परिवार अमेरिकामा ‘सेटल’ गराएका ढुण्डीप्रसाद निरौलालाई भन्सारको चाबी


काठमाडौं । श्रीमती र छोरा अमेरिकामा ‘सेटल’ गराएर नेपालमा जागिर खाँदै आएका ढुण्डीप्रसाद निरौलालाई भन्सारको चाबी दिएको पाइएको छ । उनकी श्रीमती कविता दाहाल (निरौला) र छोरा अपिल निरौला अमेरिकामा स्थायी रूपमा बसोबास गर्दै आएका छन् । नेपालको आम्दानी हुने प्रमुख स्रोत भन्सार जस्तो संवेदनशील निकायको जिम्मा परिवार नै अमेरिकामा भएका निरौलालाई दिएको पाइएको हो ।

निर्वतमान अर्थमन्त्री वर्षमान पुनले जम्मा १ वर्ष जागिर भएका सहसचिव निरौलालाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को कार्यकारी निर्देशकबाट तानेर भन्सार विभागको महानिर्देशक बनाएका हुन् । तलब-भत्ता र अन्य सुविधा जोड्दा झन्डै लाख पुग्ने नाथमको कार्यकारी निर्देशक छाडेर भन्सार विभागको नेतृत्व गर्न पुगेका सहसचिव निरौलाले छोटो समयमै उल्लेख प्रगति गरेको खुबै चर्चा छ । २०८० चैत १४ गतेबाट भन्सार विभागको कमाण्ड सम्हालेका माओवादी सत्ताका तरमारा सहसचिव निरौला एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएर आउँदा समेत टिकिरहेका छन् । आफूलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’पछिको माओवादी ठान्ने निरौला भन्सारमा डेरा जमाएर बस्नु रहस्यको विषय बनेको छ ।

२०२४ साल साउन ७ गते तेह्रथुम जिल्लामा जन्मिएका निरौला अहिले काठमाडौंको गौरीघाटमा बस्दै आएका छन् । श्रीमती र एक छोरा अमेरिका राखेर उनी आमासँग गौरीघाटस्थित निजी निवासमा बस्दै आएका हुन् । हाल भन्सार विभागको महानिर्देशक रहेका निरौलाको गुहेश्वरी टाउन प्लानिङ्ग गौरिघाट, दिव्य पार्टी प्यालेस नजिकै तीन तले घर छ । त्यो घर उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट लोकमानसिंह कार्कीको बर्हिगमनपछि किनेका हुन् ।

गौरीघाटभन्दा पहिला सहसचिव निरौलाको घर ज्ञानेश्वर ओरालोमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० को सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रसँगै रहेको थियो । उनीमाथि तत्कालीन अख्तियार प्रमुख लोकमानको निर्देशनमा गैरकानुनी सम्पत्ति आर्जनमा अनुसन्धान थालेपछि निरौलाले ‘लोकेले साह्रै दुःख दियो’भन्दै उक्त ‘केस’बाट जोगिन ज्ञानेश्वरको त्यो घर डेढ करोडमा बेचिदिएका थिए । ज्ञानेश्वर जस्तो ‘प्राइम लोकेस’नमा ३ करोड पर्ने घर अख्तियारबाट जोगिन निरौलाले डेढ करोडमै बेचेर हिँडेको निकटवर्तीहरू सुनाउँछन् । निरौलाले बेचेको उक्त घर अहिले रामकृष्ण आश्रम नेपाल नामको संस्थाले प्रयोग गरिरहेको छ ।

ज्ञानेश्वरको घर बेचेपछि निरौलाले गौरीघाटमा घर किनेका छन् । तर, त्यहीँ समयमा उनले अमेरिकाको टेक्सासमा पनि घर जोडेको पाइन्छ । हाल भन्सार विभागको महानिर्देशक रहेका निरौलाले चलाखीपूर्ण ढङ्गले लोकमान हटेपछि मात्र गुहेश्वरी टाउन प्लानिङ्ग, गौरीघाटमा नयाँ घर जोडेका हुन् ।

स्वास्थ्य लाइभको जिज्ञासामा निरौलाले ज्ञानेश्वरको घर बेचेको स्वीकार गरे । त्यो घर बेचेर गौरीघाटमा नयाँ घर किनेको उनको दाबी छ । तर, उनी अमेरिकामा घर/गाडी जोडेको विषयमा भने खुल्न चाहेनन् । निरौलाले परिवार अमेरिकामा राख्न नहुने र बच्चा बाहिर राखेर पढाउन नहुने कुरा कहाँ लेखिएको छ र भन्दै उल्टै प्रतिप्रश्न गरें ।

कर्मचारी वृत्तमा चतुर खेलाडी मानिने निरौला इलाका हुलाक कार्यालय, इनरुवामा सहायक लेखापालबाट जागिर सुरु गरेका हुन् । त्यसपछि उनले प्रशासनको नायब सुब्बामा नाम निकाले । जागिर कै शिलशिलामा उनले अधिकारीकी छोरी बिबाह गरे ।  त्यो बेला उनकी श्रीमती मालपोत कार्यालय, धनकुटामा टाइपिस्ट पदमा काम गर्थिन । मालपोतमै काम गर्ने खनाल थरका कर्मचारी (हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रशासनका उपसचिव)ले निरौलाकी श्रीमती उडाइदिए । त्यसपछि विरत्तिएका नासु निरौला तत्कालीन गृह राज्यमन्त्री दिपकप्रकाश बाँस्कोटालाई ‘सोर्स’ लगाएर काठमाडौं छिरे ।  काठमाडौं छिरेर उनले अध्यागमन विभागको नासु भएर काम गर्न थाले ।

सुरूमा कालो कांग्रेस (काका)का रूपमा परिचित नासु निरौलालाई उनका सुभचिन्तकहरुले विराटनगर नर्सिङ क्याम्पसकी स्ववियु सभापति रहेकी कविता दाहालसँग बिबाह कुरा चलाइदिए । उनीहरूले ट्याक्कटुक्क कुरा मिलाएर ढुण्डी र कविताको बिबाह गराइदिए । भट्टराई थरका कविताका मामा र उनका केही साथी मिलेर यतिको केटाले गरिखान्छ, पाल्छ भनेर नासु निरौलालाई भाञ्जी जिम्मा लगाइदिएको बताइन्छ ।

नर्स तथा विद्यार्थी नेतृ कवितासँग बिबाह गरेपछि प्रशासनले शाखा अधिकृतमा नाम निकालेका निरौला सुरुमा क्षेत्रीय योजना कार्यालय धनकुटामा पदस्थापन भए । त्यसपछि उनी मालपोत कार्यालय मुस्ताङ, मोरङको बेलबारी र झापाको दमक मालपोत हाकिम बनेर गए । तत्कालीन मन्त्री सुरेन्द्र हमालले उनलाई कांग्रेसी कर्मचारी भनेर पूर्वका मालदार मालपोतमा पठाइदिएका थिए । हुन पनि    निरौलाले आफूलाई ‘गिरिजाप्रसाद कोइरालापछिको कांग्रेस हुँ’ जस्तो गर्ने गरेको उनी निकट कर्मचारीहरू बताउँछन् । यसैबीच निरौलाले लेखाको उपसचिवमा नाम निकाले ।

 

लेखाको उपसचिव भएका निरौला कमाउ र विकासे अड्डा मात्र ताक्न थाले । लेखाका लागि मालदार मानिने कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), जनकपुरको हाकिम बनेर गए । कोलेनिका २ वर्ष बसेपछि उनी कांग्रेसबाट रङ फेरेर एकाएक माओवादी बनेको उनलाई चिन्नेहरू सुनाउँछन् । आफूलाई गिरिजापछिको कांग्रेस ठान्ने निरौला एकाएक प्रचण्डपछिको माओवादी बन्न पुगेका थिए । त्यसै कारण उनी थप एक वर्ष कोलेनिका जनकपुर बस्न सफल भए । माओवादी बनेको लाभ उठाउँदै तत्कालीन लेखा उपसचिव निरौला आयोजना निर्देशनालय (एडीबी सडक), विशालनगर समेत जान भ्याए । उक्त ठाउँ लेखा उपसचिवका लागि आकर्षक मानिन्छ ।

कोलेनिका जनकपुर, आयोजना निर्देशनालय (एडीबी सडक) जस्ता निकायमा मस्ती मारिरहेका लेखाका उपसचिव निरौलाले २०७४ माघमा प्रशासनको सहसचिवमा नाम निकाले । निरौला प्रशासनको सहसचिव भएपछि परिवारलाई अमेरिकामा ‘सेटल’ गराएका थिए । माओवादी निकट सहसचिव भएकै कारण निरौलाले ललितपुरको प्रमुख जिल्ला अधिकारी, बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालय, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को कार्यकारी निर्देशक हुँदै भन्सार विभागको महानिर्देशक बन्न सफल भएका छन् । उनले भन्सारमा अहिले सरुवा आतंक मच्चाइरहेको पाइन्छ । तर, अर्थमन्त्री पौडेल भने भन्सारका महानिर्देशक निरौलाको गतिविधिमा रमिते बनेको बसेको आरोप लाग्न थालेको छ ।

निरौला ललितपुरको प्रमुख जिल्ला अधिकारी भने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जुलाई दिदी नाता लगाएर अधिकारी बनेका थिए । मञ्जु पनि रिरौलाको छोरी हुन् । सहसचिव निरौला त्योभन्दा पहिला माओवादी बनेको लाभ उठाउँदै कर्णाली प्रदेश सरकारको आर्थिक मामिला सचिव र वीरगञ्ज भन्सार कार्यालयका हाकिम भएका थिए ।

५८ वर्षे उमेर हदका कारण आगामी साउन ६ गते ( एक वर्षपछि) घर जान लागेका सहसचिव निरौला परिवार अमेरिका नै रहेकाले त्यतै भासिने अधिक सम्भावना देखिन्छ । भन्सारमा आधारित आम्दानी भएको देशमा परिवार अमेरिकामा ‘सेटल’ गरिसकेको व्यक्तिलाई भन्सार विभाग जस्तो संवेदनशील निकायको जिम्मा दिँदा धेरै विचार पुऱ्याउनु पर्ने हो । तर, अर्थमन्त्री वर्षमान पुनले खोजीखोजी उनै सहसचिव निरौलालाई भन्सार विभागको महानिर्देशक बनाएका थिए । अमेरिकाको डिभी/पिआर भए/नभएको विषयमा स्वास्थ्य लाइभले जिज्ञासा राख्दा भने भन्सारका महानिर्देशक निरौलाले आफूसँग त्यस्तो केही नभएको दाबी गरे । घर/गाडी जोडेका र परिवार उतै ‘सेटल’ गराइसकेका सहसचिव निरौलालाई अमेरिकाको पिआर लिन कुनै आइतबार कुर्नु नपर्ने देखिन्छ ।

निरौला मध्यमस्तरीय  करदाता कार्यालयको प्रमुख हुँदा ५ बजेपछि तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्कर कर्णको चाकडी गर्न आइपुग्थे । मोदी हुनञ्जेल उनलाई अर्थबाट कसैले झिक्न सकेन । अर्थका क्याडर जान मरिहत्ते गर्ने भन्सारको डिजी पड्काउन सफल भएकाले निरौलालाई चाकडी र चाप्लुसीमा कसैले नभेट्ने टिप्पणी गर्न थालिएको छ ।

सहसचिव ढुण्डी र भूमिराज निरौला मिलेर जग्गामा काम गर्ने गरेको समेत आरोप लाग्ने गरेको छ । त्यो कुराको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । हुण्डी मार्फत अमेरिका पैसा पठाउने गरेको आरोपमा भने उनले ठाडै अस्वीकार गरे । आफूलाई ‘ह्यारेसमेन्ट’ गर्ने गरी उक्त आरोप लगाइएको भन्सारका महानिर्देशक निरौलाको दाबी छ ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #अमनलाल मोदी, #अमेरिकी पिआर, #कविता दाहाल निरौला, #ढुण्डीप्रसाद निरौला, #नाथम, #भन्सार विभाग, #माओवादी सत्ताका तरमारा सहसचिवहरू

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ