अर्थ मन्त्रालयका सचिवद्वय घिमिरेबन्धु


काठमाडौं । अर्थ मन्त्रालयको दुबै सचिवको जिम्मेवारी घिमिरेबन्धुलाई दिइएको छ। अर्थ सचिवको जिम्मेवारी रामप्रसाद घिमिरे र राजस्व सचिवमा दिनेशकुमार घिमिरे आएका छन्। अर्थ सचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालय सरुवा गरेर राजस्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ सचिव बनाइएको हो। राजस्व सचिवमा भने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई ल्याइएको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले ठूलो संख्यामा सचिवहरु सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द निरौलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पठाएर त्यहाँ सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरत सुवेदीलाई ल्याइएको छ। श्रम सचिव धनश्याम उपाध्यायलाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि सचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा गरेर सञ्चारमा उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्याललाई ल्याइएको छ। रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोग पुऱ्याएर रक्षामा अख्तियारका सचिव रामेश्वर दंगाललाई ल्याइएको हो। वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटी भने वाणिज्य तथा आपूर्ति सचिवमा सरुवा भएका छन्।

राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा लोकसेवा आयोग पुगेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद दुवाडीको भने राष्ट्रपति कार्यालय सरुवा भएको छ। लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा भएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरुवा गरिएको छ। भूमिमा भने राष्ट्रिय तथ्याङ्क कार्यालयका अर्जुनप्रसाद पोखरेल आएका छन्।

भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा जल तथा ऊर्जा आयोगबाट केशवकुमार शर्मा आएका छन्।  ऊर्जा आयोगमा भने खानेपानी सचिव सुरेश आचार्यको सरूवा गरिएको छ। ऊर्जा मन्त्रालयमा भौतिकका गोपालप्रसाद सिग्देल पुगेका छन् भने खानेपानी सचिवमा नेपाल ट्रष्टबाट प्रमिलादेवी बज्राचार्यलाई लगिएको हो।

नेपाल ट्रष्टमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामआधार साह पुगेका छन्। राष्ट्रिय सतर्कता केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सरजु वैधको सरुवा गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ