भन्सारका विवादित महानिर्देशक ढुण्डीप्रसाद निरौलालाई हटाउने तयारी

काठमाडौं । भन्सार विभागका विवादित महानिर्देशक ढुण्डीप्रसाद निरौलालाई हटाउने तयारी भइरहेको छ। सम्भवतः निरौला अर्थ मन्त्रालयबाटै बाहिनेछन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सारका विवादित महानिर्देशक निरौलालाई हटाएर दीर्घराज मैनालीलाई पठाउने तयारी गरेका छन्। मैनाली हाल सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखको जिम्मेवारीमा छन्।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले निरौलालाई अर्थ मन्त्रालय ल्याएर भन्सार विभागको महानिर्देशक बनाएका थिए। वीरगञ्ज भन्सारको प्रमुख र मध्यमस्तरीय करदाता कार्यालय प्रमुख भएर काम गरेका माओवादी सत्ताका तरमारा सहसचिव निरौला अब भने थान्को लाग्ने भएका छन्। उनी खुब अवसरवादी र चतुर कर्मचारी हुन्।
एक वर्ष पनि सेवा अवधि नभएका निरौलालाई भन्सार विभाग जस्तो महत्त्वपूर्ण अड्डा जिम्मा लगाइएको छ। परिवार अमेरिकामा ‘सेटल’ गराएका विवादित सहसचिव निरौलालाई भन्सारको जिम्मेवारी दिनु गलत भएको केही पूर्वअर्थ सचिवहरूको टिप्पणी सुनिन्छ। जतिसक्दो चाँडो निरौलालाई भन्सारको महानिर्देशकबाट हटाउनु मुलुक र जनताका लागि ठूलो हित हुने देखिन्छ। उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा लगेर राख्न उपयुक्त हुन्छ। ताकि अमेरिका जाने तरखरमा रहेका निरौलाले देशलाई थप क्षति हुने काम गर्न नसकुन्।
यता आन्तरिक राजस्व विभागको महानिर्देशकका लागि धनिराम शर्मा, मदन दाहाल, सुमन दाहाल, सेवन्तक पोखरेललगायतको नाम चर्चामा छ। धनिरामले चाहे भने उनै आन्तरिक राजस्व विभागको महानिर्देशक बन्ने उच्च सम्भावना छ। मदन र सुमन पनि उत्तिकै सक्रिय छन्। आन्तरिक नभए सुमनलाई राजस्व अनुसन्धान विभागमा लाने पनि सम्भावना छ। सेवन्तक ठूला करदाता कार्यालयको प्रमुख बन्न सक्ने पनि उत्तिकै सम्भावना छ। तर, उनी भने आन्तरिक राजस्व विभाग नपाए राजस्व अनुसन्धान विभागको महानिर्देशक हुने कसरतमा रहेको पाइन्छ। अर्थमन्त्री पौडेलले मन्त्रालयभित्र व्यापक रूपमा कर्मचारी हेरफेर गर्ने तयारी थालेका छन् ।
क्याटेगोरी : समाचारट्याग : #अमेरिका सेटल, #ढुण्डीप्रसाद निरौला, #भन्सार विभाग, #माओवादी सत्ताका तरमारा सहसचिवहरू
तपाईको प्रतिक्रिया दिनुहोस