प्रदीपका मान्छे चिन्नै सरकारी कर्मचारीलाई सकस, स्वास्थ्य सचिवको विकल्प खोजेर काम गरे मात्रै लक्ष्य प्राप्ति
काठमाडौँ । नेपाली काङ्ग्रेसको तर्फबाट मन्त्री भएका नेता प्रदीप पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बागडोर सम्हालेको १७ दिन पुरा भएको छ । कतिपयले आशा र भरोसा गरेका व्यक्तिका रुपमा पौडेल चिनिन्छन् । १७ दिन सम्म पनि उनले गेयर अगाडि बढाउन सकेका छैनन् । उनले स्वास्थ्यलाई बुझ्ने क्रममा राख्दै आएका छन् । तर, गेयर अगाडि बढाउनु पूर्व प्यासेन्जर राख्नुपर्छ । स्वास्थ्य मन्त्रीको प्यासेन्जर भनेको उनको निजी सचिवालय हो ।
सरकारी तर्फबाट मन्त्रीले उपसचिव शालिकराम दाहाल र शाखा अधिकृतमा विश्वबन्धु रेग्मीलाई राखेका छन् । दुई कुनै पनि विवादमा नपरेका कर्मचारीहरू हुन् । तर, मन्त्रीले सरकारी भन्दा बाहिरको टिम राख्न सकेका छैनन् । सचिवालय खडा गर्न नसक्दा मन्त्री प्रतिको लोकप्रियता दिन प्रतिदिन घट्दै गएको छ ।
ठुलो पार्टीको मान्छे मन्त्री भएपछि भेट्न देशभरका नेता तथा कार्यकर्ता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुग्ने गरेका छन् । मन्त्रालय भेट्न पुगेका कार्यकर्तालाई व्यवस्थापन गर्ने व्यक्ति समेत छैन । कार्यकर्ता तथा नेताले मन्त्री भेट्न जाँदा कसलाई भेट्ने, को सँग समय लिने अन्योलताकाबीच पौडेलको १७ दिन सकिएको छ ।
जो व्यक्तिले पनि म सचिवालयको मान्छे भन्दै चाहिने नचाहिने सामान माग्न थालेको पाइएको छ । एक उच्च अधिकारीले भने, मन्त्रीका मान्छे चिन्न पनि सकस परेको छ । सचिवालय भन्दै कपी र कलम माग्नेहरूको भिड लाग्न थालेको छ । अधिकारीहरूले बताए अनुसार मन्त्रीले टिम खडा गरे त्यही अनुसार काम अगाडि बढाउन सहज हुने थियो । अन्य मन्त्रालयमा कामको थालनी भइ सकेको छ । तर, स्वास्थ्य तथा जनसङ्ख्याले अहिले सम्म कामको बिउ रोप्न सकेको छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा स्वास्थ्य तर्फको सचिव योग्य र क्षमतावान नहुँदा पनि समस्या देखिएको हो । केही गह्रौं भन्ने भाव समेत नभएको व्यक्तिले सचिवको पद ओगटेर बस्दा केही गर्ने लक्ष्य र उद्देश्य बोकेर आएका मन्त्री बकुल्लो बनेर फर्किने देखिएको छ ।
मन्त्री पौडेलले स्वास्थ्यका कछुवा सचिवको विकल्प खोज्नु पर्ने देखिन्छ । सचिवालय पनि नहुने र कछुवा त्यसमा पनि हरेक फायलमा पैसा देख्ने सचिवलाई लिएर हिँड्दा लक्ष्यमा पुग्न नसक्ने निश्चित छ । प्रधानमन्त्री कार्यालयमा स्वास्थ्यको दरबन्दी राखेर एक्टिभ सचिवको साथमा काम गरे मन्त्री पौडेल निश्चित समयमा आफ्नो लक्ष्यमा पुग्ने अधिकारीहरू बताउँछन् । तर, यही सचिवबाट काम गरे उनको समयावधि कर्मकाण्डीमै बित्ने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस