देशलाई आवश्यक पर्ने क्षेत्रमा अनुसन्धान होस्


काठमाडौँ । नेपालका आधा दर्जन हस्ती प्रतिष्ठानहरूले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने विषयमा वृहत छलफल थालेका छन् । केही समय अगाडि एमबीबीएस कार्यक्रम सुरु गर्ने भनेर छलफलमा जुटेका प्रतिष्ठान स्वास्थ्य अनुसन्धानमा पनि एक भएर अगाडि बढ्ने प्राज्ञिक सहमति अनुसार छलफलमा जुटेका हुन् । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरू अनुसन्धानमा काम गर्ने विषयमा एकठाउँ उभिएका छन् । 

स्वास्थ्य सचिव डा रोशन पोखरेलले नेपालका नामुद प्रतिष्ठानहरू अनुसन्धानमा जुट्नु आफैमा गौरवको विषय भएको बताए । यस्तो प्राज्ञिक थलोमा भएका अनुसन्धानहरू देशको हितमा हुनुपर्ने सचिव पोखरेलको जोड छ । उनले देशलाई आवश्यक पर्ने खालका अध्ययन अनुसन्धान गर्न सुझाव समेत दिएका छन् । 

हाल नेपालमा भएका अध्ययन अनुसन्धानको नतिजालाई राज्यले धेरै स्वामित्व लिएको देखिदैन । देश बाहिरका जर्नलमा प्रकाशित तथ्याङ्कहरूलाई नेपालले स्वीकार गरेपनि नेपालको अनुसन्धानलाई अहिले सम्म विदेशमा स्वीकार गरेको अवस्था छैन । नेपालमा समेत स्वीकार गरेर अगाडि बढेका घटनाहरू धेरै छैनन् ।

सचिव पोखरेलले ठूला भन्दा पनि ससाना कुरामा अध्ययन आवश्यक भएको औँल्याए । सचिवका अनुसार प्रतिष्ठानहरूले गर्ने अध्ययन अनुसन्धानले देशमा भएका गलत चिकित्सकीय अभ्यासलाई समेत बन्द गर्न मद्दत गरोस् ।  मुख्य गरी स्थानीय तथ्याङ्कमा आधारित भएर अनुसन्धान गर्न पोखरेलले प्रेरित गरे ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनी कुमार झाले प्रतिष्ठानहरूले जर्नल नियमित निकाल्न आवश्यक भएको बताए । गुणस्तरीय अनुसन्धान आवश्यक भएको उनको बुझाइ छ । उपाध्यक्ष झाका अनुसार नेपालमा जनशक्ति बस्न नमान्नुको कारण, गरिबी र धनी किन विदेश गए भन्ने विषयमा अबको अनुसन्धान आवश्यक भएको उनको धारणा छ । 

यता विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आवश्यकता हेरेर प्रतिष्ठानहरूले अनुसन्धान अगाडि बढाउने बताए । स्वास्थ्य अनुसन्धानमा सबै एक भएर जाँदा बिरामीको सेवामा फाइदा पुग्ने गिरीको भनाई छ । अधिकारीहरूले कमाउँदै पढ्दै गर्ने विषयमा पनि अनुसन्धान अगाडि बढाउनु पर्ने धारणा राखे । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ