लोकसेवा आयोग जान ब्याची सचिवहरूबीच मारामार 


काठमाडौं । संवैधानिक आयोगमा जान भनेपछि सचिवहरू हिच्किचाउँछन्। सचिवहरू संवैधानिक आयोगभन्दा मन्त्रालयमै जान जोडबल गर्छन्। तर, एउटा त्यस्तो संवैधानिक आयोग छ जुन आयोगमा जान पछिल्लो समय नेपाल सरकारका प्रशासन तर्फका सचिवहरूबीच तछाडमछाड नै हुन थालेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार अख्तियार दुरुपायोग अनुसन्धान आयोग समेत सचिव लागि जान खोज्ने ठाउँ हैन। निर्वाचन आयोग त कोही जानै चाहँदैन। प्राकृतिक स्रोत तथा वित्त आयोग त सचिव फ्याल्ने ठाउँ हो। राष्ट्रिय मानवअधिकार आयोग सचिवमा आत्मनिर्भर छ।

महालेखापरीक्षकको कार्यालय पनि त्यस्तै। तर, लोकसेवा आयोग  जान भने सचिवहरूबीच तीव्र प्रतिस्पर्धा देखिन्छ। अहिलेको ‘लट’मा जान ब्याची सचिवहरूबीच नै मारामार भएको प्रधानमन्त्री निकट उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो।

प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार लोकसेवा आयोगको सचिव भएर जानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम मैनाली, निर्वाचन आयोगका सचिव रविलाल पन्थले इच्छा जाहेर गरेका थिए। तर, अन्य प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले बाजी मार्न सफल भएका छन्। रक्षा सचिव किरणराज शर्मा भने वित्त आयोग फ्यालिएका छन्।

२०६९ फागुन २४ गते एकै दिन सहसचिव भएका हरिप्रसाद, किरणराज, डिल्लीराम र रविलाल लोकसेवा आयोगमा जान हात धोएर लागेका थिए। त्यहिँ दिन सहसचिव भएका ब्याची राजकुमार श्रेष्ठलाई हटाएर लोकसेवा जान उनीहरूबीच घमासान प्रतिस्पर्धा देखियो। उक्त खेल राष्ट्रपति कार्यालयका सचिव डिल्लीरामले पल्टाए। अरू सचिवहरू हेरेको हेरै भए।  डिल्ली कै ब्याची राजकुमार लोकसेवाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयपुगे।

लोकसेवा आयोगलाई अहिले नयाँ भन्सारका रूपमा व्याख्या गर्न थालिएको छ। भत्तासत्ता मासिक ३/४ लाख ‘ह्वाईट’ कमाई हुने लोकसेवामा जोखिम कम हुन्छ। निर्णय गर्दा भोलि अख्तियार, अदालत धाइरहनु पर्दैन। त्यसैले लोकसेवा आयोग जान सचिवहरूबीच मारामार हुन थालेको पाइन्छ। लोकसेवा सचिवका लागि सुरक्षित र आर्थिक समृद्धिका लागि उपयुक्त थलो बन्न पुगेको हो।

लोकसेवा आयोग जानका लागि स्वास्थ्य सचिव हरिप्रसाद मैनालीले  जोडबल गरेका थिए। तर, मैनालीलाई लोकसेवा आयोगले पत्याएन।

अमेरिकाको पिआर विवादमा आएपछि रक्षा सचिव किरणराज शर्मा पनि लोकसेवा आयोग जान कस्सिएर लागेका थिए। झन्डै ३ वर्ष रक्षामा बसेका शर्मा त्यहाँबाट हट्न उपयुक्त पनि थियो। उनले आफ्नै ब्याची अख्तियारका सचिव रामेश्वर दंगाललाई रक्षामा आउने वातावरण तयार पारेर लोकसेवा जाने प्रतिस्पर्धा गरेका थिए। तर उनी वित्त आयोग फ्यालिएका छन्।

निर्वाचन आयोगका सचिव रविलाल पन्थ पनि लोकसेवामा जान निकै जोडबल गरेका थिए। तर, उनी पनि हिस्स परेका छन्। राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्माले उच्च ‘सोर्स’ लगाएर निर्वाचन आयोग पुगेका छन्। सचिव डिल्लीरामका लागि निर्वाचन आयोग उपयुक्त भएको समेत टिप्पणी हुन थालेको छ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थमौती भएका सचिव हरिप्रसाद मैनाली, रक्षाबाट प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मा, हालै राजस्वबाट अर्थसचिव बन्न पुगेका रामप्रसाद घिमिरे, राष्ट्रपति कार्यालयबाट लोकसेवा आयोग पुगेका सचिव डिल्लीराम शर्मा, लोकसेवा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा भएका सचिव राजकुमार श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरूवा भएका मुकुन्दप्रसाद निरौला, अख्तियारबाट रक्षा मन्त्रालय पुगेका सचिव रामेश्वर दंगाल र निर्वाचन आयोगका सचिव रविलाल पन्थ ब्याची हुन्। लोकसेवा आयोग जान यिनै ब्याची सचिवहरूबीच तछाडमछाड भएको पाइएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #किरणराज शर्मा रक्षा सचिव, #डिल्लीराम शर्मा सचिव, #मुकुन्दप्रसाद निरौला सचिव, #रविलाल पन्थ सचिव, #राजकुमार श्रेष्ठ सचिव, #रामप्रसाद घिमिरे सचिव, #रामेश्वर दंगाल, #स्वास्थ्य सचिव हरिप्रसाद मैनाली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ