काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुखमा केसी, वातावरणमा राई


काठमाडौं । काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी दिपककुमार केसीले पाएका छन्। तत्कालीन स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल कारबाहीमा परेपछि उक्त विभागको निमित्त प्रमुख भएर सजिना महर्जनले काम गर्दै आएकी थिइन्। अहिले भने स्वास्थ्य विभागको नेतृत्व केसीले पाएका हुन्।

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठलाई मनोहरा जग्गा एकीकरण आयोजनामा पठाएर सरिता राईलाई वातावरण व्यवस्थापन विभागको निमित्त प्रमुख बनाइएको छ। प्रशासन विभागमा प्रमुखको जिम्मेवारीमा नमराज ढकालले पाएका छन्। राजस्व विभागको प्रमुख बन्न भने प्रशासनबाट दिपक अधिकारी पुगेका हुन्।

सहकारी विभाग प्रमुख बन्न राजस्वबाट ध्रुवकुमार काफ्ले गएका छन्। सहकारीका बलराम त्रिपाठी भने अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय हेर्ने गरी खटाइएका हुन्।

सामाजिक विकास विभागको प्रमुख समीक्षा निरौला बनेकी छिन्। विपद व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी जगदीश अर्यालले पाएका हुन्। एकल सेवा केन्द्र प्रमुखको जिम्मेवारी राज्यश्वरी शाहीले पाएकी छिन्।

प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सरस्वती पोखरेलले पाएकी छिन् भने सहरी व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी हरिश्चन्द्र लामिछानेले पाएका हुन्। न्याय प्रशासन महाशाखा प्रमुखमा हरिबहादुर पाटा मगरलाई ल्याइएको हो। सहरी योजना आयोगको सचिवालय प्रमुखको जिम्मेवारी भने धनबहादुर बस्नेतले पाएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ