काठमाडौंको सिडिओ बन्न गृहका सहसचिवहरूबीच रस्साकस्सी


काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि केही महत्त्वपूर्ण जिल्लामा प्रमुख फेर्ने तयारी भएको छ। अहिले गृहमन्त्री लेखेकको नजर जिल्ला प्रशासन कार्यालय, काठमाडौं तर्फ केन्द्रित रहेको बुझिन्छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी, (सिडिओ) जितेन्द्र बस्नेतले जिम्मेवारी लिएको १३ महिना बढी भएको छ। २०८० साल असार २० गते काठमाडौंको सिडिओ बनेका बस्नेत सत्ता परिवर्तनसँगै फेरिने सूचीमा परेका छन्। उनलाई हटाएर अर्को व्यक्ति पठाउने गृहकार्यमा गृह मन्त्रालय जुटेको हो।

गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखबाट काठमाडौंको सिडिओ बनेका बस्नेतलाई फिर्ता बोलाएर अर्को व्यक्ति पठाउने यसअघि कै गृहमन्त्री रवि लामिछानेले कसरत गरेका थिए। रविले सुरूमा भीष्मकुमार भुसाललाई काठमाडौंको सिडिओ बनाउन जोडबल गरे। तर, तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्तक्षेपपछि काठमाडौंका सिडिओ बस्नेतलाई हटाउन सकेनन्। त्यसपछि गृहमन्त्री रविले सहसचिव भुसाललाई गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको प्रमुख बनाए।

कांग्रेस-एमालेको सत्ता गठबन्धन हुने भएपछि फेरि गृहमन्त्री रविले काठमाडौंको सिडिओ फेर्ने प्रयत्न गरे। गृह मन्त्रालय उच्च स्रोतका अनुसार त्यो बेला भने गृहमन्त्री रविले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक तीर्थराज भट्टराईलाई काठमाडौंको सिडिओ बनाउने प्रस्ताव गरेका थिए। तर, गृह सचिव एकनारायण अर्यालले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईको नाममा अडान लिएपछि काठमाडौंको सिडिओ फेरिएन। सचिव अर्याल आफूले भनेको व्यक्ति काठमाडौंको सिडिओ नहुने भएपछि केही दिनका लागि काठमाडौं उपत्यका छाडेर हिँडे। त्यसपछि रवि लामिछानेले पनि गृह मन्त्रालय छाडे।

अहिले गृहमन्त्री लेखकले कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यलाई काठमाडौंको सिडिओ बनाउन खोजेको गृह स्रोतले बतायो। दाङ, ललितपुर, सुनसरी जस्ता जिल्लाको कमाण्ड सम्हालिसकेका आचार्य गृहमन्त्रीको रोजाइमा छन्। तर, मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईलाई काठमाडौं ल्याउन चर्को दबाब छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी पनि काठमाडौं आउनका लागि जोडबल गरिरहेको पाइन्छ। गृह सचिव अर्यालले नारायणप्रसाद भट्टराईलाई च्यापेका कारण काठमाडौंको सिडिओ सरुवा थप जटिल बन्दै गएको गृहका अधिकारीहरूको बुझाइ छ। चितवन र गोरखाको सिडिओ भइसकेको नारायणप्रसाद भट्टराई नारायणकाजी श्रेष्ठका विश्वासपात्र हुन्।

काठमाडौंको सिडिओ हुनका लागि सहसचिवहरू उत्तरकुमार खत्री, भुपाल बराल, शोभाकान्त पौडेललगायतको पनि नाम चर्चामा रहेको छ। तर, अहिले गृह मन्त्रालय अन्तर्गत कार्यरत सहसचिवहरूबीचबाटै काठमाडौंको सिडिओ बन्ने सम्भावना देखिन्छ। सामान्यतः सिडिओ एक वर्षमा सरुवा हुन्छन्। काठमाडौंका सिडिओ बस्नेत भने १३ महिना बढी टिक्न सफल भएका छन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #उत्तरकुमार खत्री, #जयनारायण आचार्य सहसचिव, #जितेन्द्र बस्नेत, #तिर्थराज भट्टराई, #नारायणप्रसाद भट्टराई, #प्रेमप्रसाद भट्टराई, #रमेश लेखक गृहमन्त्री, #रामचन्द्र तिवारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ