नक्कली लाइसेन्स बनाउने गिरोहका फरार अभियुक्त सापकोटा अस्ट्रेलियामा मस्ती मार्दै


काठमाडौं । ५ हजारदेखि १ लाख रुपैयाँसम्म लिएर नक्कली लाइसेन्स बनाउन भूमिका खेल्ने यातायातका बिचौलिया प्रविन भन्ने फानेश्वर सापकोटा अहिले अस्ट्रेलिया पुगेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नक्कली लाइसेन्समा अनुसन्धान गर्न थालेपछि बिचौलिया सापकोटा अस्ट्रेलिया पुगेको खुल्न आएको हो ।

नक्कली लाइसेन्स प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालय उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीका कम्प्युटर अधिकृत पदमराज आचार्यसँग घनिष्ठ सम्बन्ध रहेका सापकोटा अस्ट्रेलिया पुगेको पाइएको छ । काठमाडौं जिल्ला अदालतमामा दायर गरिएको अभियोग-पत्रमा सापकोटालाई फरार अभियुक्त बनाइएको छ । तर, उनी भने अस्ट्रेलियामा मस्ती मारिरहेको पाइन्छ ।

कावासोती नगरपालिका वडा नम्बर ३ स्थायी ठेगाना भएका वर्ष ३३ का प्रविन भन्ने फानेश्वर सापकोटा यता सिआईबी र अदालतको फरार सूचीमा छन् । उनी भने उता अस्ट्रेलिया र मेलबर्नमा मस्ती मारिरहेका छन् । फरार अभियुक्त सापकोटाले नेपालको प्रहरी प्रशासन तथा राज्य संयन्त्रलाई नै चुनौती दिने र गिज्याउने गरी अस्ट्रेलियाका विभिन्न सहर घुमेका फोटाहरु फेसबुकमा हालिरहेको देखिन्छ । तर, नेपाल प्रहरी र राज्य संयन्त्रले उनलाई नेपाल झिकाउन सकेको छैन ।

 

प्रविन सापकोटाले केशव पौडेल लगायतका अन्य बिचौलिया पनि परिचालन गरेको देखिन्छ । नक्कली लाइसेन्स प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कम्प्युटर अधिकृत पदमराज आचार्य र यातायातमाका सहायक कम्प्यूटर अपरेटर दिलिपकुमार साहसँग समेत सापकोटाको उस्तै दोस्ती रहेको पाइन्छ । बिचौलिया सापकोटा नेपालमा हुँदा यातायातका कर्मचारी आचार्य र साहसँग घुमघाम गर्ने र मस्ती मार्ने गरेको खुल्न आएको हो ।

मान्छे मार्नेलाई नक्कली लाइसेन्स दिएर थुनामुक्त गराउन विशेष भूमिका खेल्ने यातायात व्यवस्था विभागका तत्कालीन कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्यालका नातेदार समेत हुन् । सेटिङ मिलाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका अर्याललाई सिआईबीले नक्कली लाइसेन्स प्रकरणमा समात्नेवित्तिकै उनी अस्ट्रेलिया पुगेको खुल्न आएको छ ।

नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालीन प्रमुख केशव अर्याल, कम्प्युटर अधिकृत पदमराज अर्याल, सहायक कम्प्यूटर अधिकृत दिलिपकुमार साहलगायत पक्राउ परेपछि बिचौलिया सापकोटा पनि नक्कली  लाइसेन्स बनाउने गिरोहमा संलग्न रहेको खुलेको हो ।

बिचौलिया सापकोटालाई १ लाख रुपैयाँ दिएर लाइसेन्स लिएको उदयबहादुर बि. क.ले सिआईबीमा बयान दिएका छन् । १ लाख रुपैयाँ बुझाएर बनाएको उदयको लाइसेन्स नक्कली भएको सिआईबीको अनुसन्धानबाट पुष्टी भएको छ । बिचौलियाको भूमिकामा रहेका सापकोटा कर्मचारीसँगको सेटिङमा नकक्ली लाइसेन्स बनाइदिए बापत ५ हजारदेखि १ लाख रुपैयाँसम्म असुल्ने गरेको खुलेको छ ।

 

छिरिङ तामाङको नक्कली लाइसेन्स बनाउन पनि केशव पौडेल, प्रविन सापकोटालगायतको भूमिका रहेको देखिन्छ । यातायातका कर्मचारीसँग राम्रो साँठगाँठ रहेका सापकोटा पैसा लिएर नक्कली लाइसेन्स बनाउने धन्दाका मुख्य बिचौलिया रहेको पाइन्छ । उनले केशव पौडेललगायतका सहायक विचौलियालाई लाइसेन्स बनाउने ग्राहक खोज्न परिचालन गर्ने गरेको बुझिन्छ ।

नक्कली लाइसेन्स बनाउने गिरोहका बिचौलिया  सापकोटा नवलपुर ड्राइभिङ व्यवसायी संघका संस्थापक अध्यक्ष समेत हुन् । उनी ड्राइभिङ व्यवसायी संघ, गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष समेत रहेका छन् ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल नवलपुर जिल्लाका सचिवालय सदस्य समेत रहेका सापकोटा राजनीति र ड्राइभिङ संघको आडमा नक्कली लाइसेन्स बनाउने धन्दाको बिचौलिया बनेर काम गर्ने गरेको विभिन्न तथ्यहरुबाट खुल्न आउँछ । उनले कावासोती-९ यातायात कार्यालय छेउमा प्रविनको पुरानो ड्राइभिङ सेन्टर समेत सञ्चालन गरिरहेका छन् ।

नक्कली लाइसेन्स प्रकरण सार्वजनिक भएसँगै बिचौलिया सापकोटा अस्ट्रेलियाको भिसा लगाएर भागेका छन् । नेपाल प्रहरीले फरार अभियुक्त सापकोटालाई नेपाल झिकाउन तत्काल कदम चाल्नु पर्छ । नक्कली लाइसेन्स बनाउन मुख्य बिचौलियाको भूमिकामा देखिएका सापकोटालाई नेपाल ल्याउन सके थप बदमास समातिन् सक्छन् ।

 

 

 

 

 

 

क्याटेगोरी : समाचार
ट्याग : #अस्ट्रेलिया, #उपसचिव केशव अर्याल, #नक्कली लाइसेन्स, #प्रविन भन्ने फानेश्वर सापकोटा, #प्रविनको पुरानो ड्राइभिङ सेन्टर, #सुरज प्रकाश अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ