स्वास्थ्यका सहसचिव कुँवरलाई प्रधानमन्त्री ओलीको निजी सचिवको जिम्मेवारी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहसचिव बिनोदबहादुर कुँवरलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवको जिम्मेवारी दिइएको छ । यस अगाडि ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ता रहेका कुँवरले योपटक निजी सचिवको जिम्मेवारी पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या महाशाखा हेरिरहेका कुँवरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काज सरुवा गरेको निजी सचिवको जिम्मेवारी दिइएको हो । सहसचिव कुँवरले प्रधानमन्त्रीको निजी सचिवालको नेतृत्व गर्ने गरी सरुवा भएको स्वास्थ्य लाइभलाई पुष्टि गरे ।

प्रधानमन्त्री ओली निकट उच्च स्रोतका अनुसार कुँवरलाई प्रधानमन्त्रीको निजी सचिवालय, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागजस्ता महत्त्वपूर्ण निकाय रोज्न भनिएको थियो । तर, उनले त्यस्ता विभाग नरोजी प्रधानमन्त्री ओलीको निजी सचिव बनेका हुन् । कुँवरको शुक्रबार नै काज सरुवा भएको हो ।

अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागको महानिर्देशक समेत भइसकेका कुँवर गण्डकी प्रदेश हुँदै स्वास्थ्य मन्त्रालय आएका थिए । ‘लो प्रोफाइल’मा बसेर स्वास्थ्यमा बसेका कुँवर ‘हाइ प्रोफाइल’को प्रधानमन्त्रीको निजी सचिव बन्न पुगेका छन् । प्रधानमन्त्री ओलीको अघिल्लोपटक उपसचिव युवराज दाहाल (ताप्लेजुङ पाथिभरा हेलिकोप्टर दुर्घटनमा निधन)लाई निजी सचिव बनाएका थिए । योपटक भने सहसचिव कुँवरलाई निजी सचिव बनाएर ल्याएरका छन् ।

अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सहसचिवस्तरका नवराज ढुंगाना र अर्जुन भण्डारीलाई निजी सचिव बनाएका थिए । त्यो नजिरलाई पछ्याउँदै ओलीले पनि सहसचिव कुँवरलाई निजी सचिव बनाएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बिबेक घिमिरे (उपसचिव)लाई प्रधानमन्त्रीको निजी सचिव बनाउने गरी छलफल भएको थियो । तर, सहसचिव हुँदा ‘डिल’ गर्न सजिलो हुन्छ भनेर कुँवरलाई ल्याइएको हो । घिमिरे पनि शाखा अधिकृत हुँदा प्रधानमन्त्री ओलीको निजी सचिवालयमा बसेर काम गरिसकेका व्यक्ति हुन् ।

प्रधानमन्त्रीको निजी सचिवमा स्वास्थ्य मन्त्रालयमा कार्यरत सहसचिव कुँवरलाई ल्याएसँगै अन्य थुप्रै सहसचिव सरुवा गर्ने तयारीमा संघीय मामिला तथा सामान्य प्रशासन जुटेको छ । अब प्रशासनमा केही समय सरुवा आतंक मच्चिने देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #अर्जुन भण्डारी, #उपसचिव बिबेक घिमिरे, #नवराज ढुंगाना सहसचिव, #प्रधानमन्त्रीका निजी सचिव बिनोदबहादुर कुवँर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ