चाेरीमा दाेषी ठहर भएका जाेशीले लेखाको उपसचिवमा नाम निकालेपछि..


काठमाडौं । तीनै तहको अदालतबाट चोरी मुद्दामा दोषी ठहर भएका बझाङका रामप्रसाद जोशीले लेखाको उपसचिवमा नाम निकालेपछि हल्लिखल्ली भएको छ । लोकसेवा आयोगले असार २ गते निकालेको लिखित परीक्षाको नतिजामा जोशी पिछडिएको क्षेत्रबाट नाम निकाल्न सफल भएका छन् । उनी अदालतबाट प्रमाणित चोरीमा दाेशी ठहर भएका व्यक्ति हुन् ।  त्यो कुराको पुष्टि भएपछि जोशी उपसचिवको अन्तर्वार्तामा देखा परेनन् । अन्तर्वार्ता दिएर उपसचिव हुन लागेका जोशी अहिले ‘हट केक’ बनेका हुन् ।

 

बाजुरा जिल्ला अदालत, तत्कालीन पुनरावेदन अदालत, दिपायल (हाल उच्च) र सर्वोच्च अदालत समेत चोरी मुद्दामा १ महिना कैद सजाय हुने ठहर भएका जोशी हाल राजस्वका अधिकृत हुन् ।

कमानसिंह कुँवरको जाहेरीले नेपाल सरकार वादी र गणेशराज जोशीका छोरा जिल्ला बझाङ बाँझ गाउँ विकास समिति वडा नम्बर ५ बस्ने रामप्रसाद जोशी प्रतिवादी भएको चोरी मुद्दामा उनी २०७० फागुन २० गते नै दोषी ठहर भएका हुन् । बाजुराका जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले २०७० फागुन २० गते उक्त चोरी मुद्दामा जोशीलाई १ महिना कैद र ३८ लाख ७० हजार जरिवाना हुने ठहर गऱ्यो ।

जिल्ला अदालते चोरी गरेको प्रमाणित गरिदिएपछि जोशी तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) दिपायल पुगे । २०७१ साल असोज २७ गते दिपायलका तात्कालीन न्यायाधीशद्वय रेवन्तबहादुर  रावत र नरबहादुर शाहीको संयुक्त इजलासले बाजुरा जिल्ला अदालतको फैसला सदर गरिदियो । त्यसपछि दोहोऱ्याइ पाउँको निवेदन लिएर सर्वोच्च पुगेका जोशी त्यहाँ पनि खुत्रुक्कै भए ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुँयालको इजलासले जिल्ला र उच्चको फैसला सदर गर्दै जोशीलाई १ महिना कैद र ३८ हजार जरिवाना हुने ठहर गऱ्यो । २०७० सालमा चोरी गरेको घटनामा २०७४ सालमा आएको मुलुकी अपराध संहितालाई देखाएर सर्वोच्च अदालतले जोशीलाई जरिवाना भने स्वाट्टै घटाइदिएको छ ।

जिल्ला र पुनरावेदन (उच्च) अदालतले ३८ लाख ७० हजार जरिवान हुने ठहर गरेकोमा २०८० साल जेठ २८ गते तयार भएको सर्वोच्च अदालतको फैसलामा  ७० हजार रुपैयाँ मात्र जरिवाना हुने ठहर गरेको छ । अझ रोचक कुरा त १ महिना १८ दिन थुनामा बसेकाले निजलाई भएको कैदको १८ दिन बढी भएकाले दिनका ३ सय रुपैयाँका दर ले ५४०० रुपैयाँ घटाई बाँकी ६४ हजार ४ सय रुपैयाँ मात्र तिर्नु पर्ने सर्वोच्चको फैसलामा उल्लेख छ ।

 

जोशीले २ लाख रुपैयाँ धरौटी नै राखेकाले उल्टै १ लाख ३५ हजार ४ सय रुपैयाँ त फिर्ता नै पाएका छन् । सर्वोच्च अदालतले समेत उनलाई जरिवानामा सहुलियत दिएको देखिन्छ ।

राजस्वका अधिकृत रहेका जोशी हाजिर गरेर टाप ठोक्ने काम (हाटा) मात्रै गर्दै आएका छन् । अर्थ मन्त्रालयमा ८९ दिन आए हाजिर गरेर जागिर मात्र बचाउने काम गरिरहेको छन् । निजामती कानुनमा ९० दिनसम्म गएल भएमा जागिर जाने व्यवस्था छ । उक्त व्यवस्थालाई मध्यनजर गर्दै राजस्व अधिकृत जोशी ८९ औं दिन अर्थ मन्त्रालय पुगेर हाजिर गर्दै आएको पाइएको हो ।

लोक सेवाका गुरु समेत रहेका जोशीको गाविस सचिवदेखि लेखा उपसचिवसम्मको यात्रा निकै रोचक देखिन्छ । उनले नेम अन्तर्गतको सेडेपमा पूर्णकालीन रूपमा लोकसेवाको कक्षा लिने गरेका  छन् । ओटिसलगायतमा लोकसेवाको अनलाइन क्लास पढाउँदै आएका चोरी ठहर जोशीले लेखाको उपसचिवमा नाम निकालेपछि भने चर्चामा आएका हुन् । उनले लोकसेवा परीक्षाका लागि आवश्यक सामग्रीसहितका पुस्तक समेत लेख्ने गरेको पाइन्छ ।

चोरी मुद्दामा दोषी ठहर भएका जोशीले नेममा प्रशासनको नायब सुब्बा तेस्रो पत्रमा नैतिकताको कुरा पढाउने गरेका छन् । नैतिक हराम जोशीबाट नैतिकताको कुरा पढेर सरकारी सेवामा कर्मचारी छिर्दा त्यसले कस्तो असर पर्छ भन्ने गम्भीर प्रश्न खडा भएको छ । यस्ताबाट प्रशिक्षित कर्मचारी नै भ्रष्टाचारको आहालमा डुब्ने खतरा हुन्छ ।

जोशीले २०७० सालमा बाजुराको पाण्डुसैनको एक होटलमा बास बस्दा राति नै पैसासहितको झोला चोरेपछि कानुनको फन्दामा परेका हुन् । उनै जोशी अहिले लेखाको उपसचिवमा नाम निकालेर चर्चामा आएका छन् ।

घटना के भएको थियो ?

२०७० साल जेठ ३० गते  रामप्रसाद जोशीसहितका ५ जना गविस सचिव बाजुरा जिल्लाको सदरमुकाम मार्तडीको जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयबाट सामाजिक सुरक्षा (वृद्ध भत्ता) र बालबालिकाको पैसा राष्ट्रिय वाणिज्य बैंक मार्फत बुझेर कार्यक्षेत्र तर्फ फर्किन्छन् । उक्त टोलीमा जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने जगन्नाथ र वाई गाविसका तत्कालीन सचिव जोशी, साप्पाटा गाविसका सचिव कमान सिंह कुँवर, बाँधु गाविसका सचिव दिलबहादुर बुढा, रुगीन गाविसका सचिव सरोजकुमार झा र बिच्छिया गाविसका सचिव गणेशराज जैशी रहेका थिए ।

५ जना गाविस सचिवहरुको टोली कार्यक्षेत्र तर्फ फर्कदै गर्दा बाटोमा ठूलो पानी पर्छ । ठूलो पानी  परेका कारण उनीहरू पाण्डुसैन गाविस वडा नम्बर ७ अंगपानीस्थित मानबहादुर रावतको होटलमा बास बस्छन् ।

कुखुराको मासु र रक्सी खाएर जोशी, झा र बुढा माथिल्लो तलाको एउटा कोठामा र कुँवर र जैसी तल्लो तलका एउटा कोठामा सुन्छन् । सुतेका ५ जनामध्ये जोशी राति नै गायब हुन्छन् । उनले कुँवर जैसी सुतेको कोठाको बाहिरबाट चुकुल समेत लगाइदिन्छन् ।  कुँवरकाे झोलामा रहेको २१ लाख २२ हजार ४ सय रुपैयाँ र बुढाको १८ लाख ३० हजार रुपैयाँ पैसा बोकेको झोला सहित जोशी हराउँछन् ।

४ जना गाविस सचिवहरुले जोशी र पैसा खोज्न थाल्छन् । बीच बाटोमा उनी भेटिन्छन् । जोशीले आफू हतियारधारी समूहबाट लुटिएको र त्यही समूहले पैसा लगेको दाबी गर्छन् । तर, पैसाका झोला हराएका कुँवरले भने नाटक नपार पैसा कहाँ लुकाइस भनेर जोशीलाई ऱ्याखऱ्याख्ती पार्छन् । उनले केही भेद नखुलाएपछि पाँचै जना मार्तडी फर्किएर प्रहरीमा जाहेरी दिन्छन् ।

प्रहरीमा जाहेरी दिएपछि जोशीले कहिले उक्त पैसा तराईतिर ल्याइदिनु भनेर हिँडेको त कहिले के भन्न थालेपछि शंकास्पद लागेर जोशीलाई प्रहरीले प्रकिन्छ र कोर्रा हान्छ । त्यसपछि जोशीले आफैले त्यो पैसा रकम मार्तडी १ काँधको जंगलमा गाडेर राखेको बयान दिन्छन् र त्यो ठाउँमा उनीसहित प्रहरी पुग्दा ६४ लाख ५६ हजार ४ सय  रुपैयाँ पैसा गाडिएको अवस्थामा फेला पर्छ ।

प्रहरीले जंगलमा पुरेको ठाउँबाट झोला बरामद गर्दा कुँवरको झोलामा २० लाख ४० हजार रुपैयाँ र बुढाको झोलाम १८ लाख ३० हजार रुपैयाँ हजार हुन्छ । बाँकी पैसा भने जोशी स्वयंको रहेको बरामदी मुचुल्कामा उल्लेख गरिन्छ ।

त्यसपछि जोशीलाई नै प्रतिवादी बनाएर प्रहरीले सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत बाजुरामा चोरी मुद्दा दर्ता गर्छ। जिल्ला अदालतले जोशीले चोरी गरेको ठहर गर्छ। पुनरावेदन (उच्च)ले पनि जिल्लाकै फैसला सदर गर्छ। अनि सर्वोच्च पुगेका जोशी चोर नै भएको प्रमाणित हुन्छ। त्यसैबीच जोशीले राजस्व अधिकृत बनेर जागिर सुरु गर्छन्। अर्थ मन्त्रालय आएर ८९ औं दिनमा हाजिर धस्क्याउछँन्। यही शिलशिला जारी रहँदै गर्दा जोशी लेखाको उपसचिवमा नाम निकाल्छन्। अन्तर्वार्ता दिने बेला आएपछि भने सबै भेद खुल्छ र उनले अन्तर्वार्ता नै हापिदिन्छन्।

चोर्नु आफैंमा अनैतिक र आपराधिक कार्य हो । सरकारले चोरीलाई पनि नैतिक पतन देखिन फौजदारी कसूर मानेर यस्ता कसुरमा दोषी ठहर भएका व्यक्तिलाई सरकारी सेवामा प्रवेश निषेध गर्ने कानुन तत्काल बनाउन जरुरी देखिन्छ। ता कि नैतिक पतन देखिने खालका मुद्दामा दोषी ठहर भएकाहरू सरकारी/सार्वजनिक सेवामा प्रवेश गर्न नसकुन्।

क्याटेगोरी : समाचार
ट्याग : #चोर, #चोरी, #बाजुरा, #रामप्रसाद जोशी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ