नेपालमा मुख्यसचिवका थरीथरी ‘रेकर्ड’


काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा थरीथरीका ‘रेकर्ड’ कायम हुन थालेका छन्। बहालवाला मुख्यसचिवलाई पहिलोपटक भ्रष्टाचार मुद्दा दायर भएर निलम्बनमा पर्नेदेखि महिलाबाट पहिलो मुख्यसचिव हुनेसम्मका ‘रेकर्ड’ कायम भएका हुन्। एकै वर्ष तीन जना मुख्यसचिव बनेर अर्को नयाँ ‘रेकर्ड’ रहने अवस्था समेत आएको छ ।

नेपालका २६ औं मुख्यसचिव डा. बैकुण्ठ अर्याल भ्रष्टाचारमा मुद्दा लागेर निलम्बनमा परेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा उनी सुरक्षण मुद्रण विकास समितिको अध्यक्ष थिए । त्यहीं बेला अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भन्दै अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अर्याललाई भ्रष्टाचार मुद्दा दायर भएपछि बहालवाला मुख्यसचिवलाई नेपालको इतिहासमै पहिलोपल्ट भ्रष्टाचार मुद्दा दायर भएको ‘रेकर्ड’ रहन गएको छ।

भ्रष्टाचार मुद्दा लागेर मुख्यसचिव अर्याल निलम्बनमा परेपछि उनको दरबन्दी राष्ट्रिय योजना आयोगका सारेर कानुन तर्फकी सचिव लीलादेवी गडतौलालाई निमित्त, कायममुकायम हुँदै ‘कन्फर्म’ मुख्यसचिव बनाइएको छ। लीलादेवी गडतौला नेपालको इतिहासमै पहिलोपटक महिलाबाट कायममुकाय र कन्फर्म मुख्यसचिव बनेर ‘रेकर्ड’ कायम गर्न सफल भएकी छिन्। उनी नेपालको २७ औं मुख्यसचिव हुन्। नेपाल राज्यका २६ औं र २७ औं मुख्यसचिवले पहिलोपटक नयाँ ‘रेकर्ड’ कायम गरेका छन्। सचिवको वरियतामा दशौं नम्बरमा रहेकी गडतौलालाई मुख्यसचिव बनाउँदा वरिष्ठता र योग्यता प्रणाली ध्वस्त भएको कतिपय प्रशासकहरू चिन्ता व्यक्त गर्छन्। गड्तौलाभन्दा डेढ वर्ष अगाडि सचिव भएकाहरुलाई बाइपास गरेर उनलाई मुख्यसचिव बनाइएको हो । यसले वरिष्ठ सचिवहरुलाई नैतिक संकट मात्र परेको छैन प्रशासन संयन्त्र नै ‘डिरेल’ बन्न पुगेको छ। ‘रेकर्ड’ राख्ने नाममा कनिष्ठलाई तानेर मुख्य सचिव बनाउँदा प्रशासनमा गलत थिति बसेको देखिन्छ।

मुख्यसचिवमा अर्को ‘रेकर्ड ब्रेक’ हुन लागेको छ। लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउन एकै वर्ष तीन जना मुख्यसचिव बनाउने अवस्था आएको थियो। अहिले पनि त्यहिँ इतिहास दोहोरिने अवस्था आएको छ । त्यो बेला सोमलाल सुवेदी, राजेन्द्रकिशोर क्षेत्री हुँदै लोकदर्शन रेग्मी मुख्यसचिव बनेका थिए। यो वर्ष पनि बैकुण्ठ अर्याल, लीलादेवी गडतौला हुँदै अर्का एक व्यक्ति मुख्यसचिव बनेर पुरानो ‘रेकर्ड ब्रेक’ गर्ने अवस्था आएको छ।

मुख्यसचिव भइसकेका व्यक्तिहरू एकैपटक दुई छिमेकी मुलुकको राजदूत बनेर अर्को ‘रेकर्ड’ कायम गर्न लागेका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेका पूर्वमुख्यसचिव शंकरदास बैरागी खनाल भारत र बेलायतको राजदूत समेत भइसकेका लोकदर्शन रेग्मी एकैपटक चीनको राजदूत बनेर अर्को ‘रेकर्ड’ राख्न खोजेका हुन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवा निकट बैरागी केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला मुख्यसचिव बनेका थिए। रेग्मी पनि त्यहिँ बेला बेलायतको राजदूत बनेका थिए। अहिले उनीहरु दुबै राजदूत हुने दौडमा छन्। लोकदर्शनलाई भारतको राजदूत बनाउन जोडबल गरेका बैरागी अहिले आफैं भारतको राजदूत बन्न दौडिरहेका छन्। भारतको राजदूतका लागि बुढानिलकण्ठ मिलाइसकेको बैरागी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई प्रयोग गरेर बालकोट मिलाउन तल्लिन देखिन्छन्। सबैलाई मिलाउन खप्पिस बैरागीले भारतको राजदूत खाने निश्चित जस्तै देखिन्छ।

निर्वाचन आयुक्त भण्डारी उनै व्यक्ति हुन् जसले अर्को संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका ( निलम्बित सचिव) मधुकुमार मरासिनीलाई बोकेर हिँडेका थिए। सिंहदरबारको पूर्वी गेटसँगै अनामनगरको निम्तो रेष्टुरेन्ट भएको भण्डारीको निजी घरमा त्योबेला उनीसँगै मरासिनी खुब देखिन्थे। अहिले बैरागी देखा पर्न थालेका छन्। शुक्रबार भण्डारी र बैरागी बालुवाटार तर्फ एउटै गाडीमा सबार समेत गरेका थिए। बैरागीले बैकुण्ठलाई मुख्यसचिव छाड्ने सर्तमा सालीको छोरा प्रदीप शर्मा पौलेललाई राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक समेत बनाएका छन्। प्रदीप केन्द्रको कार्यकारी हुँदा बैरागी मुख्यसचिव कै पदमा कार्यरत थिए। यसरी हेर्दा नेपाल सरकारका मुख्यसचिवहरूले थरीथरीका र नयाँ-नयाँ रेकर्ड राख्दै गएको देखिन्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, #निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याल, #प्रदीप शर्मा पौडेल, #मुख्यसचिव लीलादेवी गड्तौला, #लोकदर्शन रेग्मी, #शंकरदास बैरागी खनाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ