डेढ महिने कामु मुख्यसचिव बनिन् लीलादेवी गड्तौला

गड्तौला पहिलो महिला कायममुकायम मुख्यसचिव बनेर इतिहास रच्न सफल भइन्


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । असार ९ गतेदेखि निमित्त मुख्यसचिवको भूमिका निर्वाह गर्दै आएकी उनलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले कामु मुख्यसचिव बनाउने निर्णय गरेको हो । ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले नै उनलाई कामु मुख्यसचिव बनाउने निर्णय गरेको छ ।

तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वरिष्ठतम् सचिवको हैसियतमा गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् । अहिले पहिलो महिला कायममुकायम मुख्यसचिव बनेर गड्तौलाले इतिहास रचेकी छिन् ।

५८ वर्ष उमेर हदका कारण कामु मुख्यसचिवको भूमिकामा गड्तौलाले भदौं १५ गतेसम्म मात्र काम गर्न पाउनेछिन् । २०७७ कात्तिक २७ गते न्याय सेवा कानुन समूहको सचिवमा बढुवा भएकी उनी ३ वर्ष १० महिना नेपाल सरकारको विशिष्ट श्रेणीमा रहेर काम गर्न पाउनेछिन् । ३ वर्ष ८ महिना सचिवको भूमिकामा काम गरेकी गड्तौलाले त्यसपछि निमित्त मुख्यसचिव र कामु मुख्यसचिवको समेत जिम्मेवारी प्राप्त गर्न सफल भएकी हुन् ।

गड्तौलाभन्दा तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, उदयराज सापकोटा र मधुकुमार मरासिनी वरिष्ठ सचिव भएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वरिष्ठ सचिव भएकाले उनले निमित्त र कामु मुख्यसचिवको जिम्मेवारी पाएकी हुन् ।

२०५२ सालमा शाखा अधिकृतको रूपमा निजामती सेवामा प्रवेश गरेकी गड्तौला २०६३ कात्तिक ३ गते उपसचिव भइन् । २०७० माघ ९ गते सहसचिव बनेकी उनी २०७७ कात्तिक २७ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी हुन् । त्यस्तै २०८१ असार ९ गते निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी गड्तौला असार ३१ गते कायममुकायम मुख्यसचिव बन्न सफल भएकी छिन् ।

कोशी प्रदेशको तेह्रथुम जिल्लामा जन्मिएकी कायममुकायम मुख्यसचिव गड्तौलाले सोलुखुम्बुका मात्रिका निरौलासँग बिबाह गरेकी हुन् । उनका श्रीमान मात्रिका वरिष्ठ अधिवक्ता हुन् । हक्की स्वभावकी कायममुकायम मुख्यसचिव गड्तौला पूर्व कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेकी सहपाठी समेत हुन् । उनी अहिले काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगर बस्दै आएकी छिन् ।

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई महत्त्वपूर्ण निर्णय गर्न नदिन गड्तौलाले विशेष भूमिका खेलेकी थिइन् । उक्त योगदानको कदर स्वरूप उनले कामु मुख्यसचिवको जिम्मेवारी पाउन सफल भएको चर्चा सुनिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा ओली, #लीलादेवी गड्तौला कायममुकायम मुख्यसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ