पूर्वस्वास्थ्य सचिव घिमिरे अमेरिकाको राजदूत बन्ने सम्भावना टर्दै, लोकदर्शनको पनि उहीँ हालत


काठमाडौं । अमेरिकाको राजदूतका लागि सिफारिस गरिएका पूर्वस्वास्थ्य सचिव चन्द्र घिमिरेको सम्भावना टर्दै गएको छ ।

एमालेको समर्थनमा बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सिफारिस गरेका राजदूतहरु कांग्रेसको  समर्थनमा बन्न लागेको केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता लिने भएपछि घिमिरे अमेरिकाको राजदूत बन्ने सम्भावना क्षिण बन्दै गएको हो । कांग्रेस र एमालेको समिकरण बनेपछि माओवादी नेतृत्वको सरकारले राजदूतका लागि सिफारिस गरेका नाम फिर्ता लिने निश्चित जस्तै छ ।

प्रचण्ड नेतृत्वको गत असार ७ गते सरकारले घिमिरेसहित ८ जनालाई राजदूतका लागि सिफारिस गरेको थियो । तर, उनीहरुको नाम संसदीय सुनुवाई विशेष समितिमा अहिलेसम्म नपुगेकाले राजदूतमा सिफारिस भएका ती नामहरु ‘कोमा’मा पुग्ने देखिन्छ ।

प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको कोटाबाट राजदूत भएका भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री, बेलायतका लागि ज्ञानचन्द्र आचार्य, स्पेनका लागि सर्मिला पराजुली ढकाललगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसपछि सरकारले एमाले कोटाबाट भारतका लागि लोकदर्शन रेग्मी र अमेरिकाका लागि चन्द्र घिमिरेलाई राजदूतमा सिफारिस गऱ्यो ।

त्यस्तै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार डा. शुशील प्याकुरेल दक्षिण कोरिया, पद्यरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधर डेनमार्क, नेत्रप्रसाद तिमल्सिना मलेसियाको राजदूतमा सिफारिस भएका थिए । तर, प्याकुरेलले दक्षिण कोरियाको राजदूत बन्न अस्वीकार गरिसकेका छन् ।

बेलायतमा माओवादी कोटाबाट डा. विजन पन्त र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट स्पेनमा पुष्पराज रञ्जितकार र साउदी अरबमा अबुसुफ्यान खान राजदूतका लागि सिफारिस भएका हुन् । तर, सत्ता गठबन्धन फेरिएसँगै सिफारिस भएका राजदूतहरुले कार्यभार सम्हाल्ने सम्भावना देखिँदैन ।

प्रचण्ड नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतमध्ये अमेरिकाका श्रीधर खत्री मात्र स्वदेश फर्किएका छन् । अमेरिकाको राजदूत एमाले कै भागमा परेपनि अब चन्द्र घिमिरे नभइ पूर्वपरराष्ट्रमन्त्री बिमला राई पौड्यालको सम्भावना बढी रहेको स्रोतको दाबी छ । पौड्याललाई राजदूत बनाउन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीदेखि अमेरिकाका पूर्व राजदूत डा. अर्जुन कार्की समेत सक्रिय रहेको पाइन्छ ।

भारतको राजदूतको कांग्रेसको कोटामा पर्ने भएकाले डा. शंकर शर्माले नै निरन्तरता पाउने देखिन्छ । बेलायतका राजदूतमा ज्ञानचन्द्र आचार्य कै बलियो सम्भावना छ । बेलायतको राजदूतमा सिफारिस भएका डा. विजन पन्त कांग्रेस नेता एवं गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माका छोरीज्वाँई हुन् । नाताले उनी कांग्रेस नेतृ कमला पन्तका पनि भाइ हुन् । विजन तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाका समाजिक विकास सल्लाहकार समेत भइसकेका व्यक्ति हुन् । त्यसैले उनले पनि बेलायतको राजदूतका लागि चलखेल गर्ने सम्भावना जीवितै छ । एमालेको भागमा बेलायत परे लोकदर्शनले पनि नछाड्ने बुझिएको छ । एमाले उच्च स्रोतले भने शुशिल प्याकुरेल बेलायत जान सक्ने दाबी गरेको छ ।

स्पेनकी राजदूत शर्मिला पराजुली ढकालको पनि भाग्य चम्किने सम्भावना बढेर गएको छ । जनता समाजवादी पार्टीबाट स्पेनमा पुष्पराज रञ्जितकारलाई रोकेर शर्मिलाले नै निरन्तरता पाउने अड्कलबाजी सुरु भएको छ । दक्षिण कोरियाको राजदूतमा ज्योति प्याकुरेलले नै बाजी मार्ने अवस्था आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँग अत्यान्तै निकट ज्योति श्रीलंकाका राजदूत समेत भइसकेका अर्थविद् डा. विश्वम्भर प्याकुरेलकी श्रीमती समेत हुन् । त्यसैले ज्योति पुनः दक्षिण कोरिया कै राजदूत बन्ने सम्भावना छ ।

कांग्रेस कोटाबाट इजरायलको राजदूत बनेकी कान्ता रिजाल पनि निरन्तरता पाउने सम्भावना भएकी व्यक्ति हुन् । रिजालसँगै अस्ट्रेलियाको राजदूत नियुक्त भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बहिनीज्वाईं कैलाश पोखरेलको जागिर भने धरापमा परेको छ । पोखरेललाई फिर्ता बोलाएर अमेरिकाका लागि सिफारिस भएका घिमिरेलाई अस्ट्रेलिया पठाउने सम्भावना पनि देखिन्छ ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट साउदी अरबको राजदूतमा अबुसुफ्यान खान दोहोरो नागरिकता भएको र मेनपावर व्यवसायी भएकाले उक्त पार्टी सरकारमा गएपनि उनको नाम पुनः सिफारिस हुने सम्भावना न्यून छ । साउदीको राजदूतमा सिफारिस खान जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इस्तियाक राई निकट मानिन्छन् । उनको सिफारिसलाई लिएर पार्टीभित्र पनि रडाको मच्चिएको छ ।

 

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #कान्ता रिजाल, #कैलाश पोखरेल, #चन्द्र घिमिरे, #ज्ञानचन्द्र आचार्य, #डा. विजन पन्त, #डा. शंकर शर्मा, #नेत्रप्रसाद तिमिल्सिना, #बिमला राई पौड्याल, #राजदूत कैलाश पोखरेल, #लोकदर्शन रेग्मी, #शुशिल प्याकुरेल, #श्रीधर खत्री, #सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ