता कर्तालाई कोरोना सकिएको छैन ।
कन्टेन्जेन्सी , व्यवस्थापन खर्च, “युनोप्स” ‘फि’ समेत  गर्दा ऋणमा आएको सो रकममा सामग्रीको मुल्य भन्दा २२ दशमलब ५६ प्रतिशत नेपाल सरकारलाई आर्थिक भर परेको छ । अतिरिक्त व्ययभार पार्नेगरी सम्झौता गर्ने सिंह र उनका कर्मचारीबाट भरपुर गर्नुपर्छ । 

क्रमश …………….

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##UNOPS

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ