ओली नेतृत्वको सरकारमा मन्त्री बन्न कांग्रेसका महामन्त्रीद्वय अनइच्छुक

उपप्रधानमन्त्री एवं रक्षामन्त्री बनेर प्रकाशमानको नेतृत्वमा जाने सम्भावना बढ्यो


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्न कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा अनइच्छुक देखिएका छन् । महामन्त्रीद्वयले ओली नेतृत्वको सरकारमा मन्त्री नबन्ने सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।

स्वास्थ्यमन्त्री समेत भइसकेका महामन्त्री थापालाई ऊर्जामन्त्री बनाउन तीव्र लबिइङ थियो । तर, महामन्त्री थापाले मन्त्री बन्न इच्छा नदेखाएपछि ऊर्जामा पूर्व महामन्त्री शशांक कोइराला निकट संखुवासभाका सांसद दिपक खड्काको भाग्य चम्किने सम्भावना बढेको छ । महामन्त्रीद्वयको समर्थनमा प्रदिप पौडेल मन्त्री बन्ने चर्चा छ । उनी स्वास्थ्यमन्त्री बनेर ओली नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना बढेर गएको हो ।

कांग्रेस महामन्त्रीद्वय ओली सरकारमा नजाने, अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि मन्त्री बन्न खासै जागर नचलाएकाले अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंह उपप्रधानमन्त्री एवं रक्षामन्त्रीमा कांग्रेसको तर्फबाट नेतृत्व गरेर जाने बुढानिलकण्ठ स्रोतको दाबी छ । कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री भइसकेकाले महामन्त्रीहरु ओली नेतृत्वको सरकारमा जाने चर्चा थियो । तर, महामन्त्रीद्वयले अनइच्छा देखाएपछि प्रकाशमानको सम्भावना बढेर गएको हो ।

कांग्रेसबाट सहमहामन्त्रीहरु जीवन परियार, बद्री पाण्डे, किशोर सिंह राठौर पनि मन्त्री बन्ने दौडमा छन् । गृहमा रमेश लेखक र परराष्ट्रमन्त्रीमा आरजु राणा देउवा जाने निश्चित जस्तै देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ