कांग्रेसले स्वास्थ्यसहित आधा मन्त्रीमा नयाँ अनुहार पठायो


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेमा नयाँ र पुराना अनुहार बराबरी छन् । नेपाली कांग्रेसको भागमा परेको १० वटा मन्त्रालयमध्ये आधा जतिमा नयाँ अनुहार पठाएको छ । पार्टी सभापति शेरबहादुर देउवा खेमाबाट प्रायजसो पुरानै अनुहारका मन्त्रीहरूको हालीमुहाली छ । शेखर-गगन समूहबाट भने अधिकांश नयाँ अनुहार मन्त्रीमा देखिन्छन् ।

शेखर-गगन समूहका प्रदीप पौडेल पहिलेपटक मन्त्री बन्दैछन् ।काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रदीपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका हुन् । त्यस्तै बाजुराबाट निर्वाचन बद्रीप्रसाद पाण्डे पनि पहिलोपटक मन्त्री बनेका हुन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् । पाण्डे नेपाली कांग्रेसका सहमहामन्त्री समेत हुन् ।

धादिङ-२ बाट निर्वाचित रामनाथ अधिकारी पनि पहिलोपटक मन्त्री बनेका छन् । उनले कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुगुका सांसद ऐनबहादुर शाही ठकुरी पनि पहिलोपटक मन्त्री बनेका हुन् । उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै कांग्रेसको समानुपातिक सांसद आरजु राणा देउवा पनि पहिलोपल्ट मन्त्री बनेकी हुन् । उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । आरजु कांग्रेसबाट मन्त्री भएर सरकारमा जाने एक मात्र महिला हुन् ।

कांग्रेसबाट नेतृत्व गरेर गएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह दुईपटक उपप्रधानमन्त्री र पटकपटक मन्त्री भइसकेका व्यक्ति हुन् । यसअघि उनी शुशिल कोइराला नेतृत्वको सरकारमा उपप्रधानसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारीमा थिए । गृहमन्त्री बनेका रमेश लेखक पनि श्रम र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् ।

युवा तथा खेलकुदमन्त्री बनेका तेजुलाल चौधरी दोहोऱ्याएर उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका अजयकुमार चौरसिया पनि स्थानीय विकास राज्यमन्त्री भइसकेको व्यक्ति हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बनेका दीपक खड्का पनि खानेपानी राज्यमन्त्री भइसकेका व्यक्ति हुन् ।

कांग्रेसले नयाँ र पुराना अनुहारलाई सन्तुलन कायम गरेर ओली नेतृत्वको सरकारमा मन्त्री पठाएको छ । यो मामिलामा शेखर- गगन समूह निकै अगाडि देखिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #आरजु राणा परराष्ट्रमन्त्री, #ऐनबहादुर शाही वनमन्त्री, #प्रदीप पौडेल स्वास्थ्यमन्त्री, #बद्री पाण्डे पर्यटनमन्त्री, #रामनाथ अधिकारी कृषिमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ