..अनि बेल्जियमको राजदूतका लागि परराष्ट्र सचिव सेवा लम्सालको नाम काटियो


काठमाडौं । सरकारले हालै चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, जर्मनी, दक्षिण कोरिया, पाकिस्तानजस्ता देशमा नयाँ राजदूत पठाउने निर्णय गरेको छ। भारतमै शंकर शर्मालाई नै निरन्तरता दिएर अन्य महत्त्वपूर्ण देशमा नयाँ राजदूतको नाम प्रस्ताव गरेको हो। संसदीय सुनुवाई विशेष समितिले स्वीकृत गरेर ‘एग्रिमो’ आएपछि उनीहरू सम्बन्धित देशको राजदूत भएर जान पाउनेछन्। तर, राजदूतमा सिफारिस भएका नाम मन्त्रिपरिषद्बाट निर्णय भएर आइनपुगेको स्रोतले बतायो।

राजदूतमा सिफारिस कतिपय व्यक्तिले कागजजात पेस गरेका छैनन्। उनीहरूको कागजात परराष्ट्र मन्त्रालय संकलन गरिरहेको पाइन्छ। राजदूतमा सिफारिस भएका व्यक्तिहरूको कागजात मागेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाउने परराष्ट्रको तयारी छ।

परराष्ट्र स्रोतका अनुसार यसपटकको राजदूत सिफारिसमा परराष्ट्र सचिव सेवा लम्सालको नाम पनि पठाउने तयारी थियो। उनलाई बेल्जियम (ब्रसेल्स)को राजदूत बनाएर पठाउने निश्चित जस्तै थियो। तर, परराष्ट्र मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाउने बेलामा सचिव लम्सालको नाम हटाइयो। परराष्ट्र सचिव लम्साललाई युरोपियन युनियन समेत हेर्ने बेल्जियमको राजदूत पठाएर अमृतबहादुर राईलाई नयाँ परराष्ट्र सचिव बनाउने तयारी थियो। तर, लम्सालको नाम अन्तिम समयमा काटियो।

परराष्ट्र सचिव भइसकेको व्यक्तिको ठूल्ठूला देशमा राजदूत सिफारिस भएका बाहिरका व्यक्तिभन्दा पछाडि नाम जाने र महिलाबाट पहिलो परराष्ट्र सचिवको हैसियतमा आगामी असोजमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने इच्छाका कारण अन्तिममा लम्सालको नाम राजदूतको सूचीबाट हटाइएको परराष्ट्र स्रोतले बतायो। सरकारले एकैपटक जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूतहरु सिफारिस गरेको थियो। बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्रराज भण्डारी, जर्मनीका लागि रामकाजी खड्का र पाकिस्तानका लागि तापस अधिकारीलाई राजदूत बनाएर पठाउने निर्णय एकैदिन भएको हो। तर, जर्मनीका रामकाजी र पाकिस्तानका तापसको ठाउँमा मात्र नयाँ राजदूतको नाम प्रस्ताव गरिएको छ। बेल्जियममा गेहेन्द्रराजको ठाउँमा भने नयाँ व्यक्तिको नाम प्रस्ताव गरिएको छैन। बेल्जियममा परराष्ट्र सचिव लम्साल नै जाने कुरा निश्चित जस्तै भएको परराष्ट्रका उच्च अधिकारीहरू बताउँछन्।

‘करियर डिप्लोम्याट्र्स’ रहेका जर्मनीमा बाहिरबाट डा. शैल रुपाखेती र पाकिस्तानमा परराष्ट्र कै सहसचिव रिता धितालको नाम सिफारिस भएको छ। बेल्जियममा परराष्ट्र सचिव लम्साल कै सम्भावना बढी देखिन्छ। बेल्जियममा राजदूत गहेन्द्रराज भण्डारी शाखा अधिकृत, उपसचिव र सहसचिव आरक्षण प्रणालीबाट छनौट भएका व्यक्ति हुन्।

परराष्ट्र सचिव भएका व्यक्तिहरू संयुक्त राष्ट्रसंघको स्थायी नियोग, न्युयोर्कमा स्थायी प्रतिनिधि भएर जाने परम्परा थियो। त्यो परम्परा दुर्गाप्रसाद भट्टराईले समेत कायम राखे। त्यसपछिका परराष्ट्र सचिवहरूले ‘ट्रयाक’ बिराए। परराष्ट्र सचिव भएका शंकरदास बैरागी राजदूत भएर गएनन्। भरतराज पौड्याल क्यानडा गए। अब सेवा लम्साल बेल्जियम जाने छाँट देखिन्छ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #गेहेन्द्रराज राजभण्डारी बेल्जियम राजदूत, #डा. शैल रुपाखेती, #तापस अधिकारी पाकिस्तान राजदूत, #रामकाजी खड्का जर्मन राजदूत, #रिता धिताल, #सेवा लम्साल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ