को बन्ला नयाँ गृहसचिव ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै महत्त्वपूर्ण मन्त्रालयका सचिवहरु सरूवा गर्ने तयारी सुरू भएको छ । गृह, अर्थ, सञ्चार तथा सूचना प्रविधि, ऊर्जा, जलस्रत, तथा सिँचाई, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन जस्ता मन्त्रालयमा नयाँ सचिवको खोजी भएको हो ।

सचिवका लागि आकर्षक मानिने गृह र अर्थमा जानका लागि सचिवहरूबीच दौडधुप सुरू हुन थालेको चर्चा छ । गृह सचिवका लागि संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्दप्रसाद निरौला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव कृष्णहरि पुष्कर कर्ण, महालेखा नियन्त्रक विनोदप्रकाश सिंह, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव धनश्याम उपाध्याय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अर्का सचिव नारायणप्रसाद शर्मा दुवाडी नाम मुख्य चर्चामा छ । त्यसमा पनि निरौला, कर्ण र सिंहमध्ये एक जनालाई भावी गृह सचिवको नेतृत्वमा हेरिएको छ । सिंह यसअघि पनि गृह सचिव भइसकेका व्यक्ति हुन् ।

नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखक गृहमन्त्री भएकाले रवि लामिछानेसँग काम गरेका एकनारायण अर्याललाई हटाएर नयाँ गृह सचिव भित्र्याउने तयारी भएको हो । गृहमा आउन सचिवहरुबीच तीव्र प्रतिस्पर्धा सुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कर्ण गृह सचिव बन्न जे पनि गर्न तयार रहेको बताइन्छ । अन्य सचिवले पनि गृहमा जाने आंकक्षा राखेका छन् ।

अर्थ मन्त्रालयमा पनि नयाँ सचिवको खोजी सुरू भएको छ । अर्थ सचिवका लागि राजस्व सचिव रामप्रसाद घिमिरे र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । अर्थ सचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालय पठाएर अर्थमा घिमिरे र दंगालमध्ये एक जनालाई सचिव बनाउन खोजिएको हो । राजस्व सचिवमा भने दिनेशकुमार घिमिरेको चर्चा छ ।

उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्याललाई भने भावी सञ्चार सचिवका रूपमा हेरिएको छ । रक्षासचिव किरणराज शर्माको पनि सरुवा गर्ने तयारी देखिन्छ । एक लट मन्त्रिपरिषद् बैठकले ठूलो संख्यामा सचिव सरुवा गर्ने तयारी थालेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ