कानुनबाट मुख्यसचिव बन्ने गड्तौला चौथो व्यक्ति


काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौला (निरौला)लाई मुख्यसचिवमा बढुवा गऱ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

गड्तौला नेपालको इतिहामै पहिलो महिला मुुख्यसचिव बन्न सफल भएकी छिन् ।  मुलुकमा प्रजातन्त्र आएपछि मुख्यसचिव बनाउने प्रचलन सुरू भयो । नेपालको पहिलो मुख्यसचिव चन्द्रबहादुर थापा हुन् । थापा विक्रम सम्वत् १०१२ असोज २८ गतेदेखि २०१६ असार १४ गतेसम्म नेपालको मुख्यसचिवको भूमिकामा थिए । थापाले झन्डै ४ वर्ष मुख्यसचिव खाएको देखिन्छ । अहिले भने ३ वर्ष मात्र मुख्यसचिव चलाउन पाउने व्यवस्था छ ।

पहिलो महिला मुख्यसचिव बनेर इतिहास रचेकी गड्तौला २७ औं मुख्यसचिव हुन् । कानुन तर्फबाट मुख्यसचिव बन्नेमा भने उनी चौथोमा पर्छिन् । कानुनबाट पहिलो मुख्यसचिव बन्ने व्यक्ति भने वलराम सिंह मल्ल हुन् । नेपाल सरकारको तेह्रौं मुख्यसचिव र कानुन तर्फको पहिलो मुख्यसचिव बनेका थिए । मल्ल २०५३ मंसिर २७ गतेदेखि २०५६ साउन २९ गतेसम्म मुख्यसचिवको भूमिकामा रहे ।

वलराम सिंह मल्ल

कानुन तर्फबाट दोस्रो मुख्यसचिव बन्ने व्यक्ति भने तीर्थमान शाक्य हुन् । सिंहपछि मुख्यसचिव बनेका शाक्यले २०५६ साउन ३० गतेदेखि २०५३ चैत १ गतेसम्म मुख्यसचिव चलाएका थिए । शाक्य नेपालको चौधौं मुख्यसचिव हुन् ।

मल्ल र शाक्यपछि कानुन तर्फबाट मुख्यसचिव बन्ने व्यक्ति राजेन्द्रकिशोर क्षेत्री हुन् । उनले ‘काकताली’ परेर ४ महिने मुख्यसचिव बन्ने सौभाग्य प्राप्त गरे । लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउन कानुनका क्षेत्रीलाई सेटिङमा मुख्यसचिव बनाइएको थियो ।

तीर्थमान शाक्य

नेपालको तेइसौं मुख्यसचिवमा नाम लेखाएका क्षेत्री २०७४ असार २९ गतेदेखि २०७४ कात्तिक ६ गतेसम्म मुख्य सचिव बनेका थिए । उनी महिनाको हिसाबले ४ महिना र दिनका हिसाबले ३ महिनाभन्दा अलिकति बढी मुख्यसचिव बन्न पाए । त्यहिँबाट नेपालको प्रशासनिक क्षेत्रमा विकृति सुरू भएको चर्चा हुने गरेको छ ।

राजेन्द्रकिशोर क्षेत्री

क्षेत्रीपछि कानुन तर्फबाट मुख्यसचिव बन्नेमा लीलादेवी गड्तौलाको नाम थपिएको हो । गड्तौला पहिलो महिला मुख्यसचिव, कानुन तर्फबाट चौथो मुख्यसचिव र नेपालको सताइसौं मुख्यसचिव बन्न सफल भएकी छिन् । उनले करिब एक महिना एक हप्ता मुख्यसचिव चलाउन पाउनेछिन् ।

कानुनबाट मुख्यसचिव बन्ने कसैले पूरा अवधि चलाएको भने पाइँदैन । कानुन तर्फबाट मुख्यसचिव बन्ने मल्ल र शाक्यले मात्र कानुन मन्त्रालयको सचिवको भूमिकामा काम गरेका छन् । क्षेत्री र गड्तौलाले सचिवको भूमिकामा कानुन मन्त्रालय टेक्न पाएनन् । उनीहरु कानुन मन्त्रालयको सचिव नभइ मुख्यसचिव बन्नेमा परेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा भने उनी कायममुकायम मुख्यसचिव नै छिन् । हरेक कुरामा बढी जान्ने (ओजे) र स्मार्ट बन्न खोज्न प्रधानमन्त्री कार्यालयको प्रशासन हेर्ने सचिव कृष्णहरि पुष्कर कर्णले वेबसाइटमा भने गड्तौलालाई कायममुकाय मुख्यसचिवमै सीमित गरिदिएका छन् ।

हरेक कुरामा चाकडी र चाप्लुसी गर्न माहिर खेलाडी कर्ण वेबसाइटमा भने चुकेको देखिन्छ । यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा लीलादेवी गड्तौलालाई कायममुकाय मुख्यसचिव कै रूपमा परिचित गराइएको छ । जबकी उनले बिहीबारदेखि नै पूर्ण मुख्यसचिवको जिम्मेवारी सम्हालिसकेकी छिन् ।

यी हुन् नेपालका हालसम्मका मुख्यसचिवहरू

१, चन्द्रबहादुर थापा

२, कुल शेखर शर्मा

३, कृष्णबम मल्ल

४, क्षेत्रबिक्रम राणा

५, प्रधुम्नलाल राजभण्डारी

६, कृष्णबहादुर मानन्धर

७, भोगेन्द्रनाथ रिमाल

८, कर्णध्वज अधिकारी

९, लोकबहादुर श्रेष्ठ

१०, दामोदरप्रसाद गौतम

११, मधुसुदनप्रसाद गोर्खाली

१२, डा.ईश्वरप्रसाद उपाध्याय

१३, बलराम सिंह मल्ल

१४, तीर्थमान शाक्य

१५, केशवराज राजभण्डारी

१६, विमल कोइराला

१७, लोकमान सिंह कार्की

१८, मुकुन्द शर्मा पौडेल

१९, डा. भोजराज घिमिरे

२०, माधवप्रसाद घिमिरे

२१, लीलामणि पौडेल,

२२, डा. सोमलाल सुवेदी

२३, राजेन्द्रकिशोर क्षेत्री

२४, लोकदर्शन रेग्मी,

२५, शंकरदास बैरागी

२६, डा. बैकुण्ठ अर्याल (निलम्बित)

२७, लीलादेवी गड्तौला (नवनियुक्त)

क्याटेगोरी : समाचार
ट्याग : #मुख्यसचिव तीर्थमान शाक्य, #मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, #मुख्यसचिव लीलादेवी गड्तौला, #मुख्यसचिव वलमान सिंह मल्ल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ