बैकुण्ठ-बैरागीको सेटिङ एकपछि अर्को गर्दै भत्किदै


काठमाडौं । भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउन तत्कालीन मुख्यसचिव शंकरदास बैरागी खनालसँग भएको सेटिङ एकपछि अर्को गर्दै भत्किन थालेको छ। अस्वाभाविक रूपमा मुख्यसचिव बनेका बैकुण्ठ भ्रष्टाचार मुद्दा खेप्न विशेष अदालत धाइरहेका छन् भने उनलाई बाटो छाडेर राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका बैरागी राजीनामा दिएर बिदाई भएका हन्।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनले नचिन्ने राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएका बैरागीलाई सरकारको नेतृत्वमा केपी शर्मा ओली आएसँगै राजीनामा दिन बाध्य बनाए। प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीलाई राजीनामा नदिए बर्खास्त गर्ने सन्देश पठाएपछि उनले राजीनामा दिएको बालुवाटार स्रोतले जनायो। कांग्रेससँग फेरि सेटिङ मिलाएर भारतको राजदूत हुन खोजेका बैरागीको उक्त सेटिङ पनि प्रधानमन्त्री ओलीले असफल पारिदिए।

ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति सवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार पद पनि खारेज भएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति सवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका तयार पार्ने तत्कालीन रक्षासचिव किरणराज शर्मा अमेरिकाको पिआर विवादमा परेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सरूवा भएका छन्।

तत्कालीन मुख्यसचिव बैरागी कै जोडबलमा रक्षा मन्त्रालय पुगेका सचिव शर्माले उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने चाँजोपाँजो मिलाउन विशेष भूमिका खेलेका थिए। बैरागीका नजिकका नातेदार (भाञ्जा) तत्कालीन रक्षासचिव शर्माले संविधानको मर्म र भावनाविपरीत उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउन सहजिकरण गरिदिएको पाइन्छ। त्यो बदमासी ओली सरकारले सच्याएको छ।

बैरागीसँग सेटिङ गरेर मुख्यसचिव बन्न तत्कालीन सञ्चार सचिव बैकुण्ठ अर्यालले बैरागीको जेठीसासूका छोरा प्रदीप शर्मा पौडेललाई राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक बनाउन भूमिका खेलेका थिए। अघिल्लो सरकारले उक्त केन्द्र पनि खारेज गर्ने निर्णय गरिसकेको छ। ओली नेतृत्वको सरकारले त्यसमा पनि एक्सन लिए पौडेलको जागिर जाने र बैकुण्ठ-बैरागीको अर्को सेटिङ भत्किने देखिन्छ।

बैकुण्ठ-बैरागी कै सेटिङ अन्तर्गत नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) बनेका सुनिल पौडेलको जागिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाइदिएको छ। त्यहीँ सेटिङसँगै जोडिएको ‘बिलिङ सिस्टम’ खरिदमा अनियमिततामा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरे धेरै जना ‘चिलिम’ हुने खतरा देखिन्छ। पछिल्लो अवस्था हेर्दा बैकुण्ठ-बैरागीको सेटिङ एकपछि अर्को गर्दै भत्किदै गएको देख्न सकिन्छ। कतिपयले उच्च सरकारी अधिकारीले भने बैकुण्ठ-बैरागीको ‘म्याच फिक्सिङ’ सकिएको समेत टिप्पणी गर्न थालेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #अमेरिकी पिआर, #किरणराज शर्मा रक्षा सचिव, #डा. बैकुण्ठ अर्याल, #दिलिप शर्मा पौडेल, #निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याल, #राष्ट्रिय सुरक्षा सल्लाहकार, #शंकरदास बैरागी खनाल, #सुनिल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ