कानुन सचिवमा सापकोटाको ‘ह्याट्रिक’, गौतम प्रधानमन्त्री कार्यालय


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला सचिवमा उदयराज सापकोटाले ‘ह्याट्रिक’ हानेका छन्। उनी कानुन मन्त्रालयबाट सत्य निरुपण तथा मेलमिलाप आयोग पुगेको छोटो समयमै फेरि कानुन मन्त्रालय फर्किएका हुन्।

न्याय सेवा आयोगको मंगलबार बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सरुवा गर्ने सिफारिस गरेको छ। कानुन मन्त्रालयमा उनको यो तेस्रोपटक ‘इन्ट्री’ हो। सापकोटा दुईपटक सत्य निरुपण तथा मेलमिलाप आयोग र एकपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ‘ट्रान्जिट’ बनाएर कानुन मन्त्रालय पुगेका छन्। कानुन मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कानुन सचिव लीलादेवी गडतौला मुख्यसचिवमा बढुवा भएपछि उक्त ठाउँमा कानुन सचिव रिक्त हुन पुगेको थियो। उक्त ठाउँमा कानुन मन्त्रालयका सचिव गौतमलाई लगिएको हो। ‘फेरि कानुनमा आउँछु’, भन्दै रमाना लिएर सत्य निरुपण तथा मेलमिलाप आयोग गएका सापकोटा नभन्दै ४ महिनामै कानुन मन्त्रालय फर्किएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोगमा भने रक्षा मन्त्रालयका सहसचिव आलोकचन्द्र श्रेष्ठलाई बढुवा गरी पदस्थापनका लागि सिफारिस गरिएको छ।

कानुनका ४ सचिवमध्ये लीलादेवी गडतौला मुख्यसचिवमा बढुवा भएकी थिइन् भने नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारीले राजीनामा दिएका थिए। उक्त दुई रिक्त सचिव पदमा रक्षा मन्त्रालयका सहसचिव आलोकचन्द्र श्रेष्ठ र नेपाल कानुन आयोगका सहसचिव पाराश्वर ढुंगानाको बढुवा भएको छ। सचिवमा बढुवा भएका श्रेष्ठको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन सिफारिस गरिएको छ भने ढुंगाना कानुन आयोगमै रहने भएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : ##उदयराज सापकोटा, #आलोकचन्द्र श्रेष्ठ सहसचिव रक्षा मन्त्रालय, #तोयानाथ अधिकारी सचिव नेपाल कानुन आयोग, #पाराश्वर ढुंगाना सहसचिव नेपाल कानुन आयोग, #फणिन्द्र गौतम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ