मुख्यसचिवका लागि १ वर्षदेखि ३ वर्षसम्म चलाउनेबीच प्रतिस्पर्धा


काठमाडौं । महिलाबाट पहिलो मुख्यसचिव भएकी लीलादेवी गड्तौला यहीँ भदौं १५ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशका जाँदैछिन्। उनी छोटो समय मुख्यसचिव बनेपनि महिलाबाट मुख्यसचिव हुने पहिलो व्यक्तिका रूपमा ‘रेकर्ड’ कायम गर्न सफल भएकी छिन्। अबको एक महिनापछि गड्तौला मुख्यसचिवको भूमिकाबाट बिदाई हुनेछिन्। त्यसैले उनको उत्तराधिकारीको अहिलेदखि नै खोजी सुरू भएको छ। यसका लागि एक वर्ष मुख्यसचिव हुनेदेखि ३ वर्ष पूरा कार्यकाल चलाउनेसम्मका सचिवहरू प्रतिस्पर्धामा देखिन्छन्।

राजनीतिक स्थिरताका लागि भनेर नयाँ गठबन्धन बनाएका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रशासनिक स्थिरतामा पनि उत्तिकै जोड दिन खोजेको पाइन्छ। कांग्रेस-एमालेको शीर्ष तहमा पूरा कार्यकाल चलाउनेलाई मुख्यसचिव बनाउनु पर्ने बहस सुरु भएको छ। राजनीति स्थिरताका नारा दिएर एक ठाउँमा पुगेका कांग्रेस-एमाले प्रशासनिक स्थिरताका लागि भने कतिको दृढतापूर्वक उभिन सक्छन् हेर्न बाँकी छ।

कोशी प्रदेशको तेह्रथुम जिल्लामा जन्मिएकी गड्तौलालाई महिलाबाट पहिलो मुख्यसचिव बनाएर केपी शर्मा ओली नेतृत्वको सरकारले इतिहास राख्न र त्यसको ‘जस’ लिन सफल भएको छ।पुर्ख्यौली थलो एकै ठाउँ भएका प्रधानमन्त्री ओली र मुख्यसचिव गड्तौलाबीच यहीँ सेतुले ठूलो काम गरेको देखिन्छ। मुख्यसचिव हुँदै गड्तौला राष्ट्रिय समावेश आयोगको अध्यक्ष हुने सम्भावना उच्च छ।मुख्यसचिव गड्तौलालाई राष्ट्रिय समावेशी आयोगको भावी अध्यक्षका रूपमा समेत हेर्न थालिएको हो।

गड्तौलापछि मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालका सचिव दिनेश भट्टराई र गृह मन्त्रालयका सचिव एकनारायण अर्यालबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले यहीँ फागुन १६ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेकाले उनको नाम मुख्यसचिवको प्रतिस्पर्धामा खासै चर्चामा छैन। राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत सचिव अर्जुनप्रसाद पोखरेल पनि प्रतिस्पर्धामा पछाडि नै देखिन्छ।

मुख्यसचिवको प्रतिस्पर्धामा रहेका गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले एक वर्ष मात्र मुख्यसचिव चलाउँछन् भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले ३ वर्ष पूरा मुख्यसचिव चलाउने देखिन्छ। मुख्यसचिवको प्रतिस्पर्धामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी पनि पूरा अवधि मुख्यसचिव चलाउन नपाउनेमा पर्छन्।

गृह मन्त्रालयका सचिव एकनारायण अर्याल २०२४ साल मंसिर १० गते जन्मिएका हुन्। उनी लीलादेवी गड्तौलापछि मुख्यसचिव भइहाले भने एक वर्ष ३ महिना पनि चलाउन पाउँदैनन्। सचिवको ५ वर्षे सेवा अवधिका कारण अर्याल फागुन १८ गतेसम्म सरकारी सेवामा रहन्छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यसचिव लीलादेवी गड्तौलासँगै तेह्रथुम पुर्ख्यौली थलो भएका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले २०२७ साल पुस २२ गते जन्मिएका हुन्।  गड्तौलापछि मुख्यसचिव बने उनले ३ वर्ष पूरा कार्यकाल मुख्यसचिव चलाउन पाउनेछन्। भट्टराई २०७६ माघ २० गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए।

अहिलेका सचिवमध्ये सबैभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली २०२५ साल फागुन २६ गते जन्मिएका हुन्। गड्तौलापछि मुख्यसचिव बने उनले पनि पूरा कार्यकाल चलाउन पाउने छैनन्। ज्ञवालीले साढे दुई वर्ष जति मात्र मुख्यसचिव चलाउन पाउने देखिन्छ। सचिवको ५ वर्षे उमेर हदका कारण यही भदौं २२ गते ज्ञवाली घर जाँदैछन्।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पनि मुख्यसचिव पाए पूरा अवधि चलाउन नपाउने देखिन्छ। २०२५ पुस १५ गते जन्मिएका सुवेदी ५८ वर्ष पुग्न साढे २ वर्षभन्दा कम अवधि बाँकी छ। सचिवको ५ वर्षे उमेर हदका कारण सुवेदी यहीँ कात्तिक ५ गते घर जाँदैछन्। ज्ञवाली, सुवेदी, भट्टराई र अर्यालमध्येबाटै भावी मुख्यसचिव बन्ने देखिन्छ। लीलादेवीका उत्तराधिकारी को बन्छन् भनेर भदौं १५ कटेपछि मात्र थाहा हुन्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #एकनारायण अर्याल, #केपी शर्मा ओली, #तोयानारायण ज्ञवाली, #दिनेश भट्टराई, #प्रधानमन्त्री, #मुख्यसचिव, #रामकृष्ण सुवेदी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ