बानेश्वरको यो सेतो घर जसले प्रचण्डलाई बालुवाटारबाट खुमलटार पुऱ्यायो


काठमाडौं । मध्य बानेश्वरको भरोसा हस्पिटलबाट छेउबाट थापागाउँ निस्कने बाटो छ। जसलाई लाखेचौर मार्ग भनिन्छ। पुरानो ह्वाइट हाउस कलेजबाट करिब डेढ सय मिटर अगाडि बढेपछि पाठशाला स्कुल आइपुग्छ । त्यो स्कुलसँगै जोडिएर सेतो रङको साढे ४ तले भवन छ। उक्त घर प्रहरी हिरासतमा रहेका बेचन झाको हो। हेर्दा आलिसान देखिने उक्त घरको कथा रोचक छ। हाल प्रहरी हिरासतमा रहेका बेचनको घरको रङ सेतो भएपनि उक्त घर बन्दा कालो धनको प्रयोग भएको चर्चा सुनिन्छ।

प्रहरी हिरासतमा रहेका बेचन झाको बानेश्वरमा रहेको घर

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन मन्त्रिपरिषद्बटै निर्णय गराउने भनेर रामशरण केसीसँग २ करोड रुपैयाँ बुझेका बेचन गत असार १४ गते बेलुका पक्राउ परे। झाले बानेश्वर उक्त घर नजिकैबाट केसीसँग २ करोडको हिमालयन बैंकको चेक लिएका थिए। केसी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले शरणार्थी काण्डमा निर्णय गराउन भूमिका खेलेको भनेर उनै बेचनको नाम पोलेका छन् । केसीले झालाई दिएको २ करोडको चेक समेत सार्वजनिक भइसकेको छ। उक्त चेक लिन बेचन घर नजिकै रहेको भरोसा हस्पिटल पुगेको अडिओ समेत छरपस्ट छ।

बिचौलियाको भूमिका खेल्दै आएका भारतीय मूलका बेचनले बानेश्वरमा घरबाटै राज्य संयन्त्र चलाउने हैसियत राख्छन्। उनले विभिन्न व्यक्तिलाई उक्त घर नजिकै बोलाएर आर्थिक लेनदेन गर्ने गरेको तथ्यहरूबाट  पुष्टि भइसकेको छ।

नक्कली भुटानी शरणार्थी काण्डमा निर्णय गराउँछु भनेर राम्रै माल बुझेका बेचनको कांग्रेसका उच्च तहका नेताहरूसँग हिमचिम बाक्लै देखिन्छ। उनले माथिल्लो तहबाट नक्कली भुटानी शरणार्थीलाई अमेरिका लाने गरी निर्णय गराउन चेक लिएको दिने केसीले नै दाबी गरेका छन्। नक्कली भुटानी शरणार्थी काण्डमा जोडिएका बेचन प्रहरीको नियन्त्रणमा पुगेको भोलिपल्ट कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निजी निवास बालकोट पुगे। दही-चिउरा खाने बहानामा बालकोट पुगेका देउवा दम्पति पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार विस्थापित गरेर ओलीलाई सत्तामा स्थापित गराउन सफल भए।

नक्कली भुटानी शरणार्थी काण्डमा बेचनलाई पक्राउ गरेपछि आरजुलाई सजिलै समात्न सकिने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको बुझाइ थियो । बेचन पक्राउ परेसँगै उनी निकै हौसिएका थिए। सहकारी ठगी काण्डमा जीबी राईलाई प्रक्राउ गर्न नसकेका रविले बेचनलाई समातेर ठूलै हलचल ल्याएका थिए। तर, त्यो हलचलले उनैलाई सत्ताच्युत गरिदिएको छ। जीबी राई पक्राउ नपर्दा रविको छविमै प्रहार भइरहँदा बेचनले उठिवास लगाइदिएका छन्।

बेचनलाई प्रहरीले १८ गते बयान लिने तयारी गरेको थियो। बयानमा उनले कांग्रेसका केही नेताको नाम पोल्ने अवस्था थियो। त्यसका लागि सबै तयारी पूरा भइसकेको थियो। बेचनले प्रहरी समक्ष कांग्रेसका ३ जना बहालवाला ३ जना सांसदको नाम नक्कली भुटानी शरणार्थी काण्डमा लिएका थिए। त्यो कुरा उनले सरकारी वकील कार्यालयमा समेत पुगेर पोल्ने तयारीमा थिए। तर, १७ गते मध्यरातमै व्यापारी समेत रहेका क्याप्टेन रामेश्वर थापाको घरमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई दल मिलेर ओलीको नेतृत्वमा सरकार गठन गर्ने गरी सहमति भयो। त्यसपछि प्रचण्ड नेतृत्वको सरकार धरमरमा पऱ्यो। बेचनको बयान त्यतिकै रोकियो। गृहमन्त्री रवि लामिछानेको कदम पनि रोकियो।

प्रचण्डले धोका दिएको भन्दै कांग्रेस-एमाले नेताहरुबीच अनौपचारिक, औपचारिक छलफल चलिरकै थियो। कांग्रेस सभापति देउवा सजिलै ओलीलाई प्रधानमन्त्रीमा स्वीकार गर्न तयार थिएनन्। तर, बेचन समातिएपछि भने ओलीको पासा पल्टियो। नक्कली भुटानी शरणार्थी काण्डको मुख्य भूमिकामा रहेका भनिएका बेचन पक्राउ परेको समाचार जताततै देखिन थालेपछि धेरैको चैन उडिसकेको थियो। त्यसले कांग्रेस-एमालेबीच तत्काल प्रचण्ड नेतृत्वको सरकार हटाउने मुख्य अस्त्रका रूपमा काम गऱ्यो। अन्ततः बेचनको पक्राउ नै प्रचण्डलाई बालुवाटारबाट खुमलटार पुऱ्याउने कडी बन्यो।

 

 

क्याटेगोरी : समाचार
ट्याग : ## बानेश्वर, #नक्कली भुटानी शरणार्थी काण्ड, #बानेश्वरस्थित बिचौलिया बेचन झाको सेतो घर, #बेचन झा, #भरोसा अस्पताल, #रामशरण केसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ